अहमदाबाद, २ मङ्सिर/एएफपी
क्रिकेट विश्वकप फाइनल हुँदै गर्दा भारतभर क्रिकेटप्रेमीहरूले जीतको कामना गर्दै प्रार्थना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवारक्रिकेट विश्वकपको फाइनल खेलमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
क्रिकेटको विश्वव्यापी महŒवको खेल प्रदर्शनीका १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको म्याराथन प्रतियोगिता आइतवार ब्लकबस्टर फाइनलमा सम्पन्न हुने भएको छ ।
भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँचपटकको च्याम्पियन अस्ट्रेलियाविरुद्ध आइतवारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ ।
प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसले खेलको अवलोकन गर्ने गुजरात राज्य सरकारले शनिवार जनाएको छ ।
क्रिकेटप्रेमीका साथसाथै उत्सवमा एयरफोर्सले फ्लाईपास्ट, लाइट र लेजर शो तथा इनिङ्स ब्रेकमा सयौं नर्तकले बलिउड हिट गीतमा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जनाएको छ ।
क्रिकेटमा बलियो भए तापनि भारत सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तर्राष्ट्रिय उपाधिविहीन बनेको छ । करीब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन्, जो अधैर्य छन्, जसको तनमन क्रिकेटको पिचमा पुगेको छ ।
फ्यानहरूले भारतको जीतको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेका विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्यापछ्याप्तिसँगै अहमदाबाद उत्साह र उमङ्गले गुन्जिएको छ ।
शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ । होटलहरू पूर्णरूपमा खचाखच भरिएका छन् । सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बूक गरिएका समाचार सार्वजनिक भएका छन् ।
यो खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान जुन एक लाख ३२ हजार क्षमताको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुँदैछ ।
सन् २०१४ मा प्रधानमन्त्री हुनुअघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दू राष्ट्रवादी नेताको घरेलु परियोजनाहरूमध्येको यो एक रङ्गशाला परियोजना थियो । रासस