प्रस, निजगढ, १७ कात्तिक/

पथलैया–हेटौंडा सडक आयोजनाको वातावरणीय अध्ययनको लागि शुक्रवार छलफल भएको छ । छलफलको क्रममा सडक निर्माण गर्दा वन्यजन्तुलगायत अन्य वन्य जीवजन्तुहरूको सुरक्षालाई ध्यानमा राखेर छलफल केन्द्रित भएको थियो ।

छलफलमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा रामचन्द्र कँडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चूँडाराज ढकाल, सडक विभाग आयोजना निर्देशनालयका इन्जिनीयर नारायण पन्थी, इन्जिनीयर सुरेश श्रेष्ठ, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख रामचन्द्र खतिवडा, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा गणका गणपति प्रमुख सेनानी गणेशराज पन्थ, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याललगायत सरोकारवाला निकायहरूको सहभागिता थियो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–हेटौंडा सडकखण्डको पथलैयादेखि अमलेखगंजसम्मको करीब १५ किलोमिटर दूरीमा गुड्ने सवारीसाधनको ठक्करबाट बर्सेनि वन्यजन्तुहरूको ज्यान जाने, घाइते हुने, त्यसैगरी सवारीसाधनहरू दुर्घटना हुने जस्ता घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले त्यहाँ निर्माण गरिने वन्यजन्तु तथा वातावरणीयमैत्री संरचना निर्माणका लागि वातावरणीय अध्ययनका क्रममा उक्त छलफल भएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जमा रैथाने जङ्गली हात्तीको प्रमुख बासस्थान रहँदै आएको र पछिल्लो केही वर्षयता पाटेबाघको सङ्ख्या बढेका कारण झनै दुर्घटना बढ्दो छ । हात्ती, बाघ, चितुवा, हरिण, चित्तल मात्र नभई खरायो जस्ता साना प्रजातिका वन्यजन्तु र सर्प, अजिङ्गरलगायत घस्रेर हिंड्ने जस्ता जीवजन्तुहरूको संरक्षण हुनेगरी वन्यजन्तु तथा वातावरणीयमैत्री संरचना निर्माणका लागि वन्यजन्तु, वन संरक्षण र सडक आयोजनाबीच अहिलेको छलफल विशुद्ध प्राविधिक विषयमा भएको सहभागीहरूले जनाएका छन् । निर्माण लागत खर्चलाई ध्यानमा राख्दै दशकौंसम्म टिक्ने दूरदर्शी हिसाबले संरचना निर्माण गर्नुपर्ने, यसरी निर्माण गरिने संरचनाका कारण वन्यजन्तुहरूले अमलेखगंज र पथलैयाका बस्तीहरूमा कुनै असर नपर्ने गरी कार्य अघि बढाउनसमेत सुझाइएको थियो ।

यो प्राविधिक र प्रारम्भिक छलफल भएकोले आवश्यक छलफलका लागि स्थानीय सरोकारवाला निकाय, सङ्घसंस्थाहरूसँग पनि थप राय, सुझाव लिने सडक विभाग आयोजनाका सहभागी प्राविधिकले बताए ।

सो छलफल पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बारामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here