- डा शिवशङ्कर यादव
यो मानसिक स्वास्थ्यको त्यो हालत हो, जसमा मान्छे आफूलाई हेर्ने ढङ्ग र अरूप्रति गर्ने प्रतिक्रियाले विभिन्न समस्या पैदा गर्छ र जसलाई अरूको भावनासित मतलव हुँदैन तथा कुनै दुःखदायी स्थिति सहने शक्ति पनि हुँदैन र आवेगमा आएर काम गर्छ । अर्थात् यो भन्न सकिन्छ कि जसको सोच र काम गराइ अस्वस्थ, विकृत र संवेगी हुन्छ ।
व्यक्तित्व विकृति बुझ्नका लागि एउटा कथा सुन्नुस् । एउटी बच्ची थिई, जसलाई परिवार र छिमेक सबैले सनकहिनिया भन्थे । सनकहिनिया बडो प्रिय शब्द हो जुन निर्दोष, निश्छल र एकसुरा व्यक्तित्वलाई भनिन्छ । मतलब के भने उसको जन्मजात झुकाव केही अलग हुन्छ । उसको जीनमा नै केही त्यस्तो थियो जसले बFँकी बच्चाहरूबाट उसलाई अलग गथ्र्यो । उनी परिवारबाट बढी हप्कीदप्की र दबाबको सामना गर्थिन् । त्यसको बावजूद उनी पढाइमा प्रगति गर्दै गइन् र उच्च शिक्षामा दाखिला समेत लिइन् । तर आमाबुवाले उनको इच्छा र इजाजतविना बिहे गरिदिए । त्यस पछि त करैला नीममाथि चढेजस्तो भयो । पतिले उनको शिक्षामा दखल दिन थाल्यो । चैटमा बोलाउने र नआए पछि परिवारद्वारा दबाब दिलाएर महीनौं आफूसँग बस्न विवश गर्न थाल्यो । मतलब पढाइ चौपट । सनकहिनियाजस्तो व्यक्तित्व आफ्नो लक्ष्य र परिश्रममा अव्वल र व्यवहारमा खरो हुन्छ । त्यसमा व्यवधानले उसलाई विचलित पारिदिन्छ । उसले पाएको जीन र आफूप्रति हुने पितृसत्तात्मक व्यवहार र टर्चर दुवै मिलेर उसलाई मानसिकरूपले अस्वस्थ बनाई व्यक्तित्व विकारको शिकार बनाइदिन्छ । त्यही भयो त्यस केटीका साथ पनि । बचपनको हप्कीदप्की र वयस्क भएपछि पतिको व्यवहारले उनी सन्तुलित रहन सकिनन् । अब उनको व्यवहार पति, परिवार र समाज सबैप्रति बदल्यो । कहिले आवेगमा आएर, कहिले अवज्ञा गरेर, कहिले गुनासो र झगडा गरेर, कहिले भाँडाकुँडा पछारिदिने, कहिले किताब र कापी च्यातेर फालिदिने अस्वस्थ व्यक्तित्वको लक्षण देखाउन थालिन् । यहाँ प्रत्यक्षतः तीन कारण देखिन्छ ः पहिलो उनको जीन जसले उनलाई जन्मजात अलग बनाएको थियो, जसलाई पर्सनालिटी ट्रेट भनिन्छ । दोस्रो बचपनको प्रताडना र तेस्रो लक्ष्य प्राप्त गर्न अवरोध र असफलता । यी तीनै मिलेर जब मान्छेको व्यक्तित्वलाई दायाँ बायाँ पार्न थाल्छ, त्यसलाई पर्सनालिटी डिजार्डर भनिन्छ । याद राख्नुस् यो सिजोफ्रेनिया होइन, जसमा मान्छे आफ्नो होशहवाशमा हुँदैन । व्यक्तित्व विकारमा मान्छे होशहवासमैं हुन्छ ।
यहाँ सबैभन्दा पहिले यो प्रश्न उठ्छ कि व्यक्तित्वमा रोग लाग्छ ? व्यक्तित्व त शारीरिक, भावनात्मक, बुद्धिमत्ता र व्यावहारिक लक्षण हो जसले व्यक्ति आफूप्रति अन्य र वातावरणलाई आकर्षण वा विकर्षण गर्छ । शारीरिक कुरामा व्यक्तिको कद, वजन, रंग र अनुहारको मुद्रा आउँछ । पहिले शारीरिक बनोटले सामुन्नेको व्यक्तिमा प्रभाव पार्छ । भावनात्मक कुरामा व्यक्तिभित्र बसेको प्रेम, घृणा, ईष्र्या, द्वेष, आपराधिक प्रवृत्ति र सुखदुःखले मान्छेको व्यक्तित्वमाथि व्यापक असर पार्छ । हामीलाई थाहा नै छ कसैलाई प्रेम गर्दा मान्छे कति उज्यालो हुन पुग्छ । ईष्र्या र द्वेशको बेला कठोर र अपराध गरेपछि डराएडराएजस्तो हुन्छ । त्यस्तै तत्व हो बुद्धि । बुद्धि जति प्रखर हुन्छ, त्यति नै तपाईंको आन्तरिक व्यक्तित्वमा चमक आउँछ । शरीरको बनावट बाह्य व्यक्तित्व हो भने बुद्धि व्यक्तित्वको आन्तरिक गहना हो । बाह्य व्यक्तित्व आकर्षक नभए पनि आन्तरिक बुद्धिमत्ता थाहा पाएपछि सबैमा उसप्रति सम्मान बढ्छ । एकचोटि नेपोलियनको कक्षमा एकजना पेन्टरले प्रवेश पायो । नेपोलियनले बेमनले उसलाई प्रवेश गर्न दिए । कुराकानीको क्रममा उसको बुद्धिमत्ता र पेन्टिङले यति प्रभावित भए कि उसलाई ढोकासम्म पुर्याउन आए । पेन्टरले त्यसको कारण सोधेपछि नेपोलियनले भने– आउँदा तिम्रो बाह्य व्यक्तित्वले म प्रभावित हुन सकिनँ । तर तिम्रो बुद्धिमत्ता र कलानिर्मित व्यक्तित्वको सम्मानको लागि पुर्याउन आएँ । यस्ता घटना इतिहासमा अनगिन्ती छन् । यही हो व्यक्तित्वमा बुद्धिमत्ताको करामात । व्यक्तित्वको चौथो तत्व हो व्यवहार । राम्रो व्यक्तित्वको लागि मानिसको व्यवहार भद्र, दयालु, सहयोगी र सन्तुलित हुनुपर्छ । आक्रामकता र क्रोधले तपाईंको व्यक्तित्व बिगारिदिन्छ । राम्रो व्यक्तित्वको निशानी हो ः प्रसन्नचित्तता, राम्रो शैली, इमानदारी, दयालुता, विश्वसनीयता, रसिलोपन, सहयोगी भाव र तार्किकता आदि । व्यक्तित्वका यिनै लक्षण विकृत भए मान्छेको ग्राह्यशक्ति, सोच र लचिलोपन कम गरेर मान्छेलाई असन्तुलित बनाएर समाज र कार्यस्थलको व्यवहारमा उल्लेखनीय कमीकमजोरी उत्पन्न हुन्छ । यतिले पाठकलाई प्रस्ट बुझ्न मदत मिल्छ कि आखिर व्यक्तित्व विकृतिमा के हुन्छ र रोगीको व्यवहार कस्तो हुन्छ ? किनभने व्यक्तित्व व्यक्तिको व्यवहारबाट नै व्यक्त हुन्छ ।
वर्गीकरण ः पर्सनालिटी डिजार्डर दुई प्रकारको हुन्छ स्पेसिफिक पर्सनालिटी डिजार्डर वा विशिष्ट व्यक्तित्व विकृति र एन्ड्युरिङ नयाँ पर्सनालिटी डिजार्डर वा खप्न सक्ने नयाँ खोजिएको व्यक्तित्व रोग ।
स्पेसिफिक पर्सनालिटि डिजार्डर ः यसका ए, बी र सी तीन समूह वा क्लस्टर हुन्छ । एमा क. पारान्वायड ख. सिज्वायड र ग. सिज्वायडटाइपल । क्लस्टर बीमा क. एन्टिसोसल, ख. हिस्ट्रियोनिक ग. नार्सिसिस्टिक र घ. बोर्डरलाइन तथा क्लस्टर सीमा क. एभ्वायडेन्ट, ख. डिपेन्डेन्ट र ग. अब्सेसिभ कम्पल्सिभ पर्सनालिटि डिजार्डर आउँछ । क्लस्टर एलाई सिजोफ्रेनियासित जोडेर पनि हेरिन्छ । त्यस्तै क्लस्टर बीलाई नाटकीय, भावनात्मक र धरमर मनःस्थितिसँग तथा क्लस्टर सीलाई अन्तर्मुखी, चिन्ता र भयग्रस्त चित्तसँग जोडेर हेरिन्छ ।
यी दश वर्णनात्मक दृष्टिकोणले अलग अलग पर्सनालिटि डिजार्डर हुन् । तर रोगीमा कहिले पनि यो कुनै एक प्रकारको रूपमा पाइँदैन, अपितु एकमा अर्कोको लक्षण पनि मिसिएको हुन्छ । यी सबै क्लस्टरका केही साझा लक्षण हुन्छ अर्थात् ती लक्षणहरू प्रत्येक क्लस्टरमा पाइन्छ, तर सबैका आआफ्ना लक्षण पनि हुन्छन् । यद्यपि पर्सनालिटी डिजार्डरका लक्षण किशोरावस्थामा पहिचान गर्न सकिन्छ तर त्यसको टिपिकल लक्षण युवावस्थामा मात्र पकडमा आउँछ तथा युवावस्थाको सम्पूर्ण कालसम्म रहन्छ र ४० वर्षपछि कम हुँदै जान्छ । सम्पूर्ण मानसिक रोगीमध्ये यसको अनुपात ५ देखि १० प्रतिशतसम्म हुन्छ । सबैमा देखिने साझा लक्षण निम्नलिखित छन ः ए. थुप्रै कार्यमा असङ्गत मुद्रा र व्यवहार, जुन प्रायः आफ्नो वशमा पार्न नसक्ने उत्तेजना र अरूलाई गलत मात्र बुझ्ने व्यक्तिमा देखिन्छ । बी. यसमा रोगीको नराम्रो व्यवहार सहन सकिने खालको भए पनि लामो समयसम्म रहन्छ । सी. नराम्रो व्यवहार व्यापक हुन्छ जुन व्यक्तिगत र सामाजिक दुवैरूपमा ग्राह्य हुँदैन । लक्षण बचपन र किशोरावस्थामा देखिन्छ र सम्पूर्ण युवावस्थासम्म रहन्छ । डी. विकृतिले व्यक्तिमा उल्लेखनीय असहजता उत्पन्न गर्छ तर पछिको आफ्नो कोर्समा स्पष्ट हुन्छ । ई. विकृति सामाजिक वा कार्यालयको काममा पनि उल्लेखनीय समस्या पैदा गर्छ ।
अब आउनुस् खासखास प्रकारको विवरणमा ः
पारान्वायड पर्सनालिटी डिजार्डरः उपरोक्तको साथसाथै यसमा निम्नलिखित अर्को र विशिष्ट लक्षण हुन्छ ः गतिरोध वा आफ्नो पराजयप्रति अत्यधिक संवेदनशीलता । चोट, बेइज्जति र उपेक्षा सहन नसक्ने । अर्काको मित्रवत् र तटस्थ कामको पनि तोडमरोड गरेर सन्देह उपस्थित गराउने । सच्चाइ नभएको घटनामा पनि आफ्नो नभएको अधिकारको लागि लडिरहने प्रवृत्ति । सेक्सको मामलामा विनाकारण आफ्नो पार्टनर र यहाँसम्म कि सन्ततिमाथि पनि सन्देह गर्ने । आफूलाई अत्यधिक महत्व दिने र हरेक घटनामा आफ्नै उदाहरण पेश गर्ने । कुनै घटनालाई आफूप्रति षड्यन्त्रको रूपमा व्याख्या गर्ने आदि । यसमा मानिस सानो कुरामा पनि झगडा गरिरहन्छ जुन प्रायः अल्पसङ्ख्यक र आप्रवासीमा देखिने गर्छ । यस्तो आन्तरिक असुरक्षाको भावनाले आत्मसुरक्षाको कवचको रूपमा हुने गर्छ । यी लक्षणहरू सिजोफ्रेनियाको पूर्व लक्षणमा पनि देखिन्छ तर यसैले सिजोफ्रेनिया पैदा गर्छ भन्ने प्रमाणित छैन । पारान्वायड डेल्युजन र पारान्वायड सिजोफ्रेनियाबाट यसलाई छुट्याउनु जरूरी हुन्छ । एउटा कुरा यो पनि याद राख्नुपर्छ कि यी सबै लक्षणमध्ये कुनै तीन लक्षण देखियो भने त्यो पारान्वायड पर्सनालिटी डिजार्डर मानिन्छ । सबै लक्षण एक साथ देखिनु जरूरी छैन । यसको उपचार दुई प्रकारले गरिन्छ ः व्यक्तिगत
साइकोथेरापी जसमा रोगको कारण पत्ता लगाई सोही अनुसार उपचार गरिन्छ । सपोर्टिभ साइकोथेरापी ः साथी सङ्गी, परिवार र समाजले गर्ने काम कर्तव्य र सहयोगबारे सिकाइन्छ । तर पनि के देखिन्छ भने यसमा उपचार कम सफल हुन्छ । औषधिको भूमिका पनि यसमा धेरै कम हुन्छ । क्रमशः