सर्लाही, १४ मङ्सिर/रासस
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमैं भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।
जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमैं उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।
जिल्लामा रहेका चिनीमिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भएपनि समयमैं बेच्दा खाली भएको जमीनमा मुसुरो, गहुँ र धनिया लगाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् ।
उखु मिलमध्ये हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी भएपनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने पत्तो छैन । जिल्लाका उखु उत्पादक किसानले समयमैं आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिए । उनका अनुसार सरकारले चालू सिजनको उखुको मूल्य निर्धारण गरेको छैन ।
उनले चिनीमिल समयमैं सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान उखु समयमैं बेच्न नपाउने र बेचेको उखुको पनि समयमैं भुक्तानी नपाउने चिन्तामा रहेको बताए । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सुगर मिल कहिले सञ्चालनमा आउँछन् र गत वर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसान सस्तैमा भएपनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताए ।
बरहथवा नगरपालिका–११ का रत्नबहादुर घिमिरेले सस्तोमैं सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएको बताए । नगदेबालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भएपनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका–२ का उखु उत्पादक किसान रामविलास महतोले बताए ।
जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको माग अनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोही अनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा–११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताए । उनका अनुसार अहिले उखु उत्पादक किसानलाई उखुको मूल्य निर्धारण गरिएको छैन ।
११ क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी रायले बताए । उनका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रतिक्विन्टल बजार मूल्य छ । आफ्नो उद्योगमा प्रत्यक्षरूपमा छजनाले दैनिक ज्यालादारीमा रोजगारसमेत पाएका रायले बताए ।
“भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धराशयी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्,” बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालक शिवचन्द्र रायले बताए ।
उनले भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोही अनुसार बेच्नुपरेकाले लगानी अनुसारको मूल्य नपाएको गुनासो गरे ।