• कुमार रुपाखेती

यसपटकको तिहार दशैंझैं फिक्का देखियो । वीरगंजको झिलीमिली हेर्न टाढा–टाढाबाट यहाँ आउनेहरू यसपालि अक्क न बक्क परे । वीरगंजको मुख्य सडक सुनसान र उजाड देखियो भने तिहार आउनुअगावै झिलीमिली हुने आदर्शनगरसमेत लक्ष्मीपूजाका दिन रौनकविहीन देखियो । दीपावली अर्थात् लक्ष्मीपूजा व्यापारी तथा मारवाडी समुदायले निकै तामझाम र श्रद्धाभक्तिले मनाउँछन् । आदर्शनगर व्यापारी, उद्योगी बस्ने क्षेत्र हो तर यसपटक त्यहाँको रौनकसमेत हराएको थियो । स्वयम् घण्टाघरसमेत अँध्यारोमा लुकेकी विधुवाझैं देखियो । दीपावलीमा घण्टाघरलाई आकर्षक बत्ती र झालरले दुलहीजस्तै सिङ्गारिन्थ्यो तर यो दीपावलीमा सरोकारवालाहरूले घण्टाघरलाई सजाउने जमर्को गरेनन् । सीमामा रहेको शङ्कराचार्यद्वारलाई समेत यसपालि बत्तीले रङ्गीचङ्गी र रौनकपूर्ण सजावट गर्ने फुर्सद कसैलाई भएन । त्यस क्षेत्रमा हाम्रFे नेपाली झन्डा अँध्यारोमा फिरफिर गरिरहेको थियो । धार्मिक चाडपर्व दशैं, तिहार, छठ होस् वा फगुवा व्यापारको केन्द्र माईस्थान मन्दिर परिसर वरपर नै केन्द्रित रहन्छ । तर यो तिहारमा न फूलको बिक्री, न पूजा सामग्रीको बिक्री उल्लेखनीयरूपमा भयो । लक्ष्मीमाताको फ्रेमसहितको तस्वीरको बिक्रीमा समेत ¥हास आयो । तिहारमा कानको जाली फुट्ने गरी पड्किने पटाका पनि यसपटक शान्त थियो । तिहार भनेपछि पटाका पड्काउनैपर्नेहरूसमेत प्रशासनको कडाइ र महँगिएको पटाकाको दाम सुनेर हच्किएका थिए । सधैंझैं तिहारमा ठिटाहरूले कतै ग्याङ फाइट गरेछन्, धरपकड भएछन् ।

 ‘गुरु गुरुवै रहगैले, चेला चिनी’ भनेझैं मिठाइको मूल्यले तिनीको मिठास बिर्साइदियो । मन्दिर परिसर अर्थात् गहवामाई परिसर वरपरको अवस्था तिहारभरि भद्रगोल थियो र फोहर त अझैसम्म असरल्ल देखिन्छ । यहाँको मुख्य सडकको भीडभाड र सदाबहार जाम त दशैंदेखि छठसम्म मछरीबजारझैं कल्याड्ढुलुङ रहन्छ ।

यसपालि दीपावलीमा पहिले कहिल्यै नदेखिएका सिनसिनेरी पनि देखिए । सडेगलेका फलफूल, ओइलिएका फूल, गन्हाएका मिठाइका साथसाथै आँप, पीपल र अशोकको पत्ता, गाईको गोबर, दुबो र गङ्गाजल भन्दै पानीसमेत धडल्लेले बिक्री भए । महँगीको थेगी नसक्नु भारले यसपालि वीरगंजको ख्यातिप्राप्त दीपावली अँध्यारो–अँध्यारो पार्दै बित्यो । माटोको दियरीको स्थान अब चाइनिज झिलीमिली बिजुली बत्तीले कब्जा गर्यो । शहरका ९५ प्रतिशत घर चाइनिज बत्तीले सजिए, धन्य कुलमानले बत्ती गुल गरेनन् । जतिसुकै महँगी हुर्किए पनि जुवाको खालको रौनक कायमै थियो । अचम्म बजार क्षेत्रमैं धूवाँधार, दमदार कौडाको मजा पनि लिइयो । कौडामा च्याखे थाप्ने हैसियत थिएन तर पनि महाभारतकालदेखि नै चलिआएको कौडाको मार तालको ‘मार्रा मार्रा सोहरैया’ भन्दै हजरिया हजरिया सोहरेको देख्दा मज्जा लाग्यो । हाम्रFे टोलतिर देउँसी, भैलो खेल्नेहरूले महँगी बढेको भन्दै रु पाँच सयभन्दा कम थाप्न मानेनन् र टेम्पो, ईरिक्शा रिजर्भ गरेर गितारसहित आउनेको सेल, अनर्सासहित रेट नै एक हजार रहेछ । बजारमा त भाइटीकामा चाहिने भाइमसलाको मूल्य आँट्नै नसक्ने महँगो थियो । जाबो कटुस एउटाको रु १० रे १ सप्तरङ्गी टीका राम्रोखाले रु दुई सयभन्दा बढी, भोगटे एउटाको रु एक सय, बिमिरोको एक सय, यो आँखाले पानीले बल्ने (तेलले होइन) दियरी (दियो)समेत देख्यो रु एक सयको तीन थान ।

वीरगंजको नेवार समुदायले नेपाल संवत् ११४४ न्यूँ दया भिन्तुना भाइटीकाको एक दिन अघि निकै जोशखरोसले सम्पन्न गरे । वीरगंजको छठपूजा निकै प्रख्यात छ, त्यो दिन घडीअर्वा पोखरी परिसरको रौनक नै भिन्दै हुन्छ तर प्रदूषित श्रीसिया, नगवा पोखरी, माइधिया पोखरी र महानगरभित्रका सबै खोलानाला र पोखरीको हबिगत बद से बदतर भएकाले खाल्डो खनेर बाटामा सफा पानी राखेर छठीमाईलाई अघ्र्य दिने प्रचलन वीरगंजमा चलाउन श्रद्धालु, भक्तजनहरू विवश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here