कर्णाली, १८ कात्तिक/रासस

गएराति गएको भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।

कर्णाली प्रदेशका कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रूकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा ८१, रूकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन/तीन तथा सल्यानमा एकजना घाइते भएका छन् । उनीहरूको जाजरकोट, रूकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।

जाजरकोट र रूकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन् । गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरूपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोतसाधन परिचालन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रूकुम पश्चिम र जाजरकोटको विद्युत् आपूर्तिमा अवरोध पैदा भएको थियो । सूचना तथा सञ्चारका लागि बिजुली अत्यावश्यक भएकाले तत्काल साधन र स्रोत परिचालन गर्न प्राधिकरणलाई मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

भूकम्पका कारण प्राधिकरणको संरचनामा के कति क्षति भयो भन्नेबारेमा समेत आवश्यक विवरण सङ्कलन तथा सहज बिजुली आपूर्तिका लागि मन्त्री बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।

रूकुम पश्चिम वितरण केन्द्रका प्रमुख शिव साहले स्थानीय राडीबजार अस्पतालमा बिजुली उपलब्ध भइसकेको जानकारी दिए । भूकम्पका कारण खम्बा ढलेर अवरुद्ध भएका प्रसारण तथा वितरण लाइन मर्मतसम्भारमा सम्पूर्ण जनशक्ति परिचालित भएको उनको भनाइ छ ।

आज साँझसम्म भूकम्प प्रभावित सबै स्थानमा बिजुली उपलब्ध गराउने र नजीकका कार्यालयबाट समेत जनशक्ति परिचालित गरिएको साहले जानकारी दिए ।

भूकम्पबाट क्षतिग्रस्त भएका घर तथा अन्य संरचनाको लाइन काटेर अवस्थाको मूल्याङ्कन गरेर जोड्नका लागि विभिन्न समूह नै बनाएर टोली परिचालन गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाको यथार्थ विवरण नलिई लाइन जोड्दा थप दुर्घटना हुने भएकाले त्यसलाई विशेष ख्याल गरिएको कार्यालयको भनाइ छ ।

प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकप्रसाद कलवारका अनुसार रूकुम पश्चिम र जाजरकोट जोड्ने रिम्नाको पुलमा ११ केभी क्षमताको प्रसारण लाइन र खम्बामा क्षति पुगेको छ । सो स्थानमा प्राविधिकसहितको कर्मचारी, खम्बा र तारसहित जनशक्ति परिचालन गरिएको छ ।

बिजुलीको अभावमा टेलिफोनको टावरसमेत नचल्ने तथा स्वास्थ्योपचारमा समेत समस्या हुने भएकाले आवश्यक व्यवस्थाका लागि प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले समेत आवश्यक सहजीकरण गरिरहेको छ ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले शुरूमा अस्पतालमा विद्युत् आपूर्ति गरिएको बताए । यादवले घर भत्किएको ठाउँमा उद्धार जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिंदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे । उनले धेरै घर भत्किएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमितरूपमा आपूर्ति भइरहेको बताए ।

भूकम्पपीडितलाई सहयोग जुट्दै

जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न शुरू भएको छ । विभिन्न कम्पनी तथा सङ्घसंस्थाले भूकम्पपीडितलाई सहयोग रकम घोषणा गर्न शुरू गरेका छन् ।

निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुद्ध एयरले भूकम्पपीडितका लागि रु एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । “जाजरकोट तथा रूकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ ।

बुद्ध एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौं,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुद्ध एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई रु ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानूनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए । 

एनसेलले भूकम्प प्रभावित क्षेत्रमा रु ४० लाख बराबरको भ्वाइस र डाटा निश्शुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवाप्रदायकलाई आग्रह गरेको थियो । आजै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निश्शुल्क तथा सिम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई रु १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गरी सङ्घको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा रु १० लाख उपलब्ध गराउने जानकारी दिए ।

त्यसैगरी, आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भूकम्पपीडितका लागि रु २१ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले आज विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट सङ्कलन गरेर उक्त रकम सहयोग गर्ने बताए ।

उनले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिए ।

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रूकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल रु एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेशनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ ।

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् ।

त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।

शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प भएको थियो । हालसम्म जाजरकोट र रूकुम पश्चिममा जम्मा १५७ जनाको ज्यान गएको छ भने घाइतेको सङ्ख्या दुई सय नाघेको छ ।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ –अमेरिकी दूतावास

यहाँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ बजे गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण हालसम्म १५८ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here