प्रस, रक्सौल, १३ मङ्सिर/
सीमावर्ती भारतको रक्सौलस्थित एसएसबीले एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
वैवाहिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइरहेको क्रममा शङ्का लागेर चेकजाँच गर्दा सैफुल खान नाम गरेका ती व्यक्ति बङ्गलादेशी भएको र विगत पाँच वर्षदेखि नेपाल र भारतमा बस्दै आएको खुलेको हो । खानबाट भारतीय आधारकार्ड, प्यान, एटिएम कार्ड पनि बरामद भएको थियो । साथै उनी बङ्गलादेश दौतिया पोस्ट कमालपुर थाना धनराई जिल्ला ढाका निवासी रहेको पहिचानपत्र पनि बरामद भएको एसएसबीले दाबी गरेको छ ।
एसएसबीले जनाए अनुसार खान शुरूमा बङ्गलादेशको रङ्गपुर सीमाबाट भारत प्रवेश गरेका थिए । उनी सिलिगुढी भएर नेपाल पसेका र काठमाडौंमा केही महीना बसेका थिए । त्यसपछि उनी भारतको गुजरातमा गएर बस्दै आएका थिए । अहिले वैवाहिक कार्यक्रममा सहभागी हुन काठमाडौं जाने क्रममा मितेरीपुलमा रहेको एसएसबीले उनलाई पक्राउ गरेको हो । हाल उनलाई हरैया थानामा राखिएको थाना प्रभारी अनुज कुमारले बताए । उनले खानलाई कागजी प्रक्रिया पूरा गरेर न्यायिक हिरासतमा पठाइने बताए । केही दिनअघि पनि रक्सौलबाटै भारतीय आधार, प्यान, एटिएम कार्ड रहेको एकजना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।