प्रस, रौतहट, १४ मङ्सिर/
गढीमाई नगरपालिकाको अस्तव्यस्त स्थितिलाई चुनौती र अवसरको रूपमा लिएको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले बताएका छन् ।
गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर आएका उनले बिहीवार सञ्चारकर्मीसँगको भेटघाटमा आफूले भर्खर जिम्मेवार सम्हालेको र पालिकामा रहेका विकृति, विसङ्गतिलाई बिस्तारै न्यूनीकरण गर्दै जाने बताए । उनले दरबन्दीभन्दा बढी कर्मचारी, कार्यादेशविना विकास निर्माण कार्य, खरीद निमावलीविपरीत सामान खरीदलगायतका बारेमा आफूले सुनेको र त्यस्ता कुराहरूलाई कार्यपालिकाको निर्णयबमोजिम सुधार गर्दै जाने बताए ।
उनले आफू आएपछिको पालिकाको पहिलो बैठकबाट बीउबिजन वितरण तथा अन्य कार्यालय सुधारकाश बारेमा निर्णय भएको बताए ।
नगरपालिकामा रहेको बेथिति अरू कसैले नउब्जाएको र नगरबाटै उब्जिएको बताउँदै अबका दिनमा सुधार नगरपालिकाबाटै हुने उनले बताए । उनले कर्मचारीको वक्यौता भुक्तानी दिने प्रक्रियामा लैजाने र दरबन्दीभन्दा बढीका कर्मचारीलाई व्यवस्थापन गरिने उनले बताए ।
उनले हालका दिनमा गढीमाई नगरपालिकाले करीब सात करोड भुक्तानी बाँकी रहेको र अन्य बेथितिहरूलाई पनि क्रमशः अन्त्य गरिने उनले बताए ।