प्रस, परवानीपुर, १४ मङ्सिर/
पर्साको पोखरिया नगरपालिकाले गत मङ्सिर ७ र १० गते ४२ जना करारका कर्मचारीका लागि प्रकाशित गरेको विज्ञापनको राजनीतिक दलहरूले विरोध गरेका छन् । कर्मचारी भर्नाको लागि ऐन कानूनविपरीत सूचना प्रकाशित गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । विभिन्न पदमा समावेशी सिद्धान्तविपरीत र मात्र मौखिक अन्तर्वार्ताको माध्यमबाट आफ्ना नजीकका व्यक्तिहरूलाई आर्थिक लेनदेनको भरमा कर्मचारी भर्ना गर्न लागिएको दलहरूले आरोप लगाएका छन् । जारी सूचनाबाट नगरपालिकामा थप आर्थिक भार बढने भन्दै राजनीतिक दलहरूले विरोध गरेका हुन् । नेपाली काङ्ग्र्रेसका क्षेत्रीय सचिव सुरेन्द्रप्रसाद सिंह, जसपा नेपाल पोखरिया नगर अध्यक्ष राजु साह तेली, नेकपा माओवादी केन्द्र पोखरिया नगर अध्यक्ष पन्नालाल पटेल, रास्वपा जिल्ला संयोजक दिलीपकुमार कुर्मी गरी चारजनाले संयुक्त विज्ञप्ति जारी गर्दै पोखरिया नगरपालिकाको कामकारबाहीको विरोध गरेका हुन् ।

उनीहरूले भर्ना प्रक्रिया अविलम्ब स्थगित गरी हालसम्म पोखरिया नगरपालिकामा अस्थायी, स्थायी, करार र ज्यालादारी कर्मचारीहरूको समेत सङ्ख्या सार्वजनिक गरी आवश्यक जनशक्ति मात्र पदपूर्तिको लागि नियमसङ्गत सूचना प्रकाशत गर्न माग गरेका छन् । उनीहरूले यो प्रक्रिया एक साताभित्र मिलान नगरे चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here