प्रस, वीरगंज, २३ कात्तिक/
सीमामा तस्करी गराएको भन्दै सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट मिर्जापुरका सशस्त्र प्रहरी निरीक्षक केशव सुवेदीमाथि छानबीन शुरू भएको छ ।
सप्रनि सुवेदीलाई पोस्टबाट फिर्ता बोलाइ सशस्त्र प्रहरीको १३ नं गणमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए । सशस्त्र प्रहरी प्रदेश कार्यालय, बर्दिबासबाट सप्रउ राजु श्रेष्ठको नेतृत्वमा गठन भएको छानबीन टोलीको स्थलगत अनुगमनपछि सप्रनि सुवेदीमाथि कारबाही हुने/नहुने सप्रउ कर्माचार्यले जानकारी दिए ।
बुधवार बिहान भारतबाट धान बोकेका चारवटा ट्याक्टर मिर्जापुरको भेडिहर्वा गाउँ भएर नेपाल भित्रिएको भन्दै सशस्त्र प्रहरीको प्रदेश कार्यालयले थाहा पाएपछि पक्राउ गर्न भिस्वा पोस्टका सप्रनि छविदर लामीलाई पठाएपछि विवाद शुरू भएको हो ।
सीमामा रहेका धान तस्करहरूले प्रदेशबाट सशस्त्रको थप टोली आएको भन्दै धान लोड चारवटा ट्याक्टर भारततर्फ फर्काउने क्रममा एउटा ट्याक्टर भिस्वाको पोस्टले नियन्त्रणमा लिएको थियो ।
धान तस्करको उक्त ट्याक्टर मिर्जापुर पोस्टले रकम लिई छाडेको थियो भने भिस्वा पोस्टले माथिको आदेश भन्दै रोकेको थियो । त्यसपछि प्रमाण लुकाउन मिर्जापुर पोस्टका इन्चार्ज सप्रनि सुवेदीले स्थानीयलाई उक्साइ सबै धान लुट्न लगाएको आरोप छ । घटनाको यथार्थ अनुसन्धान गर्न छानबीन टोली गठन गरिएको हो ।
स्थानीयले सार्वजनिक गरेको भिडियोमा भेडिहर्वा गाउँका महिला, पुरुषहरूले टेलरमा लोड गरिएका धानका बोरा झार्न बन्चरोले डोरी काटिरहेका र धानका बोरा ओसार्दै लगिरहेका देखिन्छ । स्थानीयले धानका बोरा आआफ्नो घरमा लगिरहेका थिए ।
धान लोड ट्याक्टर बरामद गर्न पुगेको टोलीले प्रमाणस्वरूप ट्याक्टरको टेलर बरामद गरेको छ । स्थानीयले लुटेका धानका बोरा टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले आफ्नो खेतको धान भएको बताएका थिए ।