प्रस, वीरगंज, २१ कात्तिक/

मधेस प्रदेशमा भएका दुईवटा हत्याकाण्डको घटनाले प्रदेश कार्यालयदेखि प्रधान कार्यालयसम्म प्रहरीको आलोचना भइरहेको छ ।

जनकपुरमा आरती साह तथा कलैयामा रूपेश सर्राफको हत्याकाण्डको छानबीन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारी तथा सादा पोशाकका प्रहरी जनकपुर र कलैयामा परिचालन गरेको छ ।

समाचार स्रोत अनुसार प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक टोली तथा बाग्मती प्रदेश हेटौंडाका प्रहरी निरीक्षक शोभन रानाको नेतृत्वमा एक दर्जन गरी ५० जनाभन्दा बढी सादा पोशाकका प्रहरी रूपेश सर्राफ हत्याकाण्डको दोषीलाई पक्राउ गर्न कलैयामा खटेका छन् ।

यसैगरी, आरती साह हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालयले तानेको छ । प्रहरी प्रधान कार्यालयले प्रउ खड्कालाई सोमवार जिम्मेवारीबाट हटाएर काठमाडौं तानेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई धनुषा प्रमुखबाट फिर्ता बोलाइएको छ ।

जनकपुर उपमहानगरपालिका–९ थापा चोक निवासी आरती साहको हत्या भएको अवस्थामा जेठ ७ गते घरमा शव भेटिएको थियो । अनुसन्धानमा लापरवाही गरेको भन्दै मृतकका आमा, दिदी र काकीले प्रहरी उपरीक्षक खड्काविरुद्ध प्रदर्शन गर्दै अहिले काठमाडौंमा धर्नामा बसेका छन् ।

समाचार स्रोत अनुसार गएराति छौडादानो क्षेत्रबाट कलैया प्रहरीले  एकजना शङ्कास्पद भारतीय अपराधीलाई पक्राउ गरेको छ । बारा प्रहरीले शुटर भनेको भारतीय नागरिक मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंहको लोकेशन हिजो रातिसम्म दिल्ली तथा सोही ठाउँ बस्ने २४ वर्षीय चञ्चल पाण्डेको लोकेशन मुम्बई देखाएको प्रहरी स्रोतले बताएको छ ।

सोही ठाउँका २० वर्षीय कामेश्वर सहनी आफू निर्दोष रहेको भन्दै स्थानीय पत्रकारलाई आफ्नै गाउँमा दिएको अन्तर्वार्ताको भिडियो सार्वजनिक भएको छ । उनी पञ्चायत समितिको सदस्य रहेको बताउँदै स्थानीय पत्रकारलाई अन्तर्वार्ता दिंदै बाराका प्रहरी उपरीक्ष्Fक सुरेश काफ्लेको आलोचना गरेका छन् ।

रूपेश सर्राफको परिवारजनले पनि प्रहरीको अनुसन्धानप्रति चित्त नबुझेको भन्दै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै दोषीलाई पक्राउ गरी निर्दोषको रिहाको माग गर्दै प्रदर्शन गर्दै आइरहेका छन् ।

कलैया र जनकपुर हत्याकाण्डको प्रकृति फरक भएपनि दुवै परिवारले प्रहरी अनुसन्धानमाथि प्रश्नचिह्न उठाउँदै आएका छन् । प्रहरीको आलोचना हुन थालेपछि अहिले प्रहरी प्रधान कार्यालयबाट घटनाको  टुङ्गो लगाउने प्रयास भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार कलैया घटना छिनोफानो हुने अवस्थामा छ । प्रहरी नियन्त्रणमा रहेकी विद्यालयकी पूर्वलेखापाल राधा गुप्ताका साथी मनोज गुप्ता फरार छन् भने नेपाली सिम दिने रौतहट निवासी एकजना व्यक्ति र नेपाली नम्बरको मोटरसाइकल उपलब्ध गराउने कोल्हवी निवासी व्यक्ति फरार छन् ।

यता, आरती साहको हत्या प्रकरणमा  संलग्न रहेको आरोपमा पक्राउ परेका आरतीका पति मोतीबाबू साह र ससुरा मदनमोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । आरतीका परिवारजनले भने प्रहरीले मुद्दा कमजोर बनाएको र अनुसन्धानमा लापरवाही गरेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here