• सञ्जय मित्र

हिन्दूहरूले मनाउने मुख्य चाडपर्वमध्ये एउटा दीपावली पनि हो । दीपावलीलाई प्रकाशोत्सवको पर्व मानिन्छ । यस दिन अँध्यारोलाई धरतीमा आउन नदिई उज्यालो बनाइराख्ने मान्यता रहेको छ । आजभोलि दीपावलीको महत्व झन् बढेर गएको देखिन्छ । दीपावली देश र विदेशमा तथा हिन्दू र अन्य धर्मावलम्बीले पनि मनाउन थालेको देखिन्छ । दीपावलीको लागि सबैतिर तयारी गरिएको हुन्छ तर जहाँ छठ पबनी हुन्छ, त्यहाँ दीपावलीको तयारी अत्यन्त विशिष्ट हुन्छ । दीपावलीको दिनसम्म छठ पबनी मनाइने घरपरिवारमा वास्तवमा महिलालाई फुर्सदको कुनै गुन्जायस रहँदैन । महिलालाई नै फुर्सद नहुने एउटा कारणमध्ये लक्ष्मीपूजा हो । लक्ष्मी भन्नु चाहिं घरकी महिलालाई नै बुझ्ने गरिन्छ । दीपावली महिलाको पर्व हो । जुन घरमा महिला हुँदैनन्, त्यस घरको दीपावली कस्तो होला ? यसैबाट सामान्य अनुमान लगाउन सकिन्छ ।

भनिन्छ, दीपावलीमा दुई पर्व छन् रे । कार्तिक कृष्ण पक्षको अन्तिम दिन अर्थात् औंसी विभिन्न सम्प्रदायमा अनेक किसिमले विशिष्ट महत्व राख्दछ । निकै लामो सभ्यता भएको हिन्दू अर्थात् सनातन समाजमा यस दिनलाई विशेष पर्वको रूपमा मनाइनु स्वाभाविक छ । सत्ययुगदेखि हालसम्म सनातन धर्ममा धेरै किसिमका कामहरू भएका कारण काम गर्ने व्यक्तिको सङ्ख्या पनि ठूलो छ । अनेक देवीदेवताको विशिष्ट कार्यले यो संस्कृतिले विस्तार पाएको हो । यसै परिवेशमा यो मान्ने गरिन्छ कि दीपावली र लक्ष्मीपूजा एकै दिन हुने गरेको भए पनि वास्तवमा दुई पर्वहरूको संयोगको दिन हो । दुई ठूला पर्वहरू एक साथ जोडिन पुग्नु अद्भूत संयोग हो र यही संयोगका कारण यस पर्वले झन् विशिष्टता पाएको हो । अर्थात् दीपावली र लक्ष्मीपूजा एकै दिन एक साथ सम्पन्न हुने दुई महान् सांस्कृतिक उत्सव हुन् ।

फरक–फरक मान्यता रहेको दीपावली र लक्ष्मीपूजामध्ये लक्ष्मीपूजा जेठो पर्व हो । यसको पछाडिको मिथक लक्ष्मीको जन्मसित रहेको देखिन्छ । भनिन्छ, धनकी देवी लक्ष्मीको जन्म यसै दिन भएको हो । लक्ष्मीको उत्पत्ति वा जन्म समुद्रबाट भएको हो । देवासुर सङ्ग्रामको क्रममा समुद्र मन्थन हुँदा निक्लेका चौध रत्नमध्ये एक लक्ष्मी हुन् । लक्ष्मीलाई भगवान् विष्णुले ग्रहण गरेका छन् । यसैले भगवान् विष्णुको पनि यस दिन पूजा गर्ने चलन छ । यस दिन कुबेरको पनि पूजा गरिन्छ । यो मान्यता रहेको छ कि धनका देवता कुबेर हुन् । यद्यपि सर्वसाधारणले सबैभन्दा बढी लक्ष्मीको पूजा गर्दछन् । यसैले यस दिनलाई लक्ष्मीपूजाको दिनले पनि जानिन्छ । लक्ष्मीपूजा र दीपावली पर्याय दिनको रूपमा लिइए पनि उत्सवको रूपमा दीपावली र पूजाको रूपमा लक्ष्मीपूजा हुने गर्दछ ।

धनको चाहना धेरै मानिसमा हुन्छ । धनकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको पूजा गरेर दुवैलाई खुशी पार्नु पनि धनका प्रियहरूका लागि स्वाभाविक हो । धन मन नपराउने को होला ? भनिन्छ, धन देखेर महादेवका पनि तेस्रो नेत्र खुलेका थिए रे । यो उखानमा मात्र हुनुपर्छ । आजभोलि धनको पछाडि सबै कुदेका वा धनको विरोध गरेर पनि धन कमाउनेहरूको सङ्ख्या बढी रहेकोले धनको पूजा गर्ने अर्थात् धनकी देवीको पूजा गर्ने समाज हुनु स्वाभाविक हो । यस दिन धनकी देवीको प्रतीक मानेर धनकै पनि पूजा हुन्छ । धनको पूजा अर्थात् घरमा भएको सुन, चाँदी, गरगहना र रुपियाँ–पैसाको पनि पूजा हुन्छ । कुनै जमानामा धनको प्रतीक मानिने गाईको पूजा पनि हुन्छ । गर्नेहरूले धनको नाममा आफूसित जेजे छ, ती सबैको पूजा लक्ष्मीको प्रतीक मानेर गर्दछन् ।

अनि दीपावलीको सन्दर्भ १ हुनत पहिले दीपावली गरिन्छ । दीपावली साँझमा गरिन्छ । साँझ दीपावली गरिनुको कारण हो कि यस दिन मानिसले आफ्नो घरमा अँध्यारोले प्रवेश नपाओस् भन्ने कामना गर्दछन् । अहिले मानिसमा रहेको विश्वास यो हो कि लक्ष्मीलाई अँध्यारो मन पर्दैन । विश्वासको त कुनै सीमा हुँदैन । दीपावलीको चलन कहिलेदेखि चल्यो ? यस विषयमा निकै प्रसिद्ध एउटा मिथक छ । भगवान् राम बाह्र वर्षको वनवास पूरा गरेर यसै दिन अयोध्या फर्केका थिए । रामले लङ्कामा रावणमाथि विजय प्राप्त गरेर अयोध्या फर्केको दिन सबैतिर खुशीयाली मनाइनु अत्यन्त स्वाभाविक लाग्दछ । रामको स्वागतमा आफ्नो उत्साह र खुशी प्रकट गर्न हरेक घरले दियो बालेको थियो । बाटो र घर सबै सजाएको थियो । यही उत्सव दीपावली बनेर कालान्तरमा सर्वत्र फैलियो ।

धेरैले धनकी देवी लक्ष्मीको बाटो आफ्नो घरतिर बनाउन सडकदेखि घरको द्वारसम्म दुईतर्फी दियो बालेर लहरै राख्न थालेका छन् । जहाँ समुद्र मन्थन भएको थियो, त्यहाँ यसरी दीपावली गरिन्छ कि गरिन्न तर धनकी देवी लक्ष्मीको पूजा सर्वत्र गरिन्छ । दीपावली सर्वत्र मनाइन्छ । र, जहाँ पहिलो पटक दीपावली गरिएको विश्वास रहेको छ, त्यहाँ अयोध्यामा, अहिले हरेक वर्ष दीपोत्सव गरिन्छ । प्रदेश सरकारको तर्फबाट विशेष उत्सव नै हुन्छ । यस दिन हरेक वर्ष कति दियो बाल्ने भनेर पहिले नै निश्चित गरिन्छ र गत पाँच वर्षदेखि दियोको विश्व रेकर्ड कायम भइरहेको छ । गत वर्ष एक्काइस लाख दियो बालिएर विश्व रेकर्ड कायम गरिएकोमा यस वर्ष चौबीस वा पच्चीस लाख दियो बाल्ने काम हुँदैछ । अयोध्याका विभिन्न ठाउँमा दीपावलीसित सम्बन्धित अनेक औपचारिक कार्यक्रमहरू हुँदैछ ।

अयोध्या राम जन्मभूमि हो भन्ने मान्यता स्थापित भइसकेको छ । रामको जन्मभूमिमा पहिलोचोटि दीपावली गरिएको विश्वास फैलँदो छ । यो त्रेतायुगको सन्दर्भ हो र लक्ष्मीपूजाले सत्ययुगको सन्दर्भलाई समेट्दछ । राम जन्मभूमिले दीपावलीको सन्दर्भलाई स्थापित गरेको छ भने दीपावलीले लक्ष्मीपूजाको महत्वलाई अझ विस्तार गरेको छ । मानिसहरू धनप्रति कति आसक्त छन् भन्ने कुरा लक्ष्मीपूजा र दीपावलीको दृष्टान्तले पनि पुष्टि गर्दछ । देवासुर सङ्ग्रामको क्रममा समुद्र मन्थन भएको ठाउँ, जहाँ धनकी देवी लक्ष्मीको जन्म भएको थियो, कहाँ छ भनेर प्रायः मानिसले खोजी गर्दैन । मानिसलाई धन चाहिएको छ र जहाँबाट भए पनि लक्ष्मी त्यस दिन मेरो घरमा आइदिए हुन्थ्यो भन्ने कामना गरिरहेका हुन्छन् । विनती र प्रार्थना गरिरहेका हुन्छन् । कतिपयले त घरमा बाहुन बोलाएर विधिपूर्वक धनकी देवी लक्ष्मी र देवताहरूका कोषाध्यक्ष वा अर्थमन्त्री मानिएका कुबेरको पूजा गर्दछन् । दिनभर उपवास बसेर कतिपयले आफैंले आफ्नो विवेक र दक्षताले विधिपूर्वक पूजा गर्दछन् ।

जान्नेहरू भन्दछन्, दीपावली साँझमा र लक्ष्मीपूजा राति हुन्छ । साँझ दीपावली गरेर त्यसपछि साइत अनुसार लक्ष्मीपूजा गर्ने चलन छ । उज्यालो घरमा लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यताले पहिले घरमा दियो बाल्ने अनि त्यसपछि पूजा गर्ने प्रवृत्ति बढिरहेको छ । कतिपय घर परिवारमा पहिले घरमा लक्ष्मीको पूजा गरिन्छ अनि घरको दियो सबैतिर बालेर लैजाने गरिन्छ । अझै पनि ग्रामीण विश्वासमा साँझको समयलाई लक्ष्मीको समय मानिन्छ । साँझको समय लक्ष्मीको समय हो र साँझमा लक्ष्मीको आगमन हुन्छ । यस कारण साँझमा लक्ष्मीपूजा स्वाभाविक रूपले हुन्छ । लक्ष्मीको रूपमा धनको पूजा गरिने भएकोले आफूलाई समृद्ध बनाउने जे जे प्रतीक छन् अर्थात् जे जे आर्थिक समृद्धिका प्रतीक छन्, ती सबैको पूजा गर्नु मान्य भइसकेको छ । यसै कारण कतिपयले यस पर्वको आलोचना गर्दै पूँजीको पूजा पनि भन्ने गर्दछन् । वास्तवमा हरेक व्यक्ति जो लक्ष्मीपूजा गर्दछन्, वैयक्तिक आर्थिक सम्पन्नताका पक्षधर हुन् ।

सन्दर्भ र परिवेश अनुसार धनसँगै अन्य पूजा पनि हुन्छ । धनको आफ्नो सीमा होला तर श्रद्धा र आस्थाको सीमा हुँदैन । इच्छा र चाहनाको कुनै सीमा हुँदैन । कल्पनालाई छेक्ने कुनै बन्धन हुँदैन । असीम दियोको जगमगले मानिसका हरेक अँध्यारा कुनामा उज्यालो पुगोस् र त्यहाँ कहिल्यै अँध्यारोले चियाउने मौका नपाओस् । उज्यालोको पर्वले जीवनलाई उज्यालो पारोस् । उज्याला कर्मले यस समाजको सम्पूर्ण क्षेत्र उज्यालो बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु । शुभ होओस्, सबैका लागि यो दीपावली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here