हाम्रो मुलुकमा हरेक वर्ष दीपावली अर्थात् तिहारमा मात्रै रु १३ करोडदेखि २० करोडसम्मको फूल बिक्री हुने गरेको छ । सोमध्ये करीब दुई करोड रुपैयाँको भारतीय फूल बिक्री हुने गरेको थियो । यो आँकडा बितेको वर्ष तिहारको हो । गत वर्ष तिहारमा मुलुकभर २० लाख माला बिक्री भएकामा तीन लाख माला भारतबाट आयात गरिएको थियो । बजारमा प्रतिमाला सस्तोमा रु ६०–७० र महँगोमा प्रतिमाला रु सयभन्दा बढीमा बिक्री भएको थियो । तिहारमा मात्रै फूल चाहिने होइन । हरेक उत्सव, कार्यक्रम, चाडपर्व तथा पूजापाठ र मृत्यु संस्कारमा समेत फूल चाहिन्छ । वार्षिकरूपमा हेर्ने हो भने फूलको कारोबार ठूलो छ । वार्षिकरूपमा काठमाडौं उपत्यकाभित्र मात्रै गत वर्ष दुई अर्ब रुपैयाँको फूलको कारोबार भएको थियो । सोभन्दा एक वर्ष पहिले एक अर्ब ८५ करोडको कारोबार भएको रेकर्ड छ । हरेक वर्ष फूलको कारोबार बढदो क्रममा छ । मुलुकमा कारोबार हुनेमध्ये ६० प्रतिशत फूलको खपत उपत्यकामा हुने गरेको छ भने ४० प्रतिशत उपत्यकाबाहिरका विभिन्न शहरहरूमा भइरहेका छन् । गाउँघरमा आफैंले उत्पादन गरेर प्रयोगमा ल्याएका र स्थानीय बजारमा बिक्री गर्दा रेकर्डमा नआएका फूलहरूको तथ्याङ्क यसमा छैन । यी सबै जोड्ने हो भने हरेक दीपावलीमा मुलुकभर करीब सात करोड रुपैयाँको फूल खपत हुने अनुमान छ ।

त्यसैगरी, भ्यालेन्टाइन डेको दिन मात्रै करीब एक करोड रुपैयाँको भारतीय गुलाफको फूल तथा स्टिक नेपालमा बिक्री हुन्छ । सोही अनुपातमा नेपाली उत्पादन पनि बिक्री भइरहेका छन् । प्राकृतिक फूलबाहेक कागजको अर्थात् नक्कली फूलको बजार पनि नेपालमा ठूलो छ । सक्कली फूलको अभाव अर्थात् महँगीमा नक्कली फूलले स्थान पाउने हो । नक्कली फूल अधिकांश आयात गरिन्छ । केही उत्साही कृषक तथा व्यवसायीले फूलखेतीलाई व्यवसाय बनाउन खोजे पनि राज्यसँग फूलखेतीसम्बन्धी नीति नभएकै कारण उनीहरूको लगानी डुब्ने खतरा देखिएको छ ।

हरेक वर्ष फूलहरूमा नेपाली रकम विदेशिने तर नेपाली कृषकका लागि सरकारले कुनै कार्यक्रम नल्याउने गर्दा पुष्प व्यवसायीहरूले सरकारलाई दबाब दिइरहेका छन् । भारतीय पुष्प व्यवसायीले त्यहाँको सरकारबाट आवश्यक सबै किसिमका सहयोग पाइरहेका छन् भने हाम्रो नेपालमा कुनै सुविधा छैन । यसो हुँदा नेपाली पुष्प व्यवसायीले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्नु स्वाभाविक हो । निरन्तर दबाबका बावजूद यस वर्षदेखि भने सरकारले भारतीय फूल आयातमा प्रतिबन्ध लगाएको छ । यही कात्तिक १ गतेदेखि भारतीय फूल आयातमा प्रतिबन्ध लागेको भए तापनि नेपाली बजारमा अझै प्रशस्त मात्रामा भारतीय फूल पाइरहेको छ । फूल लगाउने विधि र तरीका राज्यकै कृषि निकायलाई थाहा छैन । राज्यसँग फूलखेतीका विषयमा विज्ञ छैनन् । हाम्रा नेताहरू मुखै छोपिने गरी गलाभरिको माला, क्वीन्टलको मालाको चाहना गर्छन् । तर उनीहरूमा मालाको खेती गर्ने विधि बनाउने चेत देखिएको छैन । त्यो मालामा कति स्वदेशी मुद्रा विदेशीको छ भन्ने सोच्दैनन् । सङ्घीयदेखि प्रदेश र स्थानीय सरकारले समेत फूलखेतीका प्राविधिक जनशक्ति उत्पादन गर्नेतर्फ चासो देखाएका छैनन् । बजार व्यवस्था गरी प्रोत्साहन गर्नेतर्फ कुनै कार्यक्रम छैन । परिणाम राज्यको ढुकुटी जोगाउन आफैं फूलखेती गर्न तम्सेका व्यवसायीहरूको लगानी डुब्ने सम्भावना देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here