• राजेश मिश्र

सोहरैया, लक्ष्मीपूजा, दीपालवी र दीपोत्सव आदि स्थान अनुसार अनेक नामले सम्बोधन हुने महापर्व धनधान्य र स्वच्छताको प्रतीक हो । धन, समृद्धि, सुख र शान्ति प्राप्तिका लागि दीपावलीमा देवी लक्ष्मी र भगवान् गणेशको पूजाअर्चना गर्ने प्रचलन सदियौंदेखि निरन्तर छ । देवी लक्ष्मीको कृपा प्राप्त हुने व्यक्तिको जीवनमा समृद्धि र वैभवको कहिल्यै कमी नहुने धार्मिक विश्वास छ ।

कात्तिक महीनाको अमावस्या तिथिमा दीपावली मनाइन्छ । उहिले घरआँगन झिलिमिली पार्नका लागि हुने/नहुने सबैका लागि निर्विकल्प प्राकृतिक संसाधन माटोको दियो, आलसको तेल र सुती कपडाको बत्तीका साथै व्यञ्जनहरू स्थानीयस्तरमा उपलब्ध खाद्यान्नहरूमा निर्भर थियो । सहयोग र सद्भावपूर्ण वातावरणमा दीपावली मनाइन्थ्यो । प्राकृतिक स्रोत, साधन र संस्कारले सनातन संस्कृतिको गरिमा व्यक्त गर्दथ्यो ।

वर्तमान दीपावली

वर्तमान परिवेशमा आर्थिक क्षमता प्रदर्शन गरी हर्ष व्यक्त गर्ने होडबाजी व्याप्त छ । छिमेकीको घरमा चुलो बलेको छ वा छैन भन्ने सहयोगी भावना अपवादबाहेक सङ्कुचित हुँदै गइरहेको अवस्था छ । दीपावलीको अवसरमा कतै अति, त कतै सामान्य, त कतै न्यून हर्षोत्सव अनुभूत गर्न सकिन्छ । त्यसैगरी, भुइँचालो गएका क्षेत्रमा यस वर्षको दीपावली कस्तो होला भन्ने कुरा अनुमान गर्न कठिन छैन ।

समाजमा कृषि उब्जनी, मजदूरी, स्वरोजगार, एकल/संयुक्त सरकारी तलबमा आश्रित परिवारका साथै शक्तिसम्पन्न सरकारी/राजनीतिक ओहोदाप्राप्त परिवारजनले मनाउने दीपावली पर्वको सन्दर्भमा उदाहरणार्थ केही वार्तालाप यहाँ प्रस्तुत गर्नु सान्दर्भिक छ ।

मजदूरीमा आश्रित

पत्नी: सुन्नुभयो ! दीपावलीको सामग्री कहिले खरीद गर्ने हो ?

पति: (हतारमा खाना खाँदै) जाँदै छु काममा । साँझपख उतैबाट भएभरको सामग्री किनेर ल्याउँला । बाँकी भोलिको ज्यालादारीले किनौंला ।

कृषिमा आश्रित

गृहिणी: (पतिसँग) यतिमात्रै सामग्री किनेर ल्याउनुभयोे र अरू सामान खोइ ? पाँच क्विन्टल अन्नपात बिक्री गरेर यतिमात्रै सामान ल्याउनुभयो त १

पति: (पत्नीसँग) सबैथोक पूर्ति गर्र्नको लागि पाँच क्विन्टल अझै बिक्रि गर्नुपर्ला, तबमात्र दीपावलीको उत्सव मनाउन सकिएला । उच्च महँगीको असर हामीजस्ता परिवारमाथि नै पर्ने हो । छठ पर्वको प्रबन्ध गर्न अहिले बाँकी नै छ । अझ कति अन्नपात बिक्री गर्नुपर्ला, ठेगान छैन ।

पतिको आयमा निर्भर

गृहिणी: दीपावलीको किनमेल त सकियो । सानै भएपनि दीपावलीको दिन सुनको एउटा गहना किन्न मन छ । (हाँस्दै) के विचार छ, हजुरको ?

पति: प्राप्त तलबमानले महँगीको यस घडीमा दीपावलीको किनमेल गर्न सकियो, त्यो नै ठूलो कुरो हो । अहिलेको महँगीले तलबको भरमा सबैथोक पूरा गर्न सम्भव छैन । दीपावलीमैं तलब सकियो । बच्चाहरूको विद्यालय शुल्क र बैंकको किस्ता तिर्न बाँकी नै छ । अब त महीना कसरी कट्ला भन्ने पीर छ ।

संयुक्त (पति–पत्नी) आयमा निर्भर

पत्नी: सुन्नुस् न, तपाईं र बच्चाहरूको लागि नयाँ कपडा किनेर ल्याइदिएकी छु । यसको अलावा दीपावलीको किनमेल पनि थोरै गरिदिएकी छु । अब महीनाभरिको घर खर्च तपाईंको तलबले कटाउनुपर्ला । एउटा स्कूटी किन्न मन थियो । तर भ्याउँदैन । वर्षौंदेखिको सपना अब पुनः अर्को वर्ष पूरा गर्न सोचौला !

पति: धन्यवाद श्रीमतीजी ! मेरो तलबबाट दीपावलीको शुभ अवसरमा तिम्रोलागि सामान्य उपहार, बच्चाहरूको विद्यालय शुल्क र बैंकको ऋण चुक्ता गरेर थोरै पैसो बचेको छ । महीनाभरि कसरी निर्वाह हुन्छ हौ ? गार्हो छ !

सरकारी ओहोदाधारी

पत्नी: दशैं त रमाइलो गरी बित्योे । विदेश घुम्न पाइयो । हिजो धनतेरसको अवसरमा प्रदान गर्नुभएको उपहार मलाई असाध्यै मन पर्यो । घरको सजावट त हाम्रो टोलमा हामीजस्तो कसैको पनि छैन । तपाईंको नाममा ड्राई फ्रूट्स र मिठाइ आदि उपहार घरसम्म आउने क्रम जारी नै छ । केवल पूजन सामग्री किनमेल गर्न बाँकी छ । बजार जाउँ है किन्न ।

पति: कलमको शक्ति रहेसम्म घर खर्च, विदेश यात्रा, गरगहना र चाडबाडको तनाव लिनुपर्दैन, प्यारी । घरपरिवारको खुशीको लागि जे नगर्नुपर्ने, त्यो पनि गरिरहेको छु । हाँसीखुशी बाँचौं र रमाऔं ।

राजनीतिक ओहोदाधारी

पत्नी: दीपावलीमा गाडी खरीद गर्ने भन्नुभएको थियो । खरीद गर्नुहुन्छ कि ? थोत्रो गाडीमा चढ्नै मन लाग्दैन । अनि सुन्नुस् न, त्यो उपहारको ठूलो पोकोमा अनेक प्रकारका मिठाइ र फलफूलसँगै सुनको सिक्री र तिलहरी रहेछ । शायद उपहार दिनेले सिक्री तपाईंको लागि र तिलहरी मेरोलागि दिएको रहेछ । धन्यवाद छ, त्यो व्यक्तिलाई ।

पति: गाडी खरीद गर्न जानुपर्दैन । भोलि दीपावलीको शुभ मुहूर्तमा गाडीको पूजा गर्न तयार रहनु, प्रिये ! यतिमैं कति खुशी छौ तिमी ? अझ कतिपय सुविधा आउन बाँकी नै छ ।

कारबाहीको फेहरिस्त

सर्वशक्ति सम्पन्न र संस्कारी हुनु, यी दुईटै फरक कुरा हुन् । सम्पत्ति र संस्कारमध्ये कुन सिढीले मानवलाई स्मरणयोग्य बनाउँछ ? आफैंले विचार गर्ने विषय हो । शक्ति प्राप्त गरेसँगै खरायोको गतिमा सम्पन्नताको उकालो चढ्ने पात्रहरू सोभन्दा तीव्र गतिमा ओरालो लागेका उदाहरणहरू प्रशस्त छन् । जस्तै विभिन्न शक्तिमानहरूका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा दायर गरेका मुद्दा र कारबाईको फेहरिस्तलाई लिन सकिन्छ । त्यसैगरी, विगतमा न्यायालयद्वारा अनेकौं मुद्दाहरूमा भ्रष्टाचारी ठहर भई असुलउपर भइसकेका/भइरहेका कारबाईले ती पात्रहरूको विचलित कर्तव्यले प्रचलित कानूनको मात्र होइन, अपितु पौराणिक संस्कार र संस्कृतिविरुद्ध आचरण प्रस्तुत गरेका उदाहरणहरूको कमी छैन ।

चेतनशील प्राणी

भनिन्छ, मानिस चेतनशील र सामाजिक प्राणी हो । एकले अर्काको सुखदुःखमा सक्रियता देखाउने क्रियाकलापले मानिसले सामाजिक प्राणीको दर्जा प्राप्त गरेको हो । यद्यपि आजको परिवेशमा मानिसहरूको क्रियाकलापले सामाजिक परिवेश व्यक्त गरिरहेको छ ।

किनभने समाजभित्र केही यस्ता मानिसहरू छन्, जो मानवताको गोरेटोमा अग्रसर छन् । न्यून सङ्ख्याका मानवताप्रेमी ती मानिसहरूका कारण समस्त मानवजगत्को गरिमा कायम छ । अन्यथा किंकर्तव्यविमूढ मानिसहरूको हालीमुहाली र वर्चस्व रहेको यस जगत्मा आज मानिसलाई सामाजिक प्राणी भन्नुपर्ने हो वा होइन भन्ने प्रश्न विचारणीय छ ।

मानिसहरू घरमा देवी लक्ष्मीको प्रवेश चाहन्छन् । तर देवी लक्ष्मीलाई कुन बाटोबाट घरमा भिœयाउने हो, त्यो मानवको नियतमा निर्भर छ । मानिस सधैं धयाढ्यको श्रेणीमा दरिने कल्पना गर्छ । यद्यपि दीपावली आर्थिक सम्पन्नताको पर्यायवाची हुँदै होइन । दीपावली मानव शरीरसँगै वासस्थानको बाह्य र आन्तरिक शुद्धता, स्वच्छता र पवित्रताको महापर्व हो । शक्ति, सम्पन्नता र देवीप्रति असीम श्रद्धाभावलाई एकसाथ जोडेर हेर्न मिल्दैन ।

परिश्रमको आधारमा हुने कछुवा प्रगतिले जीवनस्तर उँभो लाग्न नसक्ला, यद्यपि असीम आत्मसन्तुष्टि प्रदान गर्छ । निद्रा र शान्ति खोज्न जानुपर्दैन । यतिमात्र होइन, यो गुण मरणोपरान्त समाजमा स्मरणीय रहन्छ । समाजमा यस प्रकारका सकारात्मक नजीर उदाहरणीय बन्छ ।

चाडबाड हैसियत प्रस्तुतिको उत्सव होइन । सर्वशक्तिमान/शक्तिमान हुँदैमा देवी लक्ष्मीको बढी कृपा र शक्तिहीन हुँदैमा शून्य कृपा प्राप्त हुने कुरा होइन । बरु सर्वशक्तिमानभन्दा बढी निष्ठा शक्तिहीन ठाटिने सामान्यजनमा असीम हुन्छ । उनीहरू न्यून संसाधनमा अत्यधिक आत्मसन्तुुष्टि प्राप्त गर्छन् ।

अनुत्तरित प्रश्नहरू

उपरोक्त वार्तालापमा अङ्कित वाक्यांशहरूले समान आर्थिक क्षमतामा आधारित मानिसहरूबीच असमान जीवनशैली व्यक्त गरिरहेको छ । आर्थिक क्षमता समान भए तापनि केवल पद र ओहोदाको अन्तरले मानिस–मानिसबीच असमान हैसियत प्राप्त हुने कारण के हो ?

उदाहरणको लागि महीनाको ३५ हजारको कृषि उब्जनीमा आधारित कृषक र सोही अनुपातमा तलब खाने खरदार सरहको सरकारी कर्मचारीको जीवनशैली कसरी असमान हुन जान्छ ? त्यसैगरी, समान तलबमान भएका अधिकृतस्तरका कर्मचारी र सोही अनुपातमा सुविधा प्राप्त गरिरहेका विभिन्न तहका जनप्रतिनिधिहरूको जीवनशैली कसरी असमान हुन सक्छ ? यावत् अनुत्तरित प्रश्नहरूले समाजमा अनेक प्रकारका शङ्का र उपशङ्का अङ्कुरित गरिरहेका छन् ।

प्रचलित एक हिन्दी उखान छ, “दाल में तो कुछ काला है ।” अदृश्य कालो कर्तुत बेलाबखत न्यायालय र अख्तियारद्वारा सदृश्य हुने गर्छ । तथापि बहुसङ्ख्यक काला कतुर्त सत्ता, शक्ति र सम्पन्नताको ओतमा विलीन छन् । ओहोदाधारीहरूद्वारा हुने विकृत क्रियाकलापहरू ढाकछोपजन्य प्रणालीले अदृश्य रहन्छ । स्मरण रहोस्, परालको आगो जसरी सल्किन्छ, सोभन्दा तीव्र गतिमा निभ्छ । यद्यपि निष्ठामा आधारित प्रगति गुइँठाको तापझैं जीवपर्यन्त समानरूपमा ताप प्रदान गर्छ । त्यसैले नैतिकवान् घरमा सधैं देवी लक्ष्मीको वास होस् । शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here