नेपालका बाल सुधारगृहहरूमा झडप तथा तनावको अवस्था दिनानुदिन बढ्दो छ । बितेको भदौ ३ गते भक्तपुरस्थित बाल सुधारगृहमा एकजना बालकको मृत्यु भएपछि उब्जिएको तनावका कारण बालकैदी र प्रहरीबीच झडप भएपछि झन्डै २५० जना बालकैदी बाहिर निस्किए । त्यसैगरी, भदौ २६ गते वीरगंजको बाल सुधारगृहमा उत्पन्न तनावमा ११ बालकैदी र तीनजना प्रहरी घाइते भए । असोज ४ गते राति बाँकेको बाल सुधारगृहमा दुई समूहबीच भएको झडपमा एकजना बालकैदीको मृत्यु र १० जना घाइते भए । वीरगंजको बाल सुधारगृहमा अहिले पुनः विवाद भयो । एउटै बाल सुधारगृहमा दुई महीना बित्दा नबित्दै दोस्रोपटक विवाद भएको हो ।
कुनै पनि अपराधमा संलग्न भएर बाल सुधारगृह पुगेका बालबालिकालाई असल व्यवहार सिकाउने, असल चरित्र निर्माण गर्ने भनिए पनि त्यहाँ रहेका बालबालिकाले पोषणयुक्त खानादेखि उपयुक्त पढ्ने वातावरण नपाएका विभिन्न अध्ययनले देखाएका छन् । अपराधमा संलग्न भई सुधारगृहमा रहेका बालबालिकालाई हौसला र प्रेरणा दिन उमेर समूह अनुसार उनीहरूलाई व्यवस्था मिलाउनुपर्नेमा त्यसो हुन सकेको पाइँदैन । धेरैजसो बाल सुधारगृहमा बालबालिकालाई दिइनुपर्ने आधारभूत सुविधाका साथै मनोपरामर्श नदिइँदा बालबालिकामा सुधारका लक्षण कम हुँदै गइरहेका छन् । बालबालिकाको उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पु¥याएपछि सुधारगृहहरूमा बालबालिकाको सङ्ख्या बढेको बताइन्छ । धेरैजसो १६ देखि १८ वर्षका बालबालिका अपराध घटनामा संलग्न भएर बाल सुधारगृह पुगेका देखिन्छन् । ती बालबालिका सुधारगृहमैं रहँदा १८ वर्ष लागेमा उनीहरूलाई छुट्टै राख्नुपर्ने व्यवस्था छ । तर भौतिक संरचना अभावका कारण १८ वर्षमुनि र १८ वर्षमाथि दुवै समूहलाई एकै स्थानमा राखिंदै आएको छ । बाल सुधारगृहको उद्देश्य अनुसार काम हुन सकेको छैन । बालबालिकालाई सुधार्ने हो भने उनीहरूलाई विभिन्न सीप सिकाउने, उचित शिक्षा दिने र मनोपरामर्श दिने काम अनिवार्य छ । राजनीतिक पद्धति बदलिएर लोकतन्त्र आए पनि लोकतन्त्रको मर्म तथा भावना अनुसार कारागार एवं बाल सुधारगृहमा सुधार हुन सकेको छैन । बालबालिकालाई सुधार गर्नका लागि उनीहरूलाई छुट्टै भवनमा राखेर मात्रै हुँदैन । त्यसका लागि बनाउनुपर्ने संरचनादेखि विज्ञको व्यवस्थालगायत कुनै पनि कुरामा ध्यान दिइएको पाइँदैन ।
एउटा व्यक्तिको चरित्र निर्माणका लागि धेरै कुरामा ध्यान दिनुपर्छ, जुन ध्यान दिनुपर्ने हो, त्यो गरिएकै छैन । १८ वर्ष पुगिसकेकाहरूलाई त्यसभन्दा कम उमेरका बालबालिकासँगै राख्दा व्यवस्थापन गर्न गा¥हो हुन्छ । त्यस कारण केही व्यवस्थापकीय, केही कानूनी र खासगरी उनीहरूको व्यवहार सुधारमा ध्यान दिनुपर्छ । भक्तपुर र वीरगंजका कारागारहरूमा रहेका बालबालिकाको पनि व्यवहार सुधार गर्न सकिएको भए घटना दोहोरिने थिएन । विभिन्न अपराधमा जोडिएकाहरूको मनोविज्ञान पनि फरक हुन्छन्, उनीहरूलाई मिसमास गरेर राख्दा पनि समस्या आइरहेको छ । बाल सुधारगृहको सुधार गर्ने हो भने बालबालिकाले गरेका कसूर अपराध नभइ गलती हो भन्ने मान्यता राख्नुपर्छ । पटकपटक बाल सुधारगृहहरूमा तनावका घटना हुनु पक्कै पनि राम्रो होइन । बाल मनोविज्ञान अति नै संवेदनशील हुने भएकोले समस्याको समाधान गर्न कदापि ढिला गर्नुहुँदैन । यसलाई संवेदनशील ठानेर सकेसम्म जतिसक्दो छिटो समाधान गर्न जरुरी छ ।