कुनै बेला पर्सा जिल्ला गाँजाखेतीको लागि निकै बदनाम थियो । जिल्लाको ८० प्रतिशत खेतीयोग्य जमीनमा गाँजाखेती हुन्थ्यो । तत्कालीन ८२ वटा गाविसमध्ये अधिकांशमा गाँजाखेती हुन्थ्यो । नेपालमा २०२८ सालदेखि गाँजाखेती, बिक्री वितरण, सञ्चयमा प्रतिबन्ध गरिएको हो । तर पर्सा जिल्लामा बितेको एक दशकअघिसम्म गाँजाखेती प्रचुर मात्रामा हुँदै आएको थियो । तत्कालीन अवस्थामा पर्सा, बारा, मकवानपुर, धादिङ, नवलपरासी, सिन्धुली गाँजाखेतीका लागि बदनाम थिए । अहिले पर्सा र बारामा गाँजाखेती न्यूनरूपमा भइरहेको छ । कुनै बखत बिघाका बिघा गाँजाखेती नष्ट गरिएको समाचारहरू आउँथे भने अहिले कट्ठा र धुरमा सीमित छ । पर्साको गाँजाखेती नियन्त्रणमा तत्कालीन प्रहरी उपरीक्षकहरू सुबोध घिमिरे, राजेन्द्रमान श्रेष्ठ र रमेश खरेलको नाम आउँछ । साथै यो अभियानमा सानो पाइला भन्ने गैरसरकारी संस्था पनि सहयोग गरेको थियो ।

पर्सा जिल्लाबाट गाँजाखेती निर्मूल प्रायः भएको छ तर मकवानपुर र धादिङमा हुने गाँजा, चरेस अहिले पनि पर्सा जिल्ला भएर भारत पु¥याउने कार्य भने रोकिएको छैन । मकवानपुर र धादिङमा हुने गाँजाखेती र सोबाट बन्ने चरेस अहिले पनि भारतमा निर्बाधरूपमा गइरहेको छ । जिल्लामा खेती रोक्न सक्ने सुरक्षाकर्मीहरूले अन्य जिल्लाबाट आयात भएर आउने गाँजा, चरेस रोक्न नसक्ने भन्ने होइन । यसका साथै पर्सा जिल्लामा यो खेती रोक्न सफल सुरक्षाकर्मीहरूले मकवानपुर र धादिङमा भने अहिलेसम्म रोक्न नसक्नुमा पनि प्रश्न उठिरहेको छ । पर्सामा अवैध गाँजा, चरेस मकवानपुर र धादिङमा वैध पक्कै छैन । देशमा समान कानून लागू छ र सोको पालना गराउनका लागि प्रहरी, प्रशासन पनि समान छन् । मकवानपुर र धादिङमा हुने गाँजा, चरेस मकवानपुर जिल्लाको मनहरी र लोथरबाट पर्सा जिल्लासम्म विभिन्न माध्यमबाट आउने गर्छ । सीधा जङ्गलको बाटो अनि राजमार्गमा चल्ने सवारीसाधनहरूबाट । जङ्गलको बाटो भरिया लगाएर ल्याउने अनि जङ्गलनजीकका बस्तीहरूमा सञ्चय गरेर राख्ने र त्यहाँबाट खुला सीमाको फाइदा उठाएर अनुकूल बाटो भारत पु¥याउने काम हुँदै आएको छ । सुरक्षाकर्मीहरूले बेलाबेलामा गाँजा, चरेस बरामद गर्छन् तर जतिपटक समातिन्छ, त्यसभन्दा बढी परिमाणमा तस्करी भई भारत जाने गरेकोले तस्करीले निरन्तरता पाएको हुनुपर्छ । होइन भने सुरक्षाकर्मीहरू तैनाथ रहेको स्थानबाट विनासेटिङ यत्रो परिमाणमा गाँजा, चरेस जाने प्रश्नै उठ्दैन ।

पर्सालगायतका सीमावर्ती क्षेत्रबाट गाँजा र चरेस भारत जान्छ भने भारतबाट ब्राउन सुगर, विभिन्न नशालु इन्जेक्सन, सिरप र ट्याब्लेटहरू खुला सीमाबाट नेपाल भित्रने गर्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सीमावर्ती क्षेत्रहरूबाट लागूऔषधको कारोबार पाँच दशक बढी समयदेखि जारी छ । दुवै देशका सीमा सुरक्षा अधिकारीहरूको आजसम्मको बैठकमा लागूऔषध नियन्त्रण प्रमुख विषय बन्दै आएको छ तर बैठकपछिको अवस्था भने सबैसामु छर्लङ्ग छ । एक देशका सुरक्षाकर्मीको मात्र यसमा दोष छैन, दुवै देशका सुरक्षाकर्मी समानरूपमा दोषका भागीदारी छन् । तसर्थ यस विषयमा अब सम्बन्धित प्रदेश सरकार, सङ्घ सरकारले ठोस नीति बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । होइन भने ५० वर्षदेखि चलिरहेको लागूऔषधको कारोबारले निरन्तरता पाइ नै रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here