प्रस, वीरगंज, २० कात्तिक/

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मालपोत कार्यालय, पर्साको रजिस्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व नियम अनुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध रु दुर्ई करोड नौ लाख ३१ हजार ६४७ बिगो दाबी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध रु एक करोड ४९ लाख ६९ हजार १४५, मालपोत अधिकृत गोपालबहादुर ढुङ्गानाविरुद्ध रु ३५ लाख ४५ हजार ९५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध रु १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको मागदाबी गरेको छ ।

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध रु दुर्ई लाख ४४ हजार ४६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध रु एक करोड ४१ लाख ४७ हजार १७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध रु पाँच करोड ५५ लाख १९ हजार ९७५ बराबरको बिगो र कैद मागदाबी गरिएको आयोगले जनाएको छ । किरण उपाध्यायको मृत्यु भइसकेको र मृत्युपछि हक खाने छोराहरूले बिगो तिर्नुपर्ने बताइन्छ ।

आरोपी सबैलाई कारबाईको माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here