सुग्रीव साह, भिस्वा, २३ कात्तिक/
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको आठ वर्ष भइसक्दा पनि संविधान कार्यान्वयनको लागि कानून बन्न नसकेकोमा दुःखेसो पोखे ।
उनले संविधान जारी भएपछि सोको कार्यान्वयनका लागि कानून बन्नुपर्नेमा अहिलेसम्म कानून बन्न नसकेको बताए । अध्यक्ष यादवले ३४ वर्षअगाडि नेपालमा रहेका उद्योगहरू कौडीको भाउमा बिक्री भएका र लाखौं जनता बेरोजगारी हुनुपरेको बताए । उनले वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, भृकुटी कागज उद्योग, विराटनगर जुट मिल, गोरखकाली रबर उद्योगलगायत उद्योगहरू बन्द हुँदा लाखौं जनताको रोजगार गुमेको र अहिले मधेस, पहाड, हिमालबाट वैदेशिक रोजगारको लागि मासिक पाँच हजार युवा विदेशिरहेका बताए ।
उनले वैदेशिक रोजगारमा मात्र अहिले ७० लाख युवा बाहिरिएका र स्वदेशमा रोजगारको वातावरण सिर्जना गर्न नसक्नु दुःखद भएको बताए ।
जसपा छिपहरमाई गापा अध्यक्ष इन्द्रासन साह कानूको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका उपाध्यक्ष सुशील यादव, पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दी, मधेस प्रदेशका मन्त्री सिंगासन साह कलवार, जिल्ला अध्यक्ष रामनरेश यादव, वीरेन्द्र महतो केवट, समसुल हक मियाँ तेली, सचिव तबरेज अहमदलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टी अध्यक्षको कार्यक्रम बहिष्कार
जनता समाजवादी पार्टी, पर्साले छिपहरमाई गाउँपालिकाको टिहुकीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक पक्ष उपस्थित भएन । पार्टी केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यमा शुरू भएको पार्टी प्रवेश कार्यक्रममा एउटा पक्ष उपस्थित नहुनुको कारण भने जिल्लामा दुईवटा जिल्ला कार्यसमिति हुनु हो ।
एउटा समितिको अध्यक्षता रामनरेश यादवले गर्दै आएका छन् भने अर्काे समितिको नेतृत्व सिंगासन साह तेलीले गर्दै आएका छन् । जिल्ला अध्यक्ष यादवमाथि विभिन्न आरोप लगाएर तेलीको अध्यक्षतामा समानान्तर कमिटी विस्तार भएपछि जसपा पर्सामा विवाद चुलिंदै आएको छ ।
दुवै समूहको झगडा मिलाउन प्रदेश कमिटीले कार्यदल बनाएको छ तर सो कार्यदल गठन भएको महीना दिन बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । अहिले जसपा पर्साको यादव अध्यक्ष रहेको समितिलाई पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी र प्रदेश मन्त्री सिंगासन साह कलवारको समर्थन छ भने साह नेतृत्वको समानान्तर समितिलाई जसपाका प्रमुख सचेतक सांसद प्रदीप यादवको समर्थन छ ।