ओमप्रकाश चौधरी, सेढवा, २५ कात्तिक/

सातौं परसवा गोल्डकपको उपाधि निचुटा क्लबले जितेको छ । जीराभवानी गाउँपालिका वडा नं ३ मा आयोजित  फूटबल प्रतियोगिताको फाइनल खेलमा निचुटाले भारत, बिहारको जयहिन्द एभरेस्ट क्लब, इनर्वालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शुरूदेखि नै प्रतिस्पर्धात्मक खेल भएकामा मध्यान्तरूअघि दुवै टीमले गोल गर्न सकेनन् । मध्यान्तर पछिको २६औं मिनेटमा निचुटाका जर्सी नं १० का विवेक चौधरीले निर्णायक गोल गरेका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ निचुटाका सागर चौधरी घोषित भए ।

कार्यक्रममा जीराभवानीका गापाका अध्यक्ष अनोज चौधरीले प्रतियोगिताका विजेता निचुटालाई नगद रु तीन लाख २५ हजारको चेक, ट्रफी र मेडल प्रदान गरे । त्यस्तै, प्रतियोगिताका उपविजेता टीम जय हिन्द एभरेस्ट क्लबलाई नगद रु डेढ लाखसहित ट्रफी र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी जय हिन्द एभरेस्ट क्लब, इनर्वाका जर्सी नं १० का लियो घोषित भए । लियोलाई चाँदीको बल प्रदान गरिएको थियो ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट स्कोरर निचुटाका जर्सी नं ७ का सागर चौधरी घोषित भए । चौधरीले चाँदीको बुट प्राप्त गरे । आयोजक न्यू एभरेस्ट क्लब, परसवाद्वारा आयोजित  सातौं परसवा गोल्डकपको पुरस्कार वितरण समारोहको अध्यक्षता क्लबका अध्यक्ष उमाकान्त चौधरीले गरेका थिए भने पटेर्वासुगौली गापा अध्यक्ष दिनेशकुमार चौधरी, जगरनाथपुर गापा अध्यक्ष श्रीकान्त यादव, सखुवाप्रसौनी गापा अध्यक्ष यशवन्त यादव, गापा उपाध्यक्षहरू रेखा चौधरी, ममता महतो, शर्मिला विष्ट महतोलगायतको सहभागिता थियो । फाइनल खेल हेर्न ग्रामीण र थारुवान भेगसँगै भारत, बिहारका हजारौं दर्शकको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here