विषाक्त धूवाँका कारण भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू केही दिन बन्द गरिएका छन् । विषाक्त धूवाँले नयाँ दिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धूवाँ, सवारीसाधनबाट निस्कने धूवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा नयाँ दिल्लीलाई घातक धूवाँले ढाक्ने गरेको छ । अनुगमनकर्ता संस्था आइक्यूएयरका अनुसार बितेको शुक्रवार पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा दैनिक ३५ गुणा बढी थियो । कुनै पनि ठोस, तरल र ग्याँस पदार्थहरू हाम्रो वायुमण्डलमा हुनुपर्नेभन्दा अलि बढी मात्र भयो र त्यसले स्वास्थ्यमा असर गर्छ भने त्यो वायु प्रदूषण हो । पिएम भनेको पार्टिकुलेट म्याटर अर्थात् मसिना कणहरू हुन् । पिएम २.५ माइक्रोनभन्दा मसिना कणहरू हाम्रो शरीरको भित्री भागसम्म पनि जान सक्छ । पिएम १० माइक्रोनभन्दा सानो हो, त्यो हाम्रो नाकबाट भित्र छिर्दैन । नाकको रौंले त्यसलाई रोक्छ । स्वास्थ्यमा दीर्घकालीनरूपमा असर गर्ने भनेको मसिना कणहरूले हुन् । हाम्रो कपालको मोटाइ करीब ६० माइक्रोन हुन्छ । २.५ माइक्रोन भनेको कपालको मोटाइभन्दा २५ गुणा सानो हुन्छ । ती कणहरू शरीरभित्र गएपछि फोक्सोसम्म जान्छ । एकदम मसिना ती कणहरू फोक्सोबाट पनि रक्तसञ्चारमा जान सक्छ । त्यसैले वायु प्रदूषणले असर नगर्ने कुनै अङ्ग वा प्रणाली छैन ।
सामान्यतया हावामा नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड हुन्छ । यो एउटा कम्पोजिसनमा मिलेर बसेको हुन्छ । यसको सन्तुलन बिग्रनु नै वायु प्रदूषण हो । भारतको नयाँ दिल्लीमा वायु प्रदूषित हुँदा त्यसको असर नेपालसम्म आइपुग्ने गरेको छ । हाम्रो मुलुक पनि वायु प्रदूषणले आक्रान्त मुलुक हो । त्यसमा पनि भारतको प्रदूषण थपिंदा थप समस्याको सामना गरिरहनुपरेको छ । वायु प्रदूषणबाट सिर्जित रोग तथा समस्याका कारण नेपालमा वार्षिक सरदर ४० हजारजना सर्वसाधारणको ज्यान गइरहेको अनुसन्धानकर्ता संस्थाहरूको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा सबैभन्दा बढी वायु प्रदूषण मधेस प्रदेशमा देखिएको छ । अमेरिकाको युनिभर्सिटी अफ सिकागोले दुई वर्षअघि सेटेलाइट माध्यमबाट गरेको अध्ययन अनुसार मधेस प्रदेश बढी प्रदूषित भएको रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निर्धारण गरेको मापदण्ड अनुसार वायुमण्डलमा पिएम २.५ को स्तर वार्षिक सरदर पाँच माइक्रोग्राम प्रतिघनमिटर तोकिएकोे छ । नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ । युनिभर्सिटी अफ सिकागोको रिपोर्टमा मधेस प्रदेशका जिल्लाहरूमा न्यूनतम ६८ देखि ८१.७ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को स्तर पाइएको छ । काठमाडौं उपत्यकाको प्रदूषण मधेसको भन्दा बढी छ । प्रदूषणको मात्रा हिउँद महीनामा झन वृद्धि हुन्छ । त्यसैगरी, डढेलोको मौसममा पनि तराई–मधेस क्षेत्रमा पिएम २.५ को स्तर उच्च हुने गरेको छ । नेपालको संविधानले निर्दिष्ट गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारलाई नागरिकले उपभोग गर्न पाएका छैनन् । प्रदूषण नियन्त्रणमा नीतिगतदेखि कार्यान्वयन तहसम्मको फितलोपन र हचुवापनले मलजल हुँदै आएको छ । वायुको गुणस्तरबाट परिरहेको असरलाई समयमा नै सम्बोधन गर्न आवश्यक नीति, योजना र प्राथमिकतामा आधारित रहेर उपयुक्त कार्यक्रमको खाँचो देखिएको छ ।