प्रस, पर्सागढी, १७ कात्तिक/

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं सांसद प्रदीप यादवले आफ्नो पार्टीमा कसैलाई पनि काखा र पाखा नगरिने दाबी गरेका छन् ।

जसपा पर्सागढी नपा–८ द्वारा शुक्रवार आयोजित कार्यक्रममा उनले कार्यक्रम आयोजना भएको वडामा गरीब, दलितहरूको बसोबास बढी भएको र आफूले प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर सबै गरीब, दलितहरूका लागि जनता आवास कार्यक्रम अन्तर्गत आवासीय व्यवस्था मिलाउने आश्वासन दिए ।

वीरगंज महानगरका प्रमुख एवं जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गरेका थिए । उनले पर्सागढीका बासिन्दालाई महानगरमा पर्ने जुनसुकै समस्याको समाधान गरिने आश्वासन दिए । जसपा पर्साका अध्यक्ष एवं बहुदरमाई नपाका प्रमुख सिंगासन साहले यसअघिको जिल्ला नेतृत्व कमजोर रहेको आरोप लगाए । कमजोर नेतृत्व भएको कारण गत संसदीय र प्रदेशसभाको चुनावमा लज्जास्पद हार भएको उनले बताए । त्यसअघि हालका प्रमुख सचेतक एवं सांसद प्रदीप यादव अध्यक्ष रहँदा जिल्लाका चारवटै संसदीय क्षेत्र र प्रदेशसभामा सबैभन्दा बढी सिट जितेकोमा अहिले एउटा सांसद र दुईवटा प्रदेशसभा सदस्यमा सीमित हुनुपरेको बताए ।

जसपा पर्सागढी नपाका संयोजक शेख खुर्सेदको अध्यक्षतामा भएको कार्यक्रममा सुरज मानन्धर, जसपाका पूर्ववडाध्यक्ष असलम आलम, रामबढाई यादवलगायतको सहभागिता थियो ।

यसैगरी, जसपा पर्सामा रामनरेश यादव अध्यक्ष रहेको समूहले कालिकामाई गाउँपालिका–२ भेडियारीमा कार्यक्रम गरेको थियो । वडा एकाइ समितिका तैयब खाँ पठानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले गरेका थिए । उनले जसपा जनताको पार्टी भएको र यही पार्टीले मात्र मधेसीको समस्या समाधान गर्ने दाबी गरे । उनले आफू विकासको काममा निरन्तर लागिपरेको पनि बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य फिरोज मन्सुर, जिल्ला सचिव तबरेज अहमद, सदस्य इन्द्रासन कलवार, श्यामबाबू चौरसिया, कालिकामाई पालिका समिति अध्यक्ष दिनेश कलवार, जिल्ला सदस्य ताजिन्द्र कलवार, कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्ट गुप्ता, वडाध्यक्ष लालबाबू राउत, सञ्जय पटेल, जयनारायण पटेल, गापा सल्लाहकार अरमान खान, असलम आलमलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रामशङ्कर चौरसियाले गरेका थिए ।

जसपा पर्सा केही महीनादेखि दुई भागमा विभाजित छ । एक पक्षको नेतृत्व रामनरेश यादवले र अर्काे पक्षको नेतृत्व सिंगासन साहले गर्दै आएका छन् । यादवलाई पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीको समूहले सघाउँदै छ भने साहलाई पार्टीका प्रमुख सचेतक एवं सांसद यादवको समूहले सघाउँदै आएको छ । यादव नेतृत्वलाई जसपाको मधेस प्रदेश कमिटीले वैधानिकता प्रदान गरे पनि विवादको विषयमा टोली गठन गरेको छ तर सो टोली अहिलेसम्म जिल्लामा आएको छैन । सङ्घले भने दुईमध्ये कसैलाई पनि आधिकारिक घोषणा गरिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here