प्रस, परवानीपुर, २५ कात्तिक/

वीरगंजमा जारी प्रथम वीरगंज गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । वीरगंजको आदर्शनगर रङ्गशालामा शनिवार आयोजित फाइनल खेलमा टाइब्रेकरमा २–० गोलअन्तरले त्रिभुवन आर्मी फूटबल क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद रु ११ लाख ११ हजार १११ पुरस्कार पायो भने उपविजेता आर्मीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पाएको थियो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम नतीजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा आर्मीका चारैजना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गयो । टाइब्रेकरमा पुलिसका लागि कप्तान राम बजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए । टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बार बाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले रोकेका थिए । जीतेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

यसअघि निर्धारित समयको खेलमा भने आर्मीमाथि पुलिसका खेलाडी तुलनात्मकरूपमा हाबी भएपनि गोल गर्न भने असफल भएका थिए ।

खेलको ३६औं मिनेटमा पुलिसका उज्ज्वल राईले पुलिसको डिबक्स छेउबाटै गरेको प्रहार पोलनजीकैबाट बाहिर गएको थियो । खेलको ४०औं मिनेटमा फेरि उज्ज्वलले नै डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर गोल हुनबाट जोगाएका थिए । खेलको ५५औं मिनेटमा पनि पुलिसले गोल गर्ने अवसर गुमाउन पुगेको थियो । प्रताप गुरुङले पास गरेर दिएको बल विवेक सन्तोषीले आर्मीका गोलरक्षक विकेशलाई छल्दै अगाडि बढाइसकेको भएपनि आर्मीका रक्षापङ्क्तिले त्यसलाई क्लीयर गरेका थिए ।

६९औं मिनेटमा भने आर्मीले पनि गोल गर्ने अवसर पाए पनि खेर फालेको थियो । सन्तोष केसीले गरेको प्रहारमा आशिकबाबू चौधरीले गरेको हेड पुलिसको बारमाथिबाट बाहिरिन पुगेको थियो । फाइनल खेलमा टाइब्रेकरमा आर्मीको लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक शत्रुघ्न चौधरी फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद ५० हजार रुपैयाँ पनि प्राप्त गरे । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुघ्न चौधरी, उत्कृष्ट मिडफिल्डर प्रहरीकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनीहरूलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनले पनि नगद २० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उपाधि विजेता टीमलाई ट्रफी र मेडल प्रदान गरेका थिए भने वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमले उपविजेता टीमलाई ट्रफी र मेडल प्रदान गरे ।

त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक कोमल शाहलगायतको सहभागिता थियो । वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान्स सिटी क्लब, वीरगंजले कात्तिक १८ देखि २५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कुल आठ टीम सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here