म्युनिख, १७ मङ्सिर/एएनआई
भारी हिमपातका कारण शनिवार जर्मनीको म्युनिख विमानस्थल हुँदै जाने करीब ७६० वटा उडान रद्द गरिएका छन् । सिएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरूसमेत बन्द गरिएका छन् ।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएका छन् । रेल यातायात सोमवारसम्म गम्भीररूपमा प्रभावित हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेका जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ । प्रकाशनसँग कुरा गर्दै एकजना यात्रुले भने, “म एक बजेदेखि यही ठाउँमा बसेको छु ।” अर्का यात्रुले सिएनएनसँग आफूहरू त्यहाँबाट बाहिर निस्कन पाउँछौं कि पाउँदैनौं भन्ने जिज्ञासा राखेका छन् ।
शनिवार प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सिएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।
यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिवार हुने भनिएको फूटबल खेल पनि “सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण” स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
शनिवार म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सिएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रून्डफङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
म्युनिखमा शनिवार ४५ सेन्टिमिटर हिउँ परेको थियो, जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो ।
बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँका उडान र गुडान दुवै यातायात प्रत्यक्षरूपमा प्रभावित हुने गर्छन् । रासस