प्रस, वीरगंज, ३० कात्तिक/
बालकैदीहरूको लागि वीरगंजमा रहेको बाल सुधारगृहमा आज बिहान पुनः विवाद भएको छ । केही महीनाअघि सो सुधारगृहमा विवाद हुँदा एक दर्जन प्रहरी तथा बालकैदीहरू घाइते भएका थिए । यसअघिको विवाद र अहिलेको विवादको कारण भन्ने बेग्लै छ ।
आज बिहान बालकैदीका दुई समूहबीच झडप भएको थियो । झडपमा एकजना प्रहरी हवल्दारको टाउको फुटेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । सुधारगृह क्षेत्रमा बिहानदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । वडा प्रहरी कार्यालय, बिर्ताको टोलीले विवाद साम्य पारेको थियो ।
खानाको विषयमा विवाद भएको भनिए पनि बाल सुधारगृहका प्रशासक टीका काफ्ले नै विवादको मुख्य योजनाकार रहेको बताइन्छ । बाल सुधारगृहमा राज्यले बालकैदीहरूको लागि दिंदै आएका सेवासुविधामा काफ्लेले भ्रष्टाचार गर्ने गरेको एकजना बालकैदीको आरोप छ । खानामा कुहिएका चामल, दालमा पानी धेरै, कुहिएको आलु खुवाउने गरेको, हरियो सागसब्जी नदिने तथा राज्यले दिंदै आएको नगद पनि काफ्लेले बालकैदीहरूलाई नदिने गरेको आरोप लगाइएको छ । नयाँ कैदी आएपछि काफ्लेले कैदीका परिवारलाई फोन गरेर यातना दिने गरेको आरोप छ ।
यसअघि बाल सुधारगृहमा विवाद हुँदा उनलाई हटाउने सहमति भएको थियो तर आर्थिक चलखेलमा उनी लामो समयदेखि सुधारगृहमा बस्दै आएका छन् । प्रशासक काफ्लेले बालकैदीहरूबीचमा फुट ल्याउने र राज्यबाट प्राप्त रकम भ्रष्टाचार गर्ने गरेको बताइन्छ ।
कैदीका अभिभावक अनुसार बारा, पर्सा, रौतहटका बन्दीहरू एक समूहमा छन् भने सर्लाही, सप्तरी, महोत्तरी, धनुषा, सिराहाका बालकैदीहरू अर्को समूहमा विभाजित छन् । प्रशासक काफ्लेले आर्थिक तथा शारीरिक शोषणविरुद्ध आवाज उठाउने कैदीबन्दीलाई कुटपिट गर्न अर्को समूहलाई उक्साउने गरेको आरोप छ ।
काफ्लेले कैदीबन्दीका लागि आएको रासन खाने, प्रहरीलाई मदिरासेवन गराउने आरोप पनि लाग्ने गरेको छ । सुधारगृहमा १८ वर्षमाथि र २४ वर्षमुनिका १७ जना कैदी रहेका र उनीहरूलाई काफ्लेले आफ्नो पक्षमा पारी उक्साउने र शोषण गर्ने गरेको अभिभावकको आरोप छ । दशैंको बेला काफ्लेले अधिकांश बालकैदीबन्दीका अभिभावकको घरमा फोन गर्न लगाइ पाँच हजारसम्म रकम असुल गरेको आरोप छ । कैदीबन्दीका परिवारजन भेट्न आए उपचार खर्चलगायत विभिन्न बहानामा रकम माग्ने गरेको अभिभावकहरूको आरोप छ ।
बाल सुधारगृहको रेखदेख तथा सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयमा बालकैदीबन्दीका अभिभावकहरूले गुनासो गर्दा गुनासो गर्ने बालकैदीबन्दीहरूलाई बाल सुधारगृहमा यातना दिने गरिएको आरोप छ । जिल्ला प्रशासनबाट सूचना चुहावट हुने गरेको र सूचना दिने अभिभावकका बालबन्दीहरूलाई प्रताडित गर्ने गरेको अभिभावकहरूले आरोप लगाएका छन् ।