– शीतल महतो

अर्थतन्त्र सुधारका लागि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको छैन। कतिपय परिसूचक नराम्रा पनि छैनन्। ब्याजदर घट्दै गएको र अर्थतन्त्रको बाह्य क्षेत्रमा पनि निरन्तर सुधार हुँदै गएको देखिन्छ। विप्रेषण आप्रवाह बढेको छ भने पर्यटन क्षेत्र उत्साहपूर्वक चलायमान भएकोले आगामी दिनमा अर्थतन्त्रले गति लिने आधार भने बनेको छ। यसरी बाह्य क्षेत्रमा सुधार हुँदाहुँदै पनि आन्तरिक क्षेत्र चाहिं किन चलायमान हुन सकेको छैन ? किन लगानी बढ्न सकेन र पूँजीगत खर्च बढ्न सकेको छैन ? अर्थतन्त्र उकास्ने मनोबल किन उठ्न सकेको छैन ? यो चिन्ता र चासोको विषय हो। यसैलाई दृष्टिगत गरेर सरकारले अर्थतन्त्रको समस्यालाई छिटोछरितोरूपमा समाधान गर्नेबारे सम्बद्ध सबै पक्षसँग छलफल र संवाद शुरू गरेको छ। यसलाई सकारात्मकरूपमा लिन सक्नुपर्छ।

अहिले न्यून पूँजीगत खर्च, कर्जा प्रवाहमा कमी, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायतका समस्या देखिएका छन्। चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म कुल बजेटको २० प्रतिशत मात्र खर्च हुन सकेको छ। त्यसमा पनि पूँजीगत खर्च जम्मा ९.९३ प्रतिशत मात्र भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ। उत्पादन र रोजगार सिर्जना गर्ने विकास खर्चभन्दा पनि प्रशासनिक र सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्न वित्तीय व्यवस्थापनतर्फको खर्च बढी छ। वैदेशिक अनुदान पनि वार्षिक लक्ष्यको ५.५२ प्रतिशत मात्र लिन सकिएको छ। वैदेशिक लगानी प्रतिबद्धताको सानो अंश मात्र भित्रिन सकेको छ। विप्रेषण बढेको छ तर त्यो उत्पादनमूलक क्षेत्रमा होइन, अनुत्पादकमूलक क्षेत्रमैं खर्च बढी भएको छ। पर्यटक आवागमन उच्च गतिमा बढ्दै छ तर त्यसमार्फत भित्रिने वैदेशिक मुद्राभन्दा अध्ययन, भ्रमण वा रोजगारका लागि विदेशिएका नेपालीले लगेको विदेशी मुद्राको अंश ठूलो छ। राजस्व लक्ष्यअनुरूप सङ्कलन भएको छैन। निर्यात साँघुरो छ। पैसा भएकाहरू न लगानी गर्नमा उत्साही छन्, न त खर्च गर्नमा उद्यत नै। अहिले सर्वसाधारणदेखि व्यवसायीसम्मको मनोबल खस्केको छ। बैंकको ब्याजदर केही घट्ने क्रममा हुँदा लगानी आकर्षित हुनुपर्ने हो तर मनोबल र सकारात्मक ऊर्जा नहुँदा आर्थिक गतिविधि निकै सुस्ताएको तीतो यथार्थ हाम्रोसामु छ।

हुनत अघिल्लो वर्ष सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोडमा सीमित गरेसँगै सानो लगानी थपिने क्रम बढेको छ। देशमा हालसम्म विदेशी लगानीका छ हजार ३७ औद्योगिक परियोजना दर्ता भएका छन् भने त्यसमा चार खर्ब ६८ अर्ब लगानी प्रतिबद्धता आएको छ। प्रतिबद्धता अनुसार लगानी भित्रिने हो भने यी उद्योगबाट मात्र तीन लाखभन्दा बढी रोजगार सिर्जना हुन सक्छ। त्यसैले सरकारले पूँजीगत खर्च बढाउने क्षमताको विकास गर्नुपर्छ। लगानी बढाउन विदेशी दाता र मित्रराष्ट्रहरूले देखाइरहेका चासोलाई पूँजीमा परिणत गर्ने, स्वदेशी लगानीकर्ता, व्यवसायी र सर्वसाधारणको मनोबल उठाउँदै उत्पादनमूलक आर्थिक गतिविधिमा सामेल गराउने उपायहरू खोजी गरिनु अहिलेको आवश्यकता छ। नेपालको जल, जमीन, जङ्गल, जन, धन, सीप र श्रमलाई सङ्गठित, परिचालित र परिमार्जन गरेर आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ। यसका लागि भ्रष्टाचारमाथि तीखो र चोटिलो प्रहार गरेर सुशासन, विकास एवं आर्थिक समृद्धिको पहिलो र बलियो आधार खडा गर्न सरकारको इमानदार प्रयासको खाँचो छ।

नेपाल आफैंमा प्रकृति पर्यावरण, संस्कृति पर्यटन, जलविद्युत्, कृषिमा सबल देश हो। हाम्रो जनसङ्ख्या र भूगोलको संयोजन मिलेको छ। जनसङ्ख्या भूगोल अनुसार धेरै नभएको हिसाबले हामीले चाहँदामा कृषि, फलफूल तथा दूध, माछा मासुमा सजिलै आत्मनिर्भर हुन सक्छौं। तर हामीसँग नभएको भनेको आत्मविश्वास र जाँगर हो। हामी विदेशमा पैसाका बोटहरू देख्छौं, खुशीहरू देख्छौं, सम्पन्नता देख्छौं तर आफ्नै स्वच्छ हावापानी भएको मुलुकमा केही देख्दैनौं। आफ्नो देशमा काम र श्रम गर्न हामीलाई लाज लाग्छ। परदेशमा दुई/चार डलरमा थाल प्लेट टिप्न, बाथरूम सफा गर्न ड्युटी गएको मान्छौं। तर हामी स्वदेशमा केही गर्दैनांै, विदेशमा सबै गर्छौं। त्यसैले हो, हामी पछि परेका छौं। वास्तवमा सबै दृष्टिकोणले हेर्दा उज्ज्वल आर्थिक सामाजिक भविष्यको शिरमा नेपाल छ। जलविद्युत् नेपालको समृद्धिको लागि सबैभन्दा ठूलो आधारशिला हो। विशेषगरी पछिल्ला दशकमा जलविद्युत् उत्पादनमा नै नेपालले धेरै प्रयत्न गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले पनि जलविद्युत् कम्पनीहरूमा ठूलो लगानी गरिरहेका छन्। धेरैजसो वैदेशिक लगानी जलविद्युत् क्षेत्रमा नै केन्द्रित छ। अबको १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुने आधार तयार भएको ऊर्जा मन्त्रालयको ठहर छ। हाल २८ सय मेगावाट बिजुली उत्पादन गरिरहँदा देशले वार्षिक १६ अर्बको बिजुली निर्यात गर्न थालिसकेको छ। करीब ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको नेपालका नदीनालाबाट अब एक दशकभित्रमा कम्तीमा १२–१५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विज्ञको भनाइ छ। निर्माणाधीन केही आयोजनाहरू सम्पन्न हुने क्रममा छन्। सयौं आयोजना निर्माणका क्रममा छन्। कम्तीमा एक दशकबीच १५ हजार मेगावाट बिजुली मात्रै उत्पादन हुँदा पनि नेपालको अहिलेको ४०–४२ अर्ब डलरको जिडिपीलाई ठ्याक्कै डबल अर्थात् ८०–८५ अर्ब डलरको बनाउन सकिनेछ।

सरकारले भारतसँग आगामी १० वर्षमा दश हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक सम्झौता गरिसकेको छ। भारतले हालसम्म ठूला र साना आयोजना गरी ५२ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र उसको जलविद्युत् उत्पादनको अरू विकल्प नगन्य रहेको बताइन्छ। त्यस कारण पनि भारत अबका दिनमा बिजुलीमा नेपाल निर्भर रहनुपर्ने देखिन्छ। यसैगरी, चीनले पनि नेपालसँग विद्युत् खरीद गर्ने सङ्केत दिइसकेको छ। बङ्गलादेशसँग सन् २०४० सम्ममा १० हजार मेगावाट बिजुली खरीद गर्नेगरी कुरा अघि बढिसकेको छ। यसरी नेपालको बिजुलीको बजार उज्ज्वल छ। त्यसैले निर्माणाधीन आयोजनाहरूलाई शीघ्र सम्पन्न गराउन र विद्युत् उत्पादन, प्रसारण लाइन विस्तार आदिका लागि आवश्यक लगानीको जोहो गर्न जरुरी छ। नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महीनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ। साउनमा दुई अर्ब १५ करोड, भदौमा तीन अर्ब ४८ करोड, असोजमा चार अर्ब चार करोड र कात्तिकमा दुई अर्ब ७० करोड रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री भएको प्राधिकरणले जनाएको छ। विद्युत् निर्यातले नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने प्राधिकरणको भनाइ छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।

यसैगरी, नेपाल विश्वकै एक सुन्दर प्राकृतिक देश हो। पर्यटकीय हिसाबले नेपाल विश्वका प्रमुख १० गन्तव्यभित्र रहेको छ। विश्वका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठूला हिमशृङ्खला नेपालमै छन्। आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वतहरू नेपालमैं छन्। विश्वमैं दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातिका पक्षीहरू नेपालमैं पाइन्छन्। दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू हेर्न यहाँ नै आउनुपर्छ। सयौं भाषा, भेष र संस्कृति यहीं छन्। फरक–फरक जलवायु पनि यहीं छ। अर्थात् नेपालमा अथाह पर्यटकीय सम्भावनाका स्रोत छन्। नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने र आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लैजाने हो भने समृद्धिको ढोका सहजै खुल्ने र विदेशी मुद्राको दुःख पनि नहुने अनुमान गरिएको छ। पर्यटन क्षेत्रकै लागि विश्वमा हाल ४०० बिलियन डलर लगानी भइसकेको छ। त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छ। लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी पर्यटक भित्रिन थालिसकेका छन्। त्यस्तै, भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगार पाइरहेको अवस्था छ। राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइएको छ । पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर नेपालमा पनि होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ। होटल तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानी विस्तारले नेपालमा पर्यटन क्षेत्रबाट समृद्धिको उज्यालो देखिन थालेको छ।

त्यस्तै, नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २३.९५ प्रतिशत योगदान गरेको देखिन्छ। अन्य क्षेत्रहरूको तुलनामा यस क्षेत्रले विप्रेषणपछि सबैभन्दा बढी योगदान गरेको तथ्याङ्क छ। कृषिमा आश्रित जनसङ्ख्या घटेर ५० प्रतिशतमा आइपुग्दा कुनै बेला कुल गार्हस्थ्य उत्पादनमा ५० प्रतिशतसम्म योगदान राख्ने कृषि क्षेत्रको योगदान अहिले खुम्चिएको हो। विगत केही वर्षयता नेपाल कृषिमा परनिर्भर भइरहँदा वार्षिक करीब चार खर्बको कृषिजन्य वस्तुको आयात गर्न थालेको छ। तर आधाभन्दा बढी कृषियोग्य जमीन बाँझो रहेको अवस्था पनि छ। सरकारले कृषिमा लगानी बढाएर सबै कृषियोग्य जमीनमा कृषि गर्ने वातावरण बनाउने हो भने कृषिमा देश आत्मनिर्भर हुन सक्छ। जसबाट विदेश गइरहेको पैसा रोकिन्छ र त्यसले पनि मुलुकको आर्थिक समृद्धिमैं सहयोग पु–याउँछ। नेपालको औद्योगिक उत्पादन, पानी, औषधि, जडीबुटी तथा बहुमूल्य हिमाली वस्तुहरूको विशाल विदेशी बजार भारत तथा चीन नै हुन्। ती दुवै नेपालका मित्रराष्ट्र हुन्। तर नेपालमा कृषिमा आधारित, जल तथा जडीबुटीमा आधारित उद्यमीहरू जन्माउन जरुरी छ। त्यसमा लगानी बढाउन जरुरी छ। बजारको दृष्टिकोणले पनि नेपाल समृद्धिकै छेउछाउ छ। तर यतिमात्र हो, हामीले हिम्मत हार्नुहुँदैन। आफ्ना सबलता र सम्भावनाहरू आफैंले केलाएर अघि बढ्न जरुरी छ। विकास र समृद्धि, अवसर र खुशीहरू विदेशमा मात्रै छैन, नेपालमा झन् बढी छ। यसको सदुपयोग हामी नेपालीले गर्नुपर्छ। अनिमात्र नेपाल सबल आर्थिक समृद्धिको बाटोमा लाग्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here