उपदेश दिनु, नारा लगाउनु तथा अरूको आलोचना गर्नु सबैभन्दा सजिला काम हुन्, हाम्रो सामाजिक परिवेशमा । हामी यस्ता कामहरू खोजीखोजी गर्छौं, रोजीरोजी गर्छौं । हामीलाई यस्ता काम गर्न आनन्द आउँछ, मज्जा आउँछ । यस्ता कामबाट फाइदा केही छ भने यही मज्जा लिनुमा छ । अरू केही फाइदा होला भने समयलाई खर्च गरिरहेका छौं । समयलाई खर्च नगर्दा पनि बचत गर्न सकिंदैन । त्यसै खेर जाने समयलाई यसरी आलोचना, उपदेश तथा नारा लगाएर गरिदिन्छौं र सन्तोष मान्छौं । सन्तोष मान्नु, आनन्दित हुनु तथा यिनैलाई एकपछि अर्को शृङ्खलामा दोहो¥याउनु हाम्रो दैनिकी भइसकेको छ, नियति पनि भइसकेको हुनुपर्छ ।

सञ्जय साह मित्र

जिब्रो सरलतातिर बग्छ र खोलो अर्थात् पानी जहिले पनि आफूभन्दा तलतिर । सफलता त माथितिर हुन्छ भनिन्छ । सफलता कठिन सङ्घर्षले प्राप्त हुन्छ । अहिले सफलताको लागि श्रम गर्ने कि श्रम नगरी आनन्द लिने भन्ने दोबाटोमा उभिएको समाज छैन । नवयुवाहरूले मोबाइलको स्क्रिनबाट आँखा हटाउन चाहेको पाइँदैन र यसको प्रभाव साना बालबालिकामा पनि परिसकेको छ । अहिले विद्यालयमा लठी छैन, भयरहित शिक्षाको डर कसैलाई छैन किनभने सबै उत्तीर्ण हुन्छन् अर्थात् उदार कक्षोन्नतिको सिढी तयार छ भने किन परिश्रम गर्नुप¥यो ? निश्शुल्क शिक्षा अर्थात् अभिभावकको शिक्षामा प्रत्यक्ष वा तिनकै हातबाट सोझो लगानी नहुँदा बालबालिकाले पढेको वा नपढेको भनेर ठेगानै किन गर्नुप¥यो ? सबैले पढाउनुपर्छ भन्छन्, र विद्यालयमा बालबालिकालाई पढाउनको लागि पठाइएकै छ । यत्ति भएपछि पुग्यो त । किन तनाव लिने ? अनुत्तीर्ण हुने डर नभएपछि किन पढ्ने वा नपढीकनै पास होइन्छ भने पढ्ने दुःख किन गर्ने ? यो सजिलो मार्ग हो । सबै प्रमाणपत्र लिएर अनि केही पनि नआउने मानिस बन्न पुग्नुमा कुनै नौलोपन छैन । एक हिसाबले जेको आवश्यकता छ, त्यो आउँदैन र बाँकी सबै आउँछ । सबै आउँछ भन्ने कुरामा यही कुरा लागू हुन्छ कि पढ्दै नपढेकोले निकै पढेकालाई पनि उपदेश दिन सक्छ, आलोचना गर्न सक्छ र उसको विरोधमा नारा लगाउन सक्छ । जहाँ सकारात्मक काम हुने हुन्छ, त्यहाँ कसरी हुन्छ नराम्रो हो भनेर नराम्रो मनोविज्ञान बनाइहाल्ने र अरूलाई बन्न सहयोग गरिहाल्ने । यस्तो प्रवृत्तिको विकास भइसकेको छ कि कुनै पनि हालतमा कुनै पनि सकारात्मक कुरामा सही थाप्दैन । अनि समाज अगाडि बढेन भनेर तिनैले फेरि आलोचना गर्छन् ।

गाउँमा विकास हुनुपर्छ भनेर हल्ला गर्नेहरूले एक छिनपछि अर्को कार्यक्रममा गएर तुरुन्त बोल्न थाल्छन्– यस गाउँको मौलिकता हराउँदै गएको छ । संस्कृति अनुसारको भेषभूषा नलाउने र संस्कृति लोप भयो भनेर रोइलो गर्ने । विद्यार्थीले गृहकार्य नगर्ने र कक्षाकार्य नगर्ने तर शिक्षकले कापी चेक गरिदिएन भन्ने । आफू हल्ला गर्ने र अगाडि बोलिएको सुनिएन भन्ने । यसरी हामी नकारात्मकताले पूरै भरिइसकेका छौं कि नकारात्मकता आफूमा भएको पनि थाहा हुँदैन । नकारात्मकताको बाटो कस्तो हुन्छ भन्ने पनि छुट्याउन नसक्ने अवस्थामा पुगेका हौं कि जानीजानी यस किसिमको भ्रम छरिंदैछ । बढी नकारात्मकता फैलिएको समाजमा सकारात्मक काम गर्नेहरूमा पनि आत्मविश्वासको कमी हुन्छ । आफ्नो सकारात्मक कामप्रति पनि आफैंलाई विश्वास कम हुन थाल्छ । अनि यस प्रवृत्तिले सकारात्मक कामको भविष्य साँघुरो हुन जाने हुन्छ । अनि वर्तमान अवस्थामा सकारात्मक कामको लागि वातावरण कसरी बनाउने ? यस विषयमा अरू कोही नभए पनि कम्तीमा शिक्षित समुदायले ध्यान दिनैपर्ने बेला आइसकेको छ । अनि सबैभन्दा सकारात्मक भूमिका त अखबार वा मिडियाले खेल्नुपरेको छ । सकारात्मक अभ्यासलाई प्राथमिकता दिन थाल्यौं वा निरन्तर सकारात्मक अभ्यासलाई बढी महŒव दिन थाल्यौं भने समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास त लिन सकिन्छ कि ?

अहिले नकारात्मक धारणा यतिधेरै फैलिइसक्यो कि कोही यदि सकारात्मक विचार अभिव्यक्त गर्छन् भने यस्तो लाग्छ कि उसले विद्रोह गरेको हो । सामान्य सही अवधारण पनि विद्रोह लाग्ने अवस्थाको सिर्जनाले नकारात्मकताको पराकाष्ठातिर अगाडि बढेका हौं कि जस्तो लाग्न थालेको छ । कोही निस्स्वार्थरूपमा कुनै काम गरिरहेको छ भने उसलाई यस्ता आरोपहरू लाग्न थाल्छ कि यस्तो महसूस हुन्छ– काम नै छाडिदेऊ । फेरि पनि सकारात्मक काम गर्नेहरूले कहाँबाट ऊर्जा पाउँछन् ? यदि सकारात्मक काम निस्स्वार्थरूपले गरिरहेको अवस्था छ भने उसलाई सोधिन्छ– कहाँबाट पैसा आउँछ ? यदि नितान्त आफ्नो लगानीमा काम गरेको हो भने पनि र यही कुरा इमानदारीपूर्वक अभिव्यक्त गरे पनि यस्तो मनसाय व्यक्त गर्छन्– कार्यक्रमको लागि उब्रेको पैसामा मेरो पनि अधिकार छ । कार्यक्रमको बजेट जति थियो, त्यति खर्च भएको मलाई लाग्दैन । अनि बाँकी उब्रेको पैसालाई बाँड्नुपर्छ । अरू सबैलाई नदिए पनि मलाई चाहिं चाहिन्छ । यस किसिमको माग गर्नेको अगाडि यदि तपाईंले एउटा कार्यक्रम गर्नुहोस् र त्यसबाट उब्रेको तपाईं एक्लै लिनुहोस् तर त्यो कार्यक्रममा कतैबाट आर्थिक सहयोग नलिनुहोस् भन्दा संस्था तथा कार्यक्रमप्रति जीवनभरको लागि नकारात्मक भइदिन्छ । एक इमानदारलाई उसले जीवनभर बेइमान देख्न थाल्छ ।

यदि कसैलाई तिमी परिश्रम गर भनेर दुई/चार चोटि सम्झाउने प्रयास गर्ने हो भने यस्तो सोच्न थाल्छ– मैले परिश्रम गर्दा उसलाई फाइदा भइरहेको होला अनि त उसले यसरी मलाई बारम्बार परिश्रम गर्न भनेको होला । मैले परिश्रम नगर्ने हो भने त उसलाई फाइदा नै हुँदैन । मैले उसको फाइदाको लागि परिश्रम किन गर्ने ? हो, कोही नितान्त आफ्नोलागि खुशी हुन्छन् र कोही अरूको लागि पनि खुशी हुन्छन् । एउटा उदाहरण छ गज्जबको । गत वर्ष केही महीनाको फरकमा लगातार दुईवटा चुनाव भए । एकजना ग्रामीण परिवार, जो धनी थियो, को एक नवयुवा पुत्रले चुनावमा खूब अभिरुचि लियो । यो पहिलो अवसर थियो । पहिलो चुनावमा उसलाई खर्च गर्न दिए उम्मेदवारले । मज्जाले खर्च ग¥यो र चुनावमा सहयोग पनि ग¥यो । त्यसपछि उसमाथि विश्वास भयो । अर्को चुनावको समयमा पनि उसका नजीकका उम्मेदवारले खूब खर्च दियो । मज्जाले खर्च ग¥यो । साथीभाइलाई खूब जोडेको थियो । यसले गर्दा खुलेरै सहयोग गर्न अप्ठ्यारो भएन । चुनाव सकियो । बानी परिसकेको थियो समूहमा खानपान गर्ने, साथीहरूलाई खुवाउने । चुनाव सकिएपछि कुनै उम्मेदवारले पैसा दिने कुरा नै हुँदैन । एक वर्षभन्दा कम समयको अवधिमा उसले उधारोमा साथीहरूलाई ३० लाख रुपैयाँको सामान खुवाएको छ । गत महीनाको दीपावलीको सेरोफेरोमा घरका अभिभावकहरूले उसलाई बसाएर सबै हिसाब गर्न लगाउँदा आफूकहाँ ३० लाख रुपैयाँ उधारो रहेको स्पष्ट पा¥यो । जहाँजहाँ उधारो लिएको थियो वा खाएको थियो, सबैलाई सोध्दा उसले भनेकै कुरालाई पुष्टि ग¥यो । अब एक बिघा खेत बेच्न खोज्दैछ । अभिभावकले तिम्रो आफ्नो हिस्सा (भाग)मा पर्ने खेतबाटै तिम्रोलागि बेच्ने हो भनेर बताइरहेको अवस्था छ । समयमा बानी नसुधार्दा वा अरूको भरमा भोजभतेर निरन्तर गरिरहँदा आफ्नो निकै धेरै सम्पत्ति अरूले खाएको पत्तै नहुने । उसलाई धेरैले सम्झाएका पनि थिए । सँगै खाने साथीले पनि नसम्झाएको होइन तर मस्तिष्कमा आनन्दको भूत चढेपछि आफ्नोलागि आफूले नै खाल्डो खनेको देख्नै नसक्ने समाज जो बनेको छ । एक/दुई जनाले निरन्तर प्रशंसा गरेको थियो, त्यो नक्कली प्रशंसाले उसलाई एक धनी मानिसको श्रेणी खोसेको छ, एक वर्षमा । अबको दिनमा के होला ?

उसले बानी सपार्ला वा आफूलाई झन् बिगार्ला । श्रमप्रति नकारात्मक धारणा हाम्रो समाजमा निरन्तर बढिरहेको छ । विद्यालयमा भयरहित शिक्षाको प्रभाव हो कि हातहातमा पुगेको मोबाइलको प्रभाव हो ? विचार फरक होला तर हाम्रा नवयुवाहरूमा सिर्जनात्मक कामतिर भन्दा बढी सामाजिक सञ्जालमा रमाउने वातावरण भने बनिसकेको छ । एउटा राम्रो फोटो खिचाउने र त्यसमा लाइक तथा कमेन्टको अपेक्षा गर्ने अनि त्यसैमा रमाउने । अरूको आलोचना गर्ने, अरूलाई उपदेश दिने र अनेक नारा लगाउने अर्थात् बात बनाउने कला निकै बढेको छ । यसबाट समाजलाई सकारात्मक केही आइरहेको छ कि ? नभए यस विषयमा समाजले गम्भीर भएर विचार नगर्ने हो भने समाजले झन् गम्भीर परिणाम भोग्नुपर्ला कि ?

नवयुवाको रुचि ह्वात्तै बढेको भने क्रिकेटमा हो । क्रिकेट त खेलको एउटा महŒपूर्ण पाटो बनिसकेको छ, देश र समाजको । यसबाहेक अन्य खेल वा कुनै रचनात्मक काममा युवाको खासै सहभागिता देखिंदैन । यस अवस्थामा नवयुवालाई सपार्नुपरेको छ । यद्यपि क्रिकेटलाई व्यावसायिक बनाउन सक्ने हो भने यतातिर पनि भविष्य छैन भन्ने होइन तर हामीकहाँ क्रिकेटको लागि सुविधाकै अभाव छ, संरचनाकै अभाव छ । यसलाई व्यवस्थित गर्न अझै समय लाग्छ । यसले गर्दा नवयुवालाई सपार्न कुनै सुधारात्मक उपायमा काम गर्ने बानी बसाल्न, श्रमको सम्मान गर्न तथा अनावश्यक खर्चको प्रवृत्ति कम गर्न के कसरी उपाय गर्न सकिन्छ, यतातिर सोच्नुपरेको छ । विचार गर्नुपरेको छ । यदि समाजको भविष्यलाई बनाउने हो भने नवयुवालाई सपार्नु सार्थक हुनेछ, जुन अहिलेको एउटा चुनौती हो । यो पनि भन्ने गरिएको पाइएको छ, हरेक चुनौतीभित्र सम्भावना लुकेको हुन्छ । नवयुवालाई सपार्ने चुनौतीभित्रको सम्भावनालाई विचार गर्ने हो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here