प्रस, वीरगंज, २१ कात्तिक/
यातायात व्यवस्था कार्यालय, वीरगंजमा मङ्गलवारदेखि विद्युतीय सवारी दर्ता प्रणाली (इभिआरएस) प्रणालीबाट सवारी दर्ता शुरू भएको छ । कार्यालय प्रमुख कमल गौतमले सवारी शाखाबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन आजदेखि इभिआरएस प्रणाली प्रयोग गरी अनलाइन दर्ता शुरू गरिएको बताए ।
यसअघि, म्यानुअल प्रणालीबाट सेवाप्रवाह हुँदै आएकामा थुप्रै कमीकमजोरी देखिएका र सोको न्यूनीकरणका लागि विभागले इभिआरएस प्रणाली लागू गरेको उनले बताए । म्यानुअल प्रणालीको कमजोर फाइलिङ व्यवस्थाबाट अभिलेख नभेटिने, नाशिने, फाइल खडा गर्दा प्रक्रियागत कार्य लम्बिने, निवेदन दर्ता, कर तोक्ने, नवीकरण, प्राविधिक परीक्षण, कर दाखिला गर्नको लागि लाइनमा बस्नुपर्र्ने जस्ता झन्झटिला कार्यले गर्दा बिचौलियाहरूको सहयोग लिनुपर्ने बाध्यताले गर्दा सेवाग्राहीहरू ठगिंदै आएकाले इभिआरएस प्रणाली प्रयोगमा ल्याइएको उनले बताए ।
यस प्रणालीद्वारा काम गर्दा फाइल तथा कागजात बोक्नु नपर्ने, फाराम भर्ने झन्ङटबाट सेवाग्राही मुक्त हुने, कम समयमा सेवाप्रवाह गर्न सकिने, प्रत्येक कागजातको स्क्यान गरी अभिलेख रहने हुँदा नष्ट हुने समस्या नहुने, सवारीसाधनको जानकारी लिन इन्जिन नं, चेसिस नं, नागरिकता आदिबाट तुरुन्त प्राप्त गर्न सकिने, अनलाइन राजस्व दाखिला गर्न सकिने हुँदा कार्यालय धाउनु नपर्ने, म्यानुअल प्रणालीजस्तो दोहोरो कर दाखिला हुने सम्भावना नहुने, कर यकीन गराइरहनु नपर्ने र क्युआर कोडसहितको सर्टिफिकेट प्रिन्ट गर्न सकिने हुँदा क्युआर कोड स्क्यान गरी सवारीसाधनका सम्पूर्ण विवरण हेर्न सकिने प्रावधान रहेको उनले बताए ।
उनले सवारी चालक अनुमतिपत्र अनलाइन प्रणालीबाट नवीकरण भइरहे पनि यसमा पनि इडिएलआरएस प्रणाली आगामी दिनमा लागू गरिने बताए । उनले सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तथा बायोमेट्रिक कार्यको लागि मात्र कार्यालयमा उपस्थित हुनुपर्ने, सवारी चालक अनुमतिपत्रका सम्पूर्ण सेवामा लाग्ने राजस्व अनलाइन भुक्तानीको व्यवस्था पनि छिट्टै गर्न लागिएको बताए ।
उनले अनलाइन स्वास्थ्य परीक्ष्Fण, ट्राफिक सिफारिश अनलाइनबाटै हुने र यसो हुँदा लाइसेन्सको प्रतिलिपि, नवीकरणको लागि कार्यालय धाउनु नपर्ने बताए । इडिएलआरएस प्रणाली लागू भएपछि नवीकरण, प्रतिलिपि, फाराम आदि शुल्कका लागि पनि घण्टौं लाममा बस्नु नपर्ने र अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था हुने बताउँदै प्रविधिमैत्री गुणस्तरीय सेवा प्रदान गर्न यातायात अग्रसर रहेको बताए ।
इभिआरएस प्रणालीबारे यातायात कार्यालयले शोरूमका सञ्चालक, प्रतिनिधि, यातायात कर्मचारीलाई दुई दिने तालीम दिएको प्रमुख गौतमले बताए ।