बितेको शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । यस भूकम्पमा १५८ जनाले ज्यान गुमाएका र ३५७ जना घाइते भएका सङ्घीय सरकारको गृह मन्त्रालयले जनाएको छ । गत वर्ष डोटीमा ६.६ रेक्टर स्केलको भूकम्प जाँदा छजनाको मात्र मृत्यु भएको थियो । अहिले जाजरकोटमा डोटीको भन्दा सानो ६.४ रेक्टर स्केलको भूकम्प जाँदा यति धेरै मानवीय क्षति भएको छ । २०७२ सालमा गोरखा बारपाक भूकम्पपछि यसपालि जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बढी क्षति पुर्याएको हो । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो भने २२ हजार बढी घाइते भएका थिए । यो भूकम्पपछि सयौं साना परकम्पहरू गएका थिए । यसपटक पनि भूकम्पलगत्तै चार रेक्टर स्केलमाथिका चारवटा परकम्पहरू गइसकेका छन् । चार रेक्टरमुनिका ३११ वटा बढी परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत असोज १६ गते बझाङ नै केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस भूकम्पमा परी बझाङ र बाजुरामा गरी एक/एक जनाको ज्यान गएको थियो ।
गोरखा बारपाक भूकम्प दिउँसोको समय र सार्वजनिक बिदाको दिन परेका कारण बढी ठूलो क्षति हुन पाएन । तर जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार गएको भूकम्प मध्यरातमा गएकाले मानिसहरू ओछ्यानमैं थिए । भूकम्प गएपछि धेरै मानिस घरबाहिर निस्कन सकेनन् । केही मानिसहरू मात्र भागेर ज्यान जोगाउन सफल भए । भूकम्पका कारण प्रायःजसो परम्परागत घर तथा ढुङ्गा, माटोले बनेका कच्ची घरमा बढी क्षति भए । कमजोर भूबनावट, भिरालो जमीन र भूकम्पको केन्द्रबिन्दु बस्तीनजीक भएकाले बढी क्षति भएको हो । विज्ञहरूका अनुसार नेपालको हिमालय क्षेत्र नै भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । जाजरकोटमा गएको भूकम्पमा मानवीय क्षति बढी हुनुको कारण कच्ची घरहरू, रातको समय, जनचेतनाको अभाव र भूकम्पको केन्द्रबिन्दु बस्तीनजीक रहेकाले क्षति बढी भएको अनुमान गर्न सकिन्छ । पश्चिम नेपालमा एक वर्षयता ठूला भूकम्पहरू धेरै गइरहेकाले सावधानी अपनाउँदै भवन तथा पूर्वाधार निर्माण भूकम्प प्रतिरोधी बनाउनुपर्ने थियो । त्यसो हुन नसक्दा बढी मानवीय क्षति भएको हो । डोटी भूकम्पभन्दा जाजरकोट भूकम्पको केन्द्रबिन्दु नजीक रहेकाले पनि बढी क्षति भएको हुनुपर्छ ।
हाम्रो मुलुक नेपाल भूकम्पीय जोखिमले विश्वमैं ११औं स्थानमा छ । पूरै देश भूकम्पको जोखिममा छ । फेरि पनि अन्यत्रभन्दा पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा छ । पश्चिम नेपालमा अझै भूकम्पको जोखिम टरेको छैन । पश्चिम नेपालमा ५२० वर्षअघिदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेला पनि भूकम्प जान सक्ने जोखिम छ । लामो समयदेखि जमीनमा सञ्चित भूकम्पीय शक्तिका कारण पनि एक दिन अवश्य ठूलो भूकम्प जाने निश्चित छ । एकपटक ठूलो भूकम्प गएपछि भने तत्काल ठूलो भूकम्प जाने सम्भावना रहँदैन भन्ने कुरा इतिहासले देखाउँछ । विगतलाई हेर्दा ८० देखि १०० वर्षको बीचमा एउटा ठूलो भूकम्प गएको छ । शक्ति सञ्चय भएर बस्ने र धरातलको सतहले थेग्न नसकेपछि विस्फोट हुने हो । यसरी भूकम्प जाँदा कमजोर तथा भूकम्प प्रतिरोधी क्षमता नभएका संरचनाहरू भत्कनुको विकल्प छैन । यसबाट बच्न भौतिक संरचना बलियो बनाउनुपर्छ । त्यसैगरी, बस्ती विकास गर्नेक्रममा भौगोलिक अध्ययन, माटोको परीक्षण गरेर मात्र संरचनाहरू निर्माण गर्नुपर्छ । यसो भएमा भूकम्पबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।