प्रस, वीरगंज, १ मङ्सिर/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वडा नं १५ स्थित ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य अविलम्ब शुरू गरिने बताएका छन्।
सङ्घले मासिकरूपमा पहिलो शुक्रवार आयोजना गर्ने कार्यक्रममा आज उनले सो कुरा बताएका हुन्। नगरप्रमुख सिंहले ज्येष्ठ नागरिक पार्कको लागि गुरुयोजना तयार भइसकेको र तुरुन्त काम शुरू गरिने बताए। उनले पार्कमा अत्यधिक अक्सिजन प्रदान गर्ने बिरुवा रोप्न सुझाव दिए। ज्येष्ठ नागरिकहरूको लागि आक्सिजन आवश्यक भएको हुनाले सो प्रयोजनको बिरुवा रोप्दा फाइदा हुने बताए।
आज नगरप्रमुख सिंह, ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेल, पूर्वअध्यक्ष तथा मधेस प्रदेशका संयोजक जगदीशप्रसाद शर्माले केही बिरुवा रोपेका थिए।
मासिकरूपमा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर स्वास्थ्यसम्बन्धी जानकारी गराउने क्रममा आज दन्त विशेषज्ञ डा मनोज उपाध्यायले ज्येष्ठ नागरिकहरूलाई दाँतसम्बन्धी जानकारी गराएका थिए। उनले दाँतको हेरचाह कसरी गर्ने भन्नेबारेमा सुझाव दिएका थिए।
डा उपाध्यायले आफ्नो क्लिनिकमा ज्येष्ठ नागरिकहरूको निश्शुल्क परीक्ष्Fण गर्ने र अन्य सेवामा २५ प्रतिशत छुट दिने घोषणा पनि गरे।
कार्यक्रममा डा प्रियंसा पौडेलले पनि ज्येष्ठ नागरिकहरूलाई दाँतसम्बन्धी परामर्श दिएकी थिइन्।
सङ्घका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसिया, सङ्घका उपाध्यक्ष बैधनाथ कुशवाहा, आशा गौतम, सविता अधिकारी, उषा शाह, बद्री केसीलगायतको सहभागिता रहेको सचिव विनयराज गौतमले बताए।