प्रस, वीरगंज, २ मङ्सिर/
मझौला शहर एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत वीरगंज महानगर–११ रानीघाटमा बनाइएको भूमिगत नाला विष्फोट भएको छ । कात्तिक ३० गते बिहीवार राति सो भूमिगत नाला विष्फोट भएपनि कुनै मानवीय क्षति भने भएन । रानीघाट पुलदेखि दक्षिणतर्फ रहेको भूमिगत नाला छठघाट निर्माण गर्ने क्रममा विष्फोट भएको थियो । भूमिगत नाला रहेको स्थानमा टिपरको प्रयोग गरेर छठघाट निर्माणका लागि माटो पुर्ने काम हुँदा विष्फोट भएको स्थानीयले बताए ।
विष्फोटबाट छठघाटका लागि तयारी गरिएका पण्डालका बाँसहरू ढलेका थिए । मध्यरातमा घटना भएकोले मानिसहरू नभएको कारण मानवीय क्षति हुन पाएन । बम जस्तो आवाजमा विष्फोट भएको र स्थानीयले भूकम्प गएको अनुमान गरेका थिए । एशियाली विकास बैंक, नेपाल सरकार र महानगरको संयुक्त लगानीमा मझौला शहर एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत पहिलो चरणमा साढे तीन अर्बको लागतमा कालोपत्र सडक, भूमिगत नाला निर्माण कार्य कालिका कन्स्ट्रक्सनले गरेको थियो । श्रीसिया नदीमा नालाको पानी विसर्जन गराउन सो स्थानमा पानी प्रशोधन गरेर नदीमा विसर्जनका लागि भूमिगत नाला बनाइएको थियो ।
रानीघाट र जिल्ला समन्वय समिति क्षेत्रको पानी श्रीसियामा विसर्जन गर्न भूमिगत नाला बनाइएको थियो । महानगरका योजना सल्लाहकार तथा तत्कालीन योजना प्रमुख प्रकाशमान सिंह अमात्यले हेबी गाडी नगुड्ने स्थानमा दुवै ठाउँमा भूमिगत नाला बनाएर प्रशोधित पानी श्रीसियामा विसर्जन गराउने गरी निर्माण गरिएको बताए । उनले मानवबस्ती नजीक रहेको र सडक पनि भएको रानीघाटमा त्यस प्रकारको भूमिगत नाला निर्माण नगर्नका लागि आफूहरूले सुझाएको तर कालिकाले कन्सल्टेन्टले तयार गरेको योजना अनुसार निर्माण कार्य गरिसकेकोले हटाउन नसकेको बताए । उनले सो स्थानमा रहेको भूमिगत नालामाथि हेबी गाडी चलाउन नहुने तत्कालीन वडाध्यक्षलाई अवगत भएपनि हाल अर्का वडाध्यक्ष भएकाले सोबारेमा अनभिज्ञ भएकाले घटना भएको बताए ।
योजनाका तत्कालीन प्रमुख हाल अनिवार्य अवकाशमा रहेका शैलेन्द्र श्रेष्ठले पनि अमात्यले भनेको कुरा दोहो¥याउँदै नयाँ वडाध्यक्षलाई सोबारेमा जानकारी नभएको र भूमिगत नाला भएको स्थानमा टिपरद्वारा माटो पुर्दा लोड थाम्न नसकी नाला विष्फोट भएको प्रतिक्रिया दिए ।
कालिकाले दुई स्थानमा मिनी पानी प्रशोधन र छपकैयामा मुख्य पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । कालिकाले नै दोस्रोपटकको सघन शहरी विकास कार्यक्रम अन्तर्गत वीरगंज महानगरमा करीब तीन सय करोड बढी लागतको कालोपत्र सडक र पक्की नाला निर्माण गरेको थियो ।
पहिलो योजना २०७४ र दोस्रो योजना २०७८ सालमा सम्पन्न भएका थिए । रानीघाटमा भएको ठूलो विष्फोटबाट नाला वरिपरिका करीब पचास फिट क्षेत्र क्षतिग्रस्त भएको छ । स्थानीयले भने कमसल सामग्रीको प्रयोग गरिएको आरोप लगाएका छन् ।