काठमाडौं, १७ मङ्सिर/रासस
एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फूटबल प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतवार भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । लुम्बिनीको जीतमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे ।

इलामका लागि भने अब्दुलाये बाले एक गोल फर्काए । बुटवलले खेलको ४८औं मिनेटमा पहिलो गोल गरी अग्रता लिएको थियो । बुटवलका फरवार्ड जिलेस्पी जङ्ग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै बुटवललाई पहिलो अग्रता दिलाएको हो ।

त्यस्तै, खेलको ७९औं मिनेटमा इलामका अब्दुलाये बाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । उनले अमथ एनडाको पासमा बराबरी गोल फार्काएका हुन् । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी छँदा बुटवलका कप्तान एरिक विष्टले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो जीतसँगै तीन खेलमा बुटवल लुम्बिनीले तीन अङ्क जोडेको छ । समान तीन खेल नै खेलेको इलामको पनि समान तीन अङ्क नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here