प्रस, वीरगंज, २० कात्तिक/

कलैया उपमहानगरपालिकामा कात्तिक १३ गते गोली हानी हत्या गरिएका रूपेश सर्राफका परिवारजनले प्रहरीको अनुसन्धानमाथि आरोप लगाएका छन् । प्रहरी अनुसन्धानप्रति प्रश्न उठाउँदै सर्राफका परिवारजन र स्थानीयवासीले दिनहुँ कलैयामा विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रहरीले सर्राफको हत्याको आरोपमा पाँचजनालाई सार्वजनिक गरेको दिन सर्राफका परिवारजनले प्रहरी अनुसन्धानप्रति प्रश्न उठाएका थिए । उनीहरूले सर्राफ हत्याको आरोपमा पक्राउ परेका केही व्यक्तिहरू निर्दोष रहेका र हत्याको कारण प्रेमप्रसङ्ग नरहेको दाबी गरेका छन् ।

बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापकसमेत रहेका रूपेश सर्राफको हत्याको आरोपमा विद्यालयका पूर्व लेखाप्रमुख राधा गुप्ता, दुईजना शिक्षक, भारतीय नागरिकसहित आठजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ ।

सर्राफका परिवारजनले रूपेशलाई गोली लागेपछि अस्पताल पुर्याउने विद्यालयका शिक्षकलाई घटनामा संलग्न रहेको भन्दै दोषी देखाएको आरोप लगाएका छन् ।

केही दिनअघि पचरौता नगरपालिकामा भएको भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई रूपेशको हत्यामा जोडेको, प्रमाणविना रूपेशको चरित्र हत्या गरिएको, प्रजिअ तथा प्रहरीको अभिव्यक्ति फरक–फरक रहेको रूपेशका दाइ सुमोदकुमार सर्राफले आरोप लगाए ।

प्रहरीले सार्वजनिक गरेकै दिन रूपेशका परिवारजनले पत्रकार सम्मेलन गरी आठ बुँदे असहमतिपत्र सार्वजनिक गरेका थिए ।

रूपेश सर्राफको हत्यामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार कलैया उपमहानगरपालिका–६ मदर्साटोल बस्ने २२ वर्षीया राधा गुप्ता (पूर्वलेखाप्रमुख), सोही टोल बस्ने ३४ वर्षीय जालिम अख्तर, वडा नं ९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारी, भारत, मोतिहारी पूर्वी चम्पारण थाना घोडासहनको जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार, बहार्वाकाला–१२ बस्ने २३ वर्षीय अभिनवकुमार राजपूतलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

घटनाको मुख्य कारण मृतक रूपेश र राधा गुप्ताबीच विवाहेत्तर प्रेम सम्बन्ध र इबी रहेको प्रहरीले जनाएको छ ।

राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग (विवाहित) पनि प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र मृतक रूपेशबीच पटक–पटक विवाद भएको र त्यसपछि हत्या गरिएको प्रहरीले जनाएको छ । तर परिवारजनले प्रहरीले घटनालाई अतिरञ्जित बनाएर हत्यारालाई मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

शुटरसँग प्रहरीको उठबसको आशङ्का

रूपेशको हत्या गर्ने बारा प्रहरीद्वारा दाबी गरिएका भारतीय सार्पशुटर भारत, मोतिहारी जिल्ला दरपा थाना १ सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनीषकुमार सहनी, २० वर्षीय कामेश्वर सहनी अझैंसम्म पक्राउ परेका छैनन् । उनीहरूले यसअघि असोज ९ गते नेपाल–भारत सीमाभन्दा सात सय मिटर दूरीमा पचरौता नगरपालिका–६ लक्ष्मीनिया पोखरीको डिलमा भारतीय नागरिक २२ वर्षीय अजितकुमार सिंहको गोली हानी हत्या गरेका थिए । अजितको हत्यारालाई पक्राउ गर्न नसकेको बेला पुनः शुटर समूहले रूपेशको हत्या गर्दा बारा जिल्लाको शान्ति सुरक्षाप्रति कलैयावासीले प्रश्न उठाएका छन् ।

काउन्टर पार्टसँग राम्रो सम्बन्ध भएपनि बारा प्रहरीले सिंहलगायत अन्य अपराधीहरूलाई तह नलगाएर निर्दोष व्यक्तिलाई फसाएको आरोप लगाइएको छ । शुटरहरू पक्राउ नपर्दा कतै फेरि उनीहरू नेपाल प्रवेश गरेर कुनै अप्रिय घटना घटाउन सक्ने भनी कलैयावासी त्रसित छन् । अहिले कलैयामा शान्ति सुरक्षा नभएको भन्दै बजार साँझ सुनसान हुने र मानिसहरू चाँडै घर पुग्ने गरेका एकजना स्थानीयवासीले बताए ।

समाचार स्रोत अनुसार बाराका सादा पोशाकका प्रहरीसँग शुटरहरूको समन्वय रहेकाले उनीहरूले बारामा फिरौती उठाउने र हत्यासम्म गर्ने गरेका छन् । लामो समयदेखि शुटरहरूको समूहले बारा तथा रौतहटलाई आफ्नो क्रिडास्थल बनाएको प्रदेश प्रहरी कार्यालय, जनकपुरलाई थाहा भएपनि अपराधी पक्राउ नपर्नुमा प्रहरीसँग उनीहरूको साँठगाँठ रहेको हुन सक्ने स्रोतले बताएको छ ।

भारतमा बाराका प्रउ काफ्लेको पुतला दहन

भारत, बिहार पूर्वी चम्पारण तीनकोनिया छौडादानोमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेको आज पुतला दहन गरिएको छ । सयौंको सङ्ख्यामा महिला तथा पुरुषहरूले पुतला जलाउँदै निर्दोष व्यक्तिलाई फसाउने प्रउ काफ्लेविरुद्ध नाराबाजी गरेका थिए ।

कलैया–६ मदर्साटोलमा कात्तिक १३ गते भएको सर्राफको हत्याकाण्डमा छौडादानो, तीनकोनिया निवासी कामेश्वर सहनीको नाम जोडिएपछि गाउँलेहरूले प्रउ काफ्लेको पुतला जलाएका हुन् । सहनी ग्राम पञ्चायतका पूर्वसदस्य रहेको र उनले घटनाको दिन अन्यत्र रहेको तबाही न्यूज डटकममा अभिव्यक्ति दिएका थिए । बारा जिल्लामा कुनै घटना हुँदा उनीलगायत चारजना युवकको नाम जोड्ने बारा प्रहरीसँ आफूहरूको नाम हटाउन माग गरेका छन् ।

भोलि रक्सौल र मोतिहारी थानामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको आन्दोलनमा सहभागी एकजनाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here