प्रस, वीरगंज, १८ कात्तिक/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकूदको विकासका लागि महानगर सदैव तत्पर रहेको बताएका छन् ।
वीरगंजको आदर्शनगर रङ्गशालामा शनिवारदेखि शुरू भएको मधेस प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फूटबल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सिंहले वीरगंजलाई फूटबलको क्षेत्रमा पुरानै लयमा फर्काउने प्रतिबद्धता जाहेर गरे । उनले हाल वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरको खेलमैदान बनिसकेको बताउँदै नारायणी रङ्गशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित पारिने बताए । उनले नारायणी रङ्गशालाको पुनर्निर्माण कार्य भएको र अब त्यसमा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सकिने बताए । उनले सबैको साथ र सहयोग भए वीरगंजमा फूटबलको पुरानो लय कायम गर्ने दाबी गरे । आज भएको उद्घाटन खेलमा आयोजक भेट्रान्स सिटी क्लब, वीरगंज विजयी भएको छ ।
भारत नोएडाको एफसीआई नर्थ जोन फूटबल क्लबलाई ट्राइबेकरमा एकका विरुद्ध चार गोलअन्तरले पराजित गर्दै आयोजक भेट्रान सिटीले जीतको सुरुआत गरेको हो । प्रतियोगितामा नेपालका पाँच र भारतका दुईवटा टीम गरी सातवटा टीम सहभागी छन् । कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजयीलाई रु ११ लाख ११ हजार ११ सय र उपविजेतालाई पाँच लाख ५५ हजार पाँच सय नगर र शिल्ड, मेडल तथा पुरस्कार प्रदान गरिने आयोजक भेट्रान्स सिटी क्लब वीरगंजका महासचिव पङ्कज श्रेष्ठले बताए ।