बलिराम शुक्ल, बिरुवागुठी, १४ मङ्सिर/
मकवानपुर र धादिङ जिल्लामा उत्पादित गाँजा, चरेस अहिले पर्सा जिल्लाको जनता सडक भएर भारत पु-याउने काम भइरहेको छ ।

जनता सडक भएर यसअघिदेखि गाँजा, चरेसको कारोबार हुँदै आए पनि अहिले अत्यधिक वृद्धि भएको जानकारहरू बताउँछन् । मकवानपुर र धादिङ जिल्लामा उत्पादित गाँजा, चरेस मकवानपुर जिल्लाको मनहरी, लोथर हुँदै जङ्गल बाटो भएर यसअघि भित्रिने गथ्र्यो ।

जङ्गल बाटोबाट निकुञ्जमा खट्ने सेनासमेतलाई मिलाएर भरियामार्फत गाँजा, चरेस ढुवानी हुँदै आएकामा सेनाको नाम बद्नाम भएपछि निकुञ्जमा सिसिटिभी क्यामरा जडान गरिएको हो । यसो त निकुञ्जमा हुने अवैध शिकार नियन्त्रण र जङ्गली जनावरको हेरचाहका लागि भनेर सिसिटिभी जडान भएको बताइएको छ तर यसमा निकुञ्ज भएर हुने गाँजा र चरेसको तस्करी पनि रहेको बताइन्छ । अहिले जङ्गलको बाटो भएर गाँजा र चरेसको तस्करी नियन्त्रण भएपछि तस्करहरूले जीतपुर भएर पर्सा जिल्लाका विभिन्न स्थानहरूमा पु¥याउने र त्यहाँबाट खुला सीमाको फाइदा उठाउँदै भारत पु-याउने गरिन्छ ।

पर्सा जिल्लाबाट गाँजा, चरेसको कारोबार बढेको कुराबाट सुरक्षाकर्मीहरू जानकार छन् । गाँजा, चरेसका ठूला कारोबारीहरूको सुरक्षाकर्मीहरूसँग सेटिङ छ । विनोसेटिङ ठूला कारोबारीहरूले जोखिमपूर्ण कार्य नगर्ने जानकारहरू बताउँछन् । ठूला कारोबारीको नाममा साना कारोबारीहरूले पनि मौकामा चौका हान्ने गर्छन् र सुरक्षाकर्मीहरूले तिनै मौकामा चौका हान्नेहरूको गाँजा, चरेस मात्र समात्ने गर्छ स्रोतको दाबी छ ।

अहिले पनि मनहरी, लोथरबाट मकवानपुर र धादिड्ढा गाँजा, चरेसहरू आएर भण्डार हुन्छ । अनि त्यहाँबाट सुविधा अनुसार खाली ट्याङ्कर, ट्रक, लहरी, सुमो, बस अनि भाडाका जीप, कारहरूबाट जीतपुरसम्म ढुवानी भएर आउँछ । जीतपुरमा आएको गाँजा, चरेस जीपकारबाट सीधैं गन्तव्यतर्फ जान्छ भने ट्याङ्कर, ट्रक, लहरी, सुमो, बसबाट ल्याइएका जीतपुरमा झारेर अटोको माध्यमबाट सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुरसम्म पु-याइन्छ । लाइनमा रहेका तस्करहरूले दिने सूचनाका आधारमा सुरक्षाकर्मीहरूले साना कारोबारीको माल समात्ने र कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार पर्सा जिल्लाबाहेक अहिले पूर्वका जिल्लाहरूबाट पनि गाँजा, चरेसहरू भारत पु-याउने गरिन्छ । बारा, रौतहट, सर्लाही, धनुषालगायत सीमावर्ती क्षेत्रबाट यही शैलीमा कारोबार भइरहेको छ । जताबाट सुरक्षित हुन्छ, उतैबाट कारोबार गरिन्छ । तर सबै स्थानमा सुरक्षाकर्मीहरूसँग सेटिङ गरिने स्रोतले बताएको छ ।

अहिले पर्सा जिल्लामा मुख्यरूपमा बाराको जीतपुर बजार भएर अटोको माध्यमबाट गाँजा, चरेस भित्रिरहेको छ । यो कुरालाई जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा पनि स्वीकार्छन् । अधिकांश घटना सोही सडकखण्डमा भएको उनी बताउँछन् । मकवानपुर धादिङबाट आएका गाँजा, चरेस सूचनाका आधारमा बरामद हुने गरेको उनले बताए । उनले पर्सा प्रहरी लागूऔषधको कारोबार रोकथाम, नियन्त्रणमा सक्रिय रहेको दाबी गरे । सूचनाका आधारमा बिहीवार पर्सा जिल्लाका विभिन्न गापामा लगाइएको गाँजाखेती नष्ट गरिएको उनले बताए ।

विभिन्न स्थानका गाँजाखेती नष्ट
प्रस, पंचगावाँ/
जिल्ला प्रहरी कार्यालय, पर्सा अन्तर्गतका विभिन्न प्रहरी युनिटहरूले बिहीवार राति विभिन्न गाउँपालिकाहरूमा लगाइएको गाँजाखेती नष्ट गरेका छन् ।

इप्रका, सेढवा र प्रहरी चौकी महादेवपट्टिको टोलीले जीराभवानी गापा–१ मा छ कट्ठा गाँजाखेती नष्ट गरेको छ । सूचनाका आधारमा प्रहरीले लुकाएर गरिएको गाँजाको ५२ सय बोट फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

प्रस, पर्सागढी/
यसैगरी, इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली र रङ्गपुर प्रहरी चौकीको टोलीले पटेर्वासुगौली गापा–२ बेल्वामा लगाइएको पाँच धुर गाँजाखेती नष्ट गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय, ठोरीले आठ हजार गाँजाका बोट नष्ट गरेको जनाएको छ । ठोरी गापा–३ र ४ मा १० कट्ठामा गाँजाखेती गरिएको र इप्रका, ठोरीका प्रमुख सन्तोष राईको कमान्डमा खटेका प्रहरीले नष्ट गरेको सूचना अधिकारी थापाले बताए । उनले गाँजाखेती गरिएका जग्गाधनीहरू र खेती गर्ने व्यक्तिको पहिचान गरी आवश्यक कानूनी कारबाहीको लागि पहल भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here