• सञ्जय साह मित्र

मानवको दृष्टिकोणले स्वतन्त्रताको खोजी उसको जन्मसँगै भएको विश्वास गरिन्छ । मानिसको उत्पत्ति कहिले भयो भन्नेबारे अनेक मत हुन सक्छ । अध्यात्मवादीहरू भन्छन्–मनुका सन्तान मनुष्य वा मानिस हुन् । ब्रह्माबाट मानिसको सिर्जना भएको हो । अन्य धर्मग्रन्थहरूको विचार फरक हुन सक्छ । विज्ञानले यो मान्यता राख्दछ कि मानवको उत्पत्ति विकासवादी सिद्धान्त अनुसार भएको हो । विकासवादी सिद्धान्तले यो मान्यता राख्दछ कि विभिन्न जीवमा क्रमिक विकास हुँदै आजको मानिसले अस्तित्व पाएको हो । सबै विश्वासले आफ्नो आधार दिइरहँदा सबै विश्वास वा आधारमा स्वतन्त्रताको एउटा युग सन्निहित रहेको, यस कारण पाइन्छ कि सबै मान्यताहरूले एउटा इतिहास ग्रहण गरिसकेका छन् । जब कुनै विश्वासले इतिहास ग्रहण गर्दछ तब त्यसमा विश्वास गर्नेहरू बिस्तारै आआफ्नै उच्च मान्यताले सिंगारिन थाल्दछन् ।

मानव स्वतन्त्र छ । मानव स्वतन्त्र छ ? मानव कति स्वतन्त्र छ ? मानव कसरी स्वतन्त्र छ ? मानवको स्वतन्त्रता सापेक्ष छ कि निरपेक्ष ? यस्ता प्रश्नहरू अनेक किसिमले मानिसको मनमा उब्जिरहन्छ । यो निकै सजिलो कुरो हो कि मानिसको मनमा प्रश्न उब्जन्छ । प्रश्न उब्जने पहिलो तरीका हो – जिज्ञासा र दोस्रो तरीका हो – अभिमान । यदि जिज्ञासा हो भने प्रश्नले मनमनै उत्तरको खोजी गरिरहेको हुन्छ । एक ठाउँमा उत्तर नपाए अन्यत्र खोजी गर्छ । जबसम्म जिज्ञासा शान्त हुँदैन तबसम्म प्रश्न बनेर बरालिरहन्छ वा एउटा नियति बनिरहन्छ । हो, यसले ज्ञानको क्षितिज फराकिलो पार्छ, अज्ञानको आकाश साँघुरो बनाउँछ । र, अभिमानको कारण मनमा उब्जने प्रश्नले मानिसको अज्ञान वा अन्धकारलाई अगाडि धकेल्न सहयोग गर्छ । प्रश्नकर्तालाई अझ अभिमानी बनाउन सहयोग गरेको हुन्छ । अभिमानी मानिसको स्वतन्त्रताको सीमा अभिमान नै हुन्छ । उसो भए ज्ञानीको स्वतन्त्रताको सीमा के ?

सामान्यतया स्वतन्त्रतालाई राजनैतिक स्वतन्त्रतासित जोडेर अर्थाइएको पाइन्छ । यो अस्वाभाविक होइन । जहाँ राजनैतिक स्वतन्त्रता हुन्छ, त्यहाँ मानव अधिकारको कुरा पनि आउँछ । मानवीय स्वतन्त्रतासित मानव अधिकारको पक्ष पनि नैसर्गिकरूपमा गाँसिएको हुन्छ । यद्यपि मानव अधिकारलाई पनि परिवेश अनुसार परिभाषित नगरिएको होइन । परिभाषा, अर्थ र क्षेत्र व्यापक हुँदाहुँदै पनि मानव अधिकारका जुन आधारभूत पक्षहरू छन्, त्यसमा स्वतन्त्रता पनि एक हो भन्ने रहेको छ । स्वतन्त्रतामा मानिसको पहुँच कति हुन सकेको छ वा कुन किसिमको पहुँचलाई सम्पूर्णतः स्वतन्त्रताको पक्ष मानेर हेर्न सकिन्छ ? कुनै मानिस पूर्णरूपमा स्वतन्त्र हुनु भनेको अन्य सम्पूर्ण मानिसबाट नितान्त एक्लो भई नितान्त एकान्तमा पुग्नु हो ? कि जसलाई कुनै किसिमको अवरोध हुँदैन त्यो मानिस स्वतन्त्र हो ? एउटा परम्परागत तर्क यो पनि छ कि मानिस स्वतन्त्र जन्मन्छ तर जन्मेपछि उसले आफूलाई विभिन्न जन्जीरमा बाँधिएको पाउँछ । कानून, सामाजिक व्यवहार, धर्म, संस्कृति आदि मान्दै गरेर मात्र मानिसले आफूलाई हुर्काउनुपर्ने हुन्छ । यस्ता परिबन्दहरू सीमा हुन् कि स्वतन्त्रताका सहायक ?

हरेक देशमा संविधान छ । हरेक संविधानले मानव अधिकार तथा स्वतन्त्रताको पक्षमा आफ्नो देशका नागरिकलाई अधिकार प्रदान गरेको हुनुपर्छ । संविधानले दिने मानव अधिकार तथा स्वतन्त्रताको अधिकार केवल राजनीतिक भने पक्कै होइन । आफ्नो संस्कृति र परिवेश अनुसार स्वतन्त्रताका आधारभूत पक्षलाई स्वीकार गरेकै हुनुपर्छ । स्वतन्त्रता त मानिसलाई जन्मजात प्यारो हुने कुरो हो तर यसको अर्थ जन्मनासाथ कोही आमाबाट पूर्णरूपमा अलग्गिन सक्छ ? यसकारण स्वतन्त्रतासित पनि केही नैसर्गिकप प्रतिबन्धहरू रहेका छन् जसलाई हामी सीमा मान्न सक्दछौं । स्वतन्त्रता पनि यही सीमाभित्र वा सीमाको सापेक्षतामा मात्र सम्भव छ, होइन भने स्वतन्त्रताको तात्पर्य सापेक्षित स्वच्छन्दता हो, निरपेक्ष उन्मुक्तता होइन ।

आकाशमा उडिरहेको पक्षीको पनि उड्ने सीमा हुन्छ । स्वच्छन्दता नै चराको स्वतन्त्रता होइन वा स्वतन्त्रताले मात्र उसलाई नपुग्न सक्छ । उडिरहन मात्र सक्दैन, कतै न कतै बस्न उसलाई आधार चाहिन्छ । आधारको पनि सीमा हुन्छ । शायद यसैले होला, कोही दम्पती विवाह गरेको केही वर्षसम्म यदि स्वेच्छाले सन्तान जन्माउन चाहँदैन भने उसलाई उसको नजीकको जसकसैले विभिन्न प्रश्न सोधिरहन्छ । कोही दम्पती सन्तान नै नजन्माउन पाउनु उसको स्वतन्त्रता त हो नि तर यो स्वतन्त्रताको पनि सीमा हुँदैन र ? कोही दम्पती स्वतन्त्र छ भन्दैमा कति सन्तान जन्माउने ? यसको लागि पनि दम्पतीले अहिले परिवेशमाथि विचार गर्न थालेको छ । अबको परिवेशले यसको उत्तर कसरी दिइरहेको छ ? मनोविज्ञान र तिनको पेशाले कस्तो जवाफ दिइरहेको छ, त्यसमा निर्भर हुन थालेको छ । अर्थात् सबै कुरा सापेक्ष हुन्छ, निरपेक्ष ज्यादै कम । यस कारण स्वतन्त्रताको सवालमा पनि यो सापेक्षता निर्भर हुन्छ । अहिले पनि साँझ वा रातको बेला छोरी मानिसलाई पाँच किलोमिटरको बाटो एक्लै जानु छ भने तिनका अभिभावकले सयचोटि सोच्ने अवस्था छ, तर यही कुरो छोरा मानिसको सवालमा ज्यादै कम हुन्छ । यस प्रकारको परिस्थितिजन्य बाध्यताले स्वतन्त्रताको मापदण्डलाई कति  सीमित बनाइदिन्छ ।

यदि कसैले धर्म परिवर्तन गर्दछ भने यो कुरा बुझ्न सजिलो छैन कि ऊ कुन वंशको भयो ? कि ऊ आफ्नो वंशको प्रथम नागरिक भयो अर्थात् सम्पूर्णतः स्वतन्त्र भयो ? कोही कसरी पूर्णरूपमा निरपेक्ष स्वतन्त्र हुन सक्छ ? आमा बुवा, आफन्त, समाज र परिवेश सबै त हुन्छ, मान्छेको । यिनीहरूविनाको स्वतन्त्रता कि यिनीहरूसमेतको स्वतन्त्रता ? अनि स्वतन्त्रताले दिने अर्थ के हो ? कुनै प्रकारको ‘शासनिक बाधा, बन्धन आदि नभई उचित कार्य र व्यवहार गर्न पाउने अधिकार वा स्वातन्œय’ स्वतन्त्रता शब्दको कोशीय अर्थ रहेको छ । स्वतन्त्रताको यस अर्थले पनि अनेक सीमा तोकेको छ । कुनै प्रकारको शासनिक बाधा वा बन्धन नहुने परिवेशमा उचित कार्य र व्यवहार गर्न पाउने अधिकार भनेको छ । जे मन लाग्यो र जसरी मन लाग्यो त्यो गर्नु उचित हुन सक्दैन । कार्यको औचित्य हुुनुपर्छ । मनलाग्दो स्वच्छन्दता उचित हुन सक्दैन । उचित कार्य र व्यवहारले अरूलाई अनुचित पर्न नदिने वातावरणको माग गर्दछ । आफू उचित गरेको मान्ने र अरूलाई अनुचित लाग्ने हो भने अरूलाई अनुचित लागेको अंशसम्म अरूको स्वतन्त्रतामा बाधा उत्पन्न गरेको हो । यसका केही मापदन्ड वा सीमा छन्, अर्थात् स्वतन्त्रताले स्वाभाविकरूपमा, जन्मजातरूपमा, नैसर्गिकरूपमा सीमा तोकेर अर्थबोध दिएको हुन्छ ।

स्वतन्त्रताको विपरीत भाव ‘अस्वतन्त्रता’ हो जसले स्वतन्त्रताको अभाव, परतन्त्रता वा पराधीनता भन्ने अर्थ दिन्छ । स्वतन्त्रताको तुलना परतन्त्रता वा अस्वतन्त्रतासित गर्न सकिंदैन । त्यो कथा धेरै लोकप्रिय रहेको छ जसमा दुई कुकुर दुई देशबाट फर्किरहेका थिए निराश भएर जसको भेट दुई देशको सीमामा हुन्छ । एउटाले आफ्नो निराशाको कारण बताउँछ खान पाउने तर भुक्न नपाउने अवस्था र अर्कोले निराशाको कारण बताउँछ भुक्न पाउने तर खान नपाउने । एकले अर्कोलाई सम्झाउँछन् कि तिम्रो अवस्था राम्रो छ । हो, स्वतन्त्रता अत्यन्त प्यारो हुन्छ र हामी नेपाली त गर्वले भन्ने गर्दछौं – धरतीको जन्म भएदेखि र पृथ्वीमा राज्यको अवधारणा आएदेखि नेपाल स्वतन्त्र छ, कसैको कहिल्यै गुलाम नभएको देश नेपाल हो । विश्वको इतिहासमा पनि यस कुराको पढाइ हुन्छ । हामी साँच्चीकै स्वतन्त्र छौं, जन्मजात स्वतन्त्र छौं । यसैले स्वतन्त्रताबारे कसैले नेपालीलाई सोध्यो भने नेपालीले जति स्वतन्त्रताको मूल्य अरू कसैले बखान गर्न सक्दैन होला । स्वतन्त्रताको उपयोग हामीले गरिरहेका छौं ।

अब स्वतन्त्रताको सीमा कति भन्ने विषयमा पनि हामीले गम्भीर हुनुपरेको छ । हामी, हरेक व्यक्ति, व्यवहारमा पनि निकै स्वतन्त्र भइसक्यौं कि ? ‘मेरो व्यक्तिगत स्वतन्त्रता मेरो वा मेरो परिवारको लागि कति फलदायी छ’ यसरी पनि विचार गरौं । एउटा सामान्य बालक यदि म विद्यालय जान्नँ भन्दछ र यसमा कसैको दबाब सहन तयार छैन, म स्वतन्त्र छु भन्दछ वा विद्यालय गएर पनि म पूर्ण स्वतन्त्र नागरिक हुँ, त्यसैले विद्यालयको कुनै अनुशासन वा आचारसंहिता मान्दिनँ भन्न थाल्दछ भने उसले स्वतन्त्रतालाई कुन रूपमा बुझेको हुन्छ ? आफ्नो लागि निर्बाध स्वतन्त्रता र अरूको लागि बन्धनैबन्धनको स्वतन्त्रताको कल्पना गर्न सकिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here