प्रस, वीरगंज, २१ कात्तिक/

वीरगंजका साहित्यकार गणेश लाठको एकल कवितावाचन ‘कविता साँझ’ चितवनमा आयोजन गरिएको छ । नारायणी नदी किनार गैंडाकोटमा मङ्गलवFर साँझ गरिएको कार्यक्रममा कवि लाठले आमा शीर्षकको कविता वाचन गरेका थिए । पहिलो चरणमा कवि लाठले चारवटा कविता प्रस्तुत गरे ।

कार्यक्रममा प्रमुख वक्ता निमेष निखिलले गणेश लाठका कवितामा व्यङ्ग्यचेत धेरै भएको बताए । “समसामयिक सामाजिक विषयवस्तुलाई कवि लाठले कवितामा उतार्नुभएको छ,” निखिलले भने, “तर कवि लाठ कविताभन्दा बढी आख्यानमा सक्रिय हुनुहुन्छ ।”

दोस्रो चरणको सुरुआतमा कवि लाठले जिन्दगी शीर्षकको कविता सुनाए । त्यसपछि गाग्रो, भाषा र गीत बिदाइको गरी उनले आठवटा नेपाली भाषाका कविता सुनाए । कार्यक्रममा कवि लाठले मारवाडी र हिन्दी कविता पनि प्रस्तुत गरेका थिए ।

नेपाली लेखक सङ्घ चितवनको आयोजनामा गरिएको कार्यक्रममा कवि लाठले बहुभाषी कविता सुनाएका अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । आमा शीर्षकको कविताबाट वाचन शुरू गरेका उनले बजार शीर्षकको कविता पढेर कार्यक्रमलाई समापन गरेका थिए ।

नेपाली, हिन्दी र मारवाडी भाषामा कविता रच्ने कवि लाठका कवितामा पारिवारिक सम्बन्धका अन्तरद्वन्द्व, खुशीको सापेक्षता तथा व्यापारीका पीडालाई समेटिएको निमेष निखिलले बताए । कवि निमेषले लाठका केही हिन्दी कवितालाई आफूले नेपालीमा उल्था गरेको पनि बताए । उनका अनुसार कवि लाठ काव्यचेत भएका कवि हुन् । निमेषले कवि लाठले विम्बलाई शक्तरूपमा प्रयोग गर्न सक्ने बताए ।

एलबी क्षेत्री, धनराज गिरी, उदय अधिकारी, वीरेन्द्र साह, गणेश श्रमण, रमेश प्रभात, ईश्वर कँडेल, प्रभाकर पण्डित, प्रेम सिग्देल, गायत्री श्रेष्ठ, सरला जोशी, शान्ति शर्मालगायतका कविता पारखीको सहभागिता रहेको कविता साँझ कार्यक्रम नेपाली लेखक सङ्घ चितवनका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here