राधेश्याम पटेल, परवानीपुर, २ मङ्सिर/
सामाजिक कुरीतिमध्ये एउटा हो जुवा । प्रत्येक वर्ष दशैं, दीपावली र छठसम्म यो परम्पराले प्रश्रय पाउने गरेको छ । चाडबाडको बेला सुरक्षा निकाय सुरक्षा प्रबन्धमा जुट्दा गाउँघरमा जुवा, तास, कौडा खेल्ने क्रम बढेको छ । यो सामाजिक विकृति यस वर्ष पनि पर्सा, बाराका गाउँघरमा भइरहेको छ । दशैंदेखि नै परवानीपुर बजार आसपासको गाउँमा जुवा खेल्ने खेलाउने काम भइरहेको छ । यस क्षेत्रमा सर्वत्र जुवा, तास, कौडा खेलाउने कार्य भइरहेको छ । ठूलाहरू जुवा तास, कौडामा रमाएका छन् भने ससाना युवकहरू भने झन्डामुन्डामा ।
स्थानीयका अनुसार हरेक वर्षझैं यसपालि ग्रामीण भेगमा जुवा खेलाउने कार्य भइरहेको छ । जुवामा बालबालिकादेखि वयस्क र वृद्धहरूको समेत सहभागिता हुने गरेको छ । कतिपय गाउँमा कौडाको खाल राखेर समेत कौडा खेलाउने गरिएको गाउँलेको भनाइ छ । चाडबाडमा कौडा, ताज र झन्डामुन्डा खेलाउने परम्पराझैं जरो गाडिसकेको स्थानीयहरू बताउँछन् ।
कतिपय स्थानमा प्रहरीको मिलेमतो त कतिपय स्थानमा प्रहरीको आँखा छलेर जुवातास, कौडा भइरहेको छ । एउटा त आर्थिक मन्दी अर्कोतर्फ गाउँका युवकहरूले जुवा खेल्दा सुरक्षा निकायले चासो नदिनुले सामाजिक विकृतिलाई टेवा पुगेको स्थानीय भदंभलादमी बताउँछन् । चाडबाडमा युवाहरू जुवाको लतमा लागेर दैनिक हजारौं, लाखौं रुपैयाँको हारजीत भइरहेको छ । यसको कारण घरपरिवारमा कलह पनि शुरू भएको छ ।
प्रहरी प्रशासन छठघाटको सुरक्षा प्रबन्ध र वीरगंज बजारमा मात्रै सीमित हुँदा ग्रामीण भेगमा जुवाको विकृति न्यूनीकरण नभएको जानकारहरूको बताउँछन् । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले चाडबाड होस् वा अन्य समयमा पनि जुवा खेल्ने खेलाउने दुवैलाई कारबाही हुने बताए । उनले आफूलाई गाउँघरमा जुवा भइरहेको कुराबारे प्रारम्भिक सूचना आए तापनि जुवा भइरहेको यकीन स्थानको बारेमा सूचना नआएको बताए । उनले त्यस्तो सूचना दिन र प्रहरी आवश्यक कारबाहीको लागि तयार रहेको बताए । उनले चाडबाडमा जुवा, तास हुन नदिन मातहतका युनिटलाई निर्देशन दिइसकेको बताए ।