ओमप्रकाश चौधरी/धर्मेन्द्र चौरसिया, १३ मङ्सिर/
पर्सा जिल्लाको पूर्वी र उत्तरी भेग थरुहट क्षेत्रका किसानहरू धानबाली भिœयाएसँगै गहुँबाली लगाउन थालेका छन् । थरुहट क्षेत्रको ८० प्रतिशतभन्दा बढी किसानले अहिले गहुँको बीउ छर्ने काम सकाएको र मलको अभाव झेलिरहेका छन् ।

गहुँबालीका लागि बीउ छर्ने बेलामा युरिया, डिएपी र पोटास तीनै थरीका मल आवश्यक हुन्छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनीबाट जिल्लाका सहकारी संस्थाहरूलाई मल उपलब्ध गराउने र संस्थाहरूले किसानलाई मल वितरण गर्दै आएकोमा दशैंपछिको समयमा कम्पनीबाट मल नपाएको कारण किसानहरूलाई मल उपलब्ध गराउन नसकिएको सहकारी संस्थाहरूले जनाएका छन् । गहुँखेतीका लागि प्रतिकट्ठा युरिया साढे दुई किलो, डिएपी र पोटास सवा एक किलो आवश्यक हुन्छ । तर तीनै थरीका मल अहिले नेपाली किसानहरूले नपाएपछि निराश भएका छन् । मलको अभावका कारण थरुहट क्षेत्रमा गहुँखेती अहिले २० प्रतिशत बाँकी भएको हो । यस वर्ष गत वर्षको तुलनामा आकाशे पानी कम भएपनि थरुहट क्षेत्रका किसानहरूले वैकल्पिक सिंचाइबाट धानखेती गरेका थिए । अहिले धानबाली भिœयाएर गहुँखेतीमा लागेका किसानहरूले मलको अभावलाई भारतीय बजारबाट आपूर्ति गरेर गर्जाे टार्दै आएका छन् । एकजना किसानले सीमावर्ती भारतको सिकटा, इनर्वा, मैनाटार, भङ्गाहा लगायतबाट युरिया, डिएपी र पोटास खरीद गरेर गहुँखेती गरेको बताए । थरुहट क्षेत्रमा वीरगंज महानगरका केही वडाहरू, पर्सागढी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर र ठोरी गाउँपालिकाहरू पर्छन् ।

किसानको रोजाइमा परेन अनुदानका बीउ

थरुहट क्षेत्रमा गहुँखेती गर्दै आएका किसानहरूले पालिकाहरूबाट अनुदान सहयोगमा पाइने गहुँको बीउ कमसल र अधिक उत्पादन नदिने खालको भएको गुनासो गरेका छन् । अहिलेसम्म गहुँखेतीका लागि थरुहट क्षेत्रमा पटेर्वासुगौली र सखुवाप्रसौनी गापाले ५० प्रतिशत अनुदान सहयोगमा किसानहरूलाई विजय र गौतम नामका गहुँको बीउ उपलब्ध गराएको तर किसानहरूले भने सो अनुदानको बीउभन्दा भारतीय बीउ श्रीराम ३०३ बढी प्रयोग गरेको एकजना किसानले बताए । ती किसानले नेपाली विजय र गौतम नामका एक किलो गहुँको बीउ छर्दा प्रतिकट्ठा बढीमा साढे दुई मन गहुँ हुने तर भारतीय श्रीराम ३०३ भने प्रतिकट्ठा पाँच मनसम्म हुने गरेको बताए । भारतीय गहुँको बीउ तीन/चार वर्षसम्म रोप्दा पनि उत्तिकै उत्पादन दिने गरेको तर नेपाली बीउ भने अर्काे वर्ष रोप्दा उत्पादन झनै कम हुने गरेको गुनासो गरे । मलको अभाव र बीउको गुणस्तरीयता नभएको कारण अहिले नेपाली किसानहरूले मल र बीउ भारतीय बजारबाट खरीद गर्नुपरेको उनको भनाइ छ ।

बझियानमा भने धान काटिंदै

जिल्लाको गण्डक नहरदेखि दक्षिणी क्षेत्र बझियानमा भने अहिलेसम्म धानबाली भिœयाउने काम हुँदैछ । वीरगंज महानगरपालिका, बहुदरमाई/पोखरिया नपा तथा विन्ध्यवासिनी, धोबिनी, छिपहरमाई, पकहामैनपुर गापाहरूमा अहिले धानबाली भिœयाउने कार्य अन्तिम चरणमा छ । केही किसानहरूले मात्र एक सातादेखि गहुँको बीउ छरेका छन् । यस वर्ष समयमा आकाशे पानी नपरेको र औसतमा अरू वर्षको तुलनामा कम पानी परेको कारण अधिकांश खेतमा धानबाली समयमा हुन सकेन । गण्डक नहर र आकाशे सिंचाइमा आश्रित बझियानका किसानहरूले ढिला गरी धानबाली रोपेका कारण अहिलेसम्म धानबाली भिœयाउने काम भइरहेको हो । धानबाली भिœयाएका १०/१५ प्रतिशतले मात्र अहिले बझियानमा गहुँको बीउ छरेका छन् । बझियानमा पनि गहुँको बीउ र मलको अभाव किसानहरूले झेल्दैछन् । पोखरिया नगरपालिकाले किसानहरूलाई अनुदानको बीउ वितरण गरेको छ तर किसानहरूलाई भने अनुदानको बीउभन्दा भारतीय बीउमा बढी विश्वास भएकोले उनीहरू भारतीय बजारबाट गहुँको बीउ खरीद गरिरहेका छन् । अतिगरीब किसानहरूले मात्र अनुदानको बीउ लिइरहेका छन् । यो क्षेत्रका किसानहरू पनि मलको अभाव भारतीय बजारबाट पूर्ति गरिरहेका छन् । सहकारीहरूले छठपछि उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म किसानहरूको माग बमोजिम मल उपलब्ध गराउन नसकेकाले नेपाली किसानहरूले गहुँबालीका लागि भारतीय बजार धाउनुपरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here