हाम्रा बाजेबराजुले भन्थे– खाए घ्यू पो लाग्छ जीउ । आयुर्वेदमा पनि शुद्ध घ्यूबारे धेरै कुरा बताइएको छ । रुघाखोकी, कफ, साससम्बन्धी समस्या आदिमा घ्यूको प्रयोग गरिन्छ । जाडोमा घ्यू निकै शक्तिशाली आहार मानिन्छ, किनभने यसले इम्युनिटी बुस्ट गर्छ र भाइरस र साससम्बन्धी समस्याबाट मुक्ति दिन्छ । घ्यूमा प्रचुर मात्रामा चिल्लो पाइन्छ तर यो चिल्लो स्वस्थ हुन्छ र यसबाट कुनै नोक्सान हुँदैन । यसको साथै घ्यूमा अन्य कैयौं प्रकारका पौष्टिक तत्व पाइन्छन् । कम वजन भएका व्यक्तिलाई घ्यू र चना खाने सल्लाह दिइन्छ । बदलिंदो मौसममा आहार पनि बदलिनुपर्छ ।
घ्यूमा मिडियम फैटी चैन भएको फैट हुन्छ, जुन निकै डाइजेस्टिभ हुने गर्छ । जाडोमा मानिस तारे–भुटेको वस्तु बढी सेवन गर्छन्, जसले गर्दा उनीहरूलाई पाचनसम्बन्धी समस्या हुन्छ । तर घ्यूमा पाइने चिल्लो स्वस्थ हुने गर्छ र यसले शरीरलाई न्यानो बनाउँछ । घ्यूमा फैट सोल्युबल भिटामिन ए, डी र ई हुन्छ, जसले हाडको स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । घ्यूमा थुप्रै प्रकारका एन्टिअक्सिडेन्ट्स हुन्छन्, जुन छालाको स्वास्थ्यको लागि निकै राम्रो हुन्छ । तर घ्यूको सेवन सीमित मात्रामा गर्नुपर्छ । एक दिनमा तीन चम्चाभन्दा बढी घ्यू सेवन गर्नुहुँदैन ।
शुद्ध घ्यूलाई रोटीमा लगाएर खान सकिन्छ । हलुका तातो रोटीमा घ्यू दलेर खाँदा यसको फैटी चैन टुक्रिंदैन, जसको कारण शरीरमा निकै फाइदा हुन्छ । तरकारी र दालमा राखेर पनि घ्यू सेवन गर्न सकिन्छ ।