• श्रीमन्ननारायण

वैचारिक अस्पष्टताको शिकार नेकपा (एमाले)ले पार्टीको गुमेको जनाधारलाई प्राप्त गर्न सङ्कल्प यात्राको थालनी गरेको छ । पश्चिमी नेपालको पहाडी जिल्ला बैतडीको झुलाघाटदेखि पूर्वी पहाड पाँचथरको चिवा भन्ञ्याङसम्म मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा थालनी गर्नुको तात्पर्य यस क्षेत्रमा रहेको पार्टीको परम्परागत मतलाई सुरक्षित राख्नु हो । महाधिवेशनको तयारीमा रहेको यस पार्टीको निम्ति सबैभन्दा ठूलो भनेको पुराना एवं वफादार कार्यकर्ताहरूको विश्वासलाई जित्नुका साथै आफ्ना परम्परागत मतदातालाई आफ्नो दरिलो उपस्थितिको अनुभूति गराउनु भयो । केही अघि समाचारहरूमा सार्वजनिक भए अनुसार नेकपा एमालेका १० लाख साधारण सदस्यमध्ये पाँच लाखले यसपालि आफ्नो साधारण सदस्यताको नवीकरण नै गराएनन् । यदि साँच्चीकै यस्तो अवस्था उत्पन्न भएको हो भने यो सामान्य क्षति होइन । नेकपा (एमाले)ले थालनी गरेको कथित सङ्कल्प यात्राको प्रभाव कस्तो रहला ? यो त भविष्यमा हुन सक्ने उपचुनावको परिणामले साबित गर्नेछ । तर तत्कालको निम्ति भने पार्टी कार्यकर्ताको मनोबलमा उत्साह बढाउने कुरामा असहमति जनाउने ठाउँ छैन ।

झन्डै साढे तीन दशकदेखि नेपालको राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्दैै आएको नेकपा (एमाले)ले गएको साढे तीन दशकमा तीनवटा विभाजनको सामना गर्नुप¥यो । विसं २०५४–५५ सालतिर वामदेव गौतम र सहाना प्रधानले मिलेर नेकपा (माले)को गठन गरेका थिए । मैनाली बन्धुहरू पनि थिए तर विसं २०५६ सालमा भएको आमनिर्वाचनमा नेकपा (माले)ले एउटा सिट पनि जित्न नसकेपछि त्यसका अधिकांश नेता नेकपा (एमाले)मैं फर्केका थिए भने सिपी मैनाली अहिलेसम्म नेकपा (माले)लाई नेतृत्व प्रदान गर्दैै आएका छन् । राधाकृष्ण मैनाली पनि शाहीकालमा मन्त्री भई आफूलाई राजाको नजीक पु¥याएका थिए । अहिलेसम्म उनको राजनीतिक कित्ता प्रस्ट छैन । नेकपा (एमाले)मा दोस्रो विभाजन २०६८/६९ तिर भएको थियो । जतिबेला पार्टीका उपाध्यक्ष अशोककुमार राईको नेतृत्वमा राजेन्द्र श्रेष्ठ र रणध्वज कन्दङ्वासहित दर्जनौं जनजाति नेताले पार्टीमा विभाजन ल्याइ नेपाल सङ्घीय समाजवादी पार्टीको गठन गरेका थिए । विसं २०७० सालको आमनिर्वाचनमा यस पार्टीले प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेन तर पूर्वी पहाडमा नेकपा (एमाले)को बलियो साङ्गठनिक गढमा ठूलो रेक्टरको परकम्प अवश्य पनि ल्याइदिएको थियो । तत्काल त नेकपा (एमाले)लाई यसबाट बढी क्षति पुगेको थिएन तर गत वर्षको आमनिर्वाचनमा यसको प्रभाव देखियो । भूतपूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालले पार्टीका अर्का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नयाँ राजनीतिक सङ्गठन नेकपा (एकीकृत समाजवादी)को गठन गरेपछि कोशी प्रदेशमा नेकपा (एमाले) निकै कमजोर भएको छ । पार्टीका वरिष्ठ नेता सुवासचन्द्र नेम्वाड्ढो असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पहिचान पक्षधरहरूले नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाम तथा पाँचथरमा अपमानित गर्नु अथवा विरोध गर्नु पार्टीको निम्ति ठूलो धक्का हो । नेकपा (एमाले)को गढ मानिएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला रहेको झापामा समेत पार्टी अध्यक्ष ओलीका दाहिने हात महेश बस्नेतको गाडी तोडफोड हुनु कोशी प्रदेशमा पार्टीको घट्दो लोकप्रियताको परिचायक हो । झापा भनेको अब केवल केपी शर्मा ओलीको गृहजिल्ला मात्रै रहेन । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो र नेकपा (एमाले)को विरोधमा डटेर उभेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि गृहजिल्ला हो । कोशी प्रदेशको नामकरणमा नेकपा (एमाले)ले देखाएको अडानले उसलाई जनजातिमाझ खलपात्रको रूपमा मात्रै परिभाषित गरेको छैन, अपितु कोशी प्रदेश सरकारको गठनमा नेपाली काङ्ग्रेसलाई समर्थन दिएर पनि नेकपा (एमाले)ले मन्त्रिमण्डलमा स्थान पाउन नसक्नु उसको रणनीतिक र राजनीतिक असफलता पनि हो । अब कोशी प्रदेशमा नेकपा (एमाले)को अवस्था विगतको जस्तो नरहने निश्चित छ ।

सङ्घीय राजधानी काठमाडौं, पोखरा, हेटFैंडF, सुर्खेत, बुटवल, धरान, इटहरी, चितवन, तनहुँ आदि देशका महŒवपूर्ण शहरी क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढ्दै गएको छ । रास्वपाको जनाधारमा वृद्धि हुनुको अर्थ नेकपा (एमाले) कमजोर हुनु हो । १० महीनाअघि भएको उपचुनावमा नेकपा (एमाले)ले तनहुँ, चितवन र बारामा समेत तेस्रो नम्बरमा चित्त बुझाउनुले पार्टीको घट्दो प्रभावलाई दर्शाउँछ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रास्वपा र राप्रपाको लोकप्रियता बढेको छ । नेपाली काङ्ग्रेसको परम्परागत मतमा कमी आउने सम्भावना छैन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आउँदो निर्वाचनसम्म आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्यो भने नेकपा (एमाले)लाई ठूलो क्षति पु-याउन सक्छ । माधवकुमार नेपालले डेढ दशकसम्म नेकपा (एमाले)लाई नेतृत्व प्रदान गरिसकेका कारण उनको आफ्नो नाम, लोकप्रियता र ख्याति छ । तत्काल उनले केही चुनौतीका सामना गर्नु परे पनि कालान्तरमा उनको पार्टी सशक्त हुन सक्ने सम्भावनालाई खारेज गर्न सकिंदैन । माधवकुमार नेपाल वर्तमान परिस्थितिमा देश प्रमुख तीन/चार नेताहरूमध्ये एक हुन् ।

मधेस प्रदेशमा तत्काल नेकपा (एमाले)को अवस्था सन्तोषजनक मान्न सकिन्छ । पार्टीले लहानमा सचिवालय बैठक सम्पन्न गर्नुको कारण पनि यहीं नै हो । मधेस प्रदेशमा लोसपाको खस्किंदो जनाधारलाई आफ्नो पक्षमा तान्न नेकपा (एमाले)ले निकै प्रयास गरिरहेको छ । प्रत्येक जिल्लामा जातीय आधार भएका नेताहरू पनि नेकपा (एमाले)मा छन् । तसर्थ तत्काल पार्टीको अवस्था उत्साहवर्धक देखिन्छ तर कथंकदाचित् सत्ताधारी गठबन्धनले तीन वर्षसम्म सङ्घीय सरकारको नेतृत्व गर्न सक्यो भने मधेस प्रदेशमा नेकपा (एमाले)को सङ्गठनमा ठूलो पहिरो जानेछ । मधेस प्रदेशको राजनीतिमा प्रहरी प्रशासनले ठूलो भूमिकाको निर्वाह गर्छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)को भोट बैंक कमोवेश एकै प्रकृतिको रहेको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रवि लामिछाने र राप्रपाले नेकपा (एमाले)को मतमा विभाजन ल्याउने र नेपाली काङ्ग्रेसलाई यसबाट लाभ पुग्ने निश्चित जस्तै छ । रास्वपाले पनि चुनाव जित्न सक्छ । लोसपाबाट असन्तुष्टहरू जनमत पार्टी र नेपाली काङ्ग्रेसतिर जान सक्छन् । नेकपा (एकीकृत समाजवादी)तिर पनि लाग्न सक्छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनमा पनि अब त्यस्तो आकर्षण रहेन । उनले दिन सक्ने कुनै भिजन पनि छैन । २०७२ सालमा मधेस आन्दोलनका कारण दक्षिणी सीमानाका बन्द हुँदा ओलीले चीनसित डेढ दर्जन सम्झौता गरेका थिए, जसमा चीनले नेपाललाई समुद्री बन्दरगाह र सडकमार्ग उपलब्ध गराउने कुरा थियो तर विगत आठ वर्षसम्म त चीनले आफ्नो नाका सुचारु नै हुन दिएन । यसले पनि ओलीको चीन भ्रमणलाई असफल साबित गरिदिएको छ । पानीजहाजको कुरा र घरघरमा खाना पकाउने ग्याँसको पाइपलाइन पु-याउने कुरा पनि हावामैं छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले पनि मूर्त रूप लिन सकेन । ओलीको शासनकालमा नेपालको परराष्ट्र सम्बन्ध निकै कमजोर थियो । नेपालमाथि न त भारत, न त चीन र न त पश्चिमाहरूले नै विश्वास गरेका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा प्रधानमन्त्रीको पदमा बसेर केवल सस्तो लोकप्रियता पाउने खालका नारा र कार्यक्रम दिने काम गरे तर समाधान भने गरेनन् । नयाँ नक्शा त कोरे तर त्यसको भूभागको प्राप्ति कसरी र कहिले गर्नेबारे न कुनै तरीका बताए, न त मिति र तिथि नै । दक्षिणी छिमेकी भारतसितको सम्बन्धलाई बिगार्ने काम मात्रै गरे । आजको मितिमा जनताले उनलाई स्मरण गर्ने अथवा उनको आवश्यकता महसूस गर्ने कुनै कारण छैन । यो सङ्कल्प यात्राबाट देश र जनताको हितमा कुनै उपलब्धि हुने सम्भावना देखिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here