प्रस, वीरगंज, १ मङ्सिर/
वीरगंज महानगरपालिकामा छठ पूजाको रौनक बढेको छ। दीपावलीदेखि नै छठघाटहरूको सरसफाइ, सजावटलगायतका कामहरू शुरू भएको थियो। अहिले ८० प्रतिशतभन्दा बढी सजावटलगायतका कामहरू सम्पन्न भएका र भोलिसम्म छठघाटको सजावट कार्य पूरा हुने लक्ष्यसहित महानगरका विभिन्न वडाहरूमा कार्यहरू भइरहेका छन्।
वीरगंज महानगरमा छठघाटको सजावटमा वडा नं १० आदर्शनगरस्थित घडीअर्वा पोखरी, स्वीमिङ पुल, वडा नं ११ र १२ को साँधमा रहेको रानीघाट, वडा नं १६ को नगवा, १२ को मुर्ली, वडा नं २ को छपकैया, वडा नं १ को बजार छपकैया, वडा नं १३ को शिवघाटलगायतका क्षेत्रमा ठूलो खर्चमा छठघाट सजावट कार्य गरिएको छ।
केही ठाउँमा सिसिटिभीसहितको सुरक्षा प्रबन्ध गरिएको छ। सुरक्षा अधिकारीहरूले भीडभाडमा गहना लगाएर पूजामा सहभागी नहुन सुझाएका छन्। भीडमा गहना चोरी हुन सक्ने भएकोले सकभर गहना लगाएर पूजामा सहभागी नहुन आग्रह गरेका छन्।
छठघाटहरूमा अहिले सजावटको प्रतिस्पर्धा शुरू भएको छ। दुई लाखदेखि १४ लाख रुपैयाँभन्दा बढी खर्च गरेर छठघाट सजावट कार्य भइरहेका छन्। झिलिमिली बत्ती, सिसिटिभी क्यामरा, साउन्ड, पन्डाल र स्वागतद्वार बनाएर घाट शृङ्गार्ने काम भइरहेको छ।
आजदेखि छठ पूजाको विधि शुरू भएको छ। आज पहिलो दिन नहाय–खाय गरी छठ पर्वको शुभारम्भ गरिएको छ। आजको दिन व्रतालुहरूले घरको सरसफाइ गरी शुद्ध खाना खाने गर्छन्। भोलि दोस्रो दिन निर्जल व्रत बसेर बेलुका छठीमाताको पूजा गरेर खीरपुरी प्रसादको रूपमा खाने गर्छन्। यस वर्ष आइतवार सँझियाघाट र सोमवार बिहानीघाट परेको छ। आइतवार निर्जल व्रत बस्ने र साँझ घाटमा गएर छठीमाताको पूजा गरिन्छ।
साँझ घाटबाट फर्केकाहरूले भाकल अनुसार घरमा छठीमाताको आराधना गर्दै कोशी भर्छन् र बिहान कोशी सेलाउँछन्। यसैगरी, आइतवार अस्ताउँदो सूर्य र सोमवार उदाउँदो सूर्यको पूजा आराधना गरेर छठ पर्व विधिवत्रूपमा समापन हुन्छ।
ग्रामीण क्षेत्रमा पनि छठघाटको तयारी अन्तिम चरणमा
प्रस, पोखरिया/
पर्साको ग्रामीण भेगमा छठको तयारी शुरू भएको छ। ग्रामीण क्षेत्रमा रहेका पोखरी, नदी, तलाउमा सरसफाइ तथा सजावटका कार्य भइरहेका छन्।
पोखरिया नगरपालिकाको वनकटवा, बर्वा, गोविन्दपुर, श्रीसिया, वसन्तपुरलगायतका गाउँमा रहेका पोखरी, नदी, तलाउमा स्थानीय युवा, छठ पूजा समिति, क्लबहरूले सरसफाइ तथा सजावटका कार्य गर्दैछन्।
यसैगरी, विन्ध्यवासिनी, पर्सागढी, बहुदरमाई, कालिकामाई, धोबिनी, पकाहामैनपुर, छिपहरमाई, जगरनाथपुर लगायतका पालिकाहरूमा पनि सरसफाइ तथा सजावटका काम भइरहेका छन्। यसका लागि पालिकाले पनि पाँचदेखि १० लाखसम्म बजेट विनियोजन गरिएको वडाध्यक्ष लछुमन साहले बताए।
यस वर्ष मङ्सिर ३ गते सँझियाघाटको अघ्र्य दिने र ४ गते बिहानको अघ्र्य दिई छठ पर्व विधिवत्रूपमा समापन हुने पुरोहित सन्तोष दुबेले बताए।
यसैगरी, छठ पूजाको लागि चाहिने सामग्रीको मूल्य निकै बढेको मुडलीका सुनील चौरसियाले बताए। छठपूजामा उखु, सक्खर, कागती, नरिवल, अदुवा, फलफूल, मिठाइ, सुथनी, सुपारी, बाँसबाट बनेको सुपुली, डलिया, माटाका सामग्रीहरूको मूल्य बढेका छन्।