• डा शिवशङ्कर यादव

कुनै पनि घरमा कसैको स्वर्गे भएपछि के देखिन्छ ? पत्नी बेहोशसम्म हुन्छिन् । भाइबन्धुहरू रोइरहेका हुन्छन् । छिमेकीहरू उदास हुन्छन् । यो किन हुन्छ भने स्वर्गे भएको मानिससित कसको कति प्रगाढ सम्बन्ध र अवलम्बन छ ? पत्नीको सबैभन्दा प्रगाढ सम्बन्ध मात्र होइन, उसको जीवनको अवलम्ब नै समाप्त भएको हुन्छ । भाइबन्धुहरू त्यति अवलम्बित हुँदैनन्, त्यसैले रुन्छन् मात्र । मृत्यु, जोसुकैको भए पनि उदासीको कारण हो, त्यसैले छिमेकीहरू उदास हुन्छन् । तर पाठकवृन्द ! सम्बन्धको साथ साथै एउटा अरू पनि कारण हुन्छ । त्यो हो घटनाप्रति दिइने प्रतिक्रियाको स्तर र सहनशक्ति । यसलाई एउटा अर्को उदाहरणले बुझौं । हामी प्रायः  बलात्कारको समाचार सुन्छौं । र यो पनि सुन्छौं कि एउटा केटीले आत्महत्या गरिन्, तर अर्कीले त्यस्तो गरिन र अभियुक्तलाई अदालतसम्म पुर्याइन् । एउटै अपराधमा यी दुई प्रकारको प्रतिक्रिया किन हुन्छ ? बलात्कारले त सबै केटीमा समान पीडा दिन्छ, जसलाई एक्सट्रिम स्ट्रेस वा तनाव भनिन्छ । त्यही तनावविरुद्ध प्रतिक्रिया चाहिं दुई किसिमको देखिन्छ । यस्ता तनावपूर्ण विकृतिमा जुन र जति प्रकारका प्रतिक्रियाहरू देखिन्छन् त्यसलाई स्ट्रेस डिजार्डर भनिन्छ । तपाईं बाढी वा पहिरो गएको ठाउँमा जानुस् । पीडित धेरैथरीका मान्छे भेटिन्छन् । सर्वस्व गुमाएको अवस्थामा पनि कोही उदासीका साथ सन्तुलित नै देखिन्छन् भने कोही मरेतुल्य हुन्छन् । किन हुन्छ यस्तो फरक प्रतिक्रिया ? किनभने मानिसमा शरीर र मनको प्रतिक्रियात्मक शक्ति र तरीका भिन्न भिन्न छ । यो भयो तनावसम्बन्धी कुरा ।

अब हेरौं ऐडजस्टमेन्ट अथवा बन्दोबस्तीसम्बन्धी विकार । के हो बन्दोबस्ती वा एडजस्टमेन्ट डिजार्डर ? मानौं मेरो छोरा भीसा पाएर अमेरिका पढ्न गयो । जाने बेला उसको प्रसन्नताको ठेगान थिएन । मन्दिरमा गएर भगवान्लाई धन्यवाद दियो र खुशीखुशी प्लेन चढेर अमेरिका पुग्यो । त्यसपछि उसको असल प्रतिक्रिया सामुन्ने आयो । बाबुसाहेब राति दुई बजे पनि फोन गर्न थाले–म यहाँ बस्न सक्दिनँ । अर्को छोराले मलाई भन्यो– बुवा यही ठान्नुस कि छोरा अमेरिका घुम्न गएको थियो, उसको हालत खराब भयो, तसर्थ उसलाई बोलाउनुस् । एकचोटि म दिदीघर गएको थिएँ । तीन वर्षको मेरो भान्जा मसँग साइकिलमा आउने जिद्दी गर्न थाल्यो । तर एक कोस पुगेपछि उसले आमाकोमा फर्काइदिन यति रुन र हैरान गर्न थाल्यो कि मलाई फर्कन कर लाग्यो । अमेरिका गएको मेरो छोराको प्रतिक्रिया त्यसै किसिमको थियो । जाने बेला खुशीको तर पुगेपछि उदासीको प्रतिक्रिया । यस्तोमा जसरी बच्चाको थरीथरीको प्रतिक्रिया हुन्छ त्यस्तै वयस्कको हुँदैन किनभने प्रत्येक वयस्कमा पनि त्यही बच्चा जीवित रहन्छ । मैले भनें –न आत्तिऊ छोरा, तिमी पहिलेदेखि नै होमसिक हौ । केही दिन धैर्य राख । हामी सबै त तिम्रो साथमा छौं । जहाँसम्म त्यहाँको सवाल छ कम्तिमा एउटा साथी बनाऊ । उसको क्लासमा एकजना नेपाली केटी पनि थिइन् । बिस्तारै दुवैबीच मित्रता भयो र मित्रता बिहेमा परिणत भयो । अब दुवै अमेरिकामा शानदार जीवन व्यतीत गरिरहेका छन् । यही हो ऐडजस्टमेन्ट डिजार्डर र त्यसको उपचार । वीरगंजका एकजना नामी डाक्टरको कथा मलाई थाहा छ । उनका बुज्रुग बुवाले बालककालमैं राम्रो शिक्षाका लागि टाढा पठाइदिए । ती बुज्रुकलाई यो थाहा भएन कि दूर देशको शिक्षामा गुरुकुलजस्तो गुरु र गुरुआमा हुँदैनन् । बालकले आफूलाई एडजस्ट गर्न सकेनन्,  उनलाई फिर्ता बोलाउन कर लाग्यो । घर नजीकको पाठशालामा पढाई गरेर उनी आफैं बाहिर गए र कुशल डाक्टर बने । केटाकेटी अवस्थामा उनले नयाँ र बिरानो ठाउँमा ऐडजस्ट गर्न सकेनन् । यही हो ऐडजस्टमेंट डिजार्डर र त्यसको उपचार ।

अबसम्म पाठकवृन्दलाई यी डिजार्डरहरूको कम्तिमा आधा कुरा थाहा भइसकेको हुनुपर्छ । अब आउनुस् यसैको पाठ्यक्रमिक र वैज्ञानिक कुरातर्फ जाउँ । आइसिडीको अनुसार स्ट्रेस डिजार्डरमा ती विकृतिहरू आउँछन् जुन अपेक्षाकृत बढी तनावपूर्ण घटनाबाट तर अस्थायीरूपमा हुन्छन् अथवा विकृति कुनै घटनापछि उत्पन्न हुन्छ वा जीवनवृत्तिको कुनै परिवर्तनसँग सन्तुलन बनाउन नसक्दा परिलक्षित हुन्छ । पहिलोलाई एक्युट, दोस्रोलाई पोस्टट्रौमेटिक र तेस्रोलाई ऐडजस्टमेंट डिजार्डर भनिन्छ । यसरी तीन शीर्षकमा यसलाई जान्न सकिन्छ ः

१.एक्युट स्ट्रेस डिजार्डर

२.पोस्टट्रौमेटिक स्ट्रेस डिजार्डर

३.ऐडजस्टमेंट डिजार्डर

एक्युट एस्ट्रेस डिजार्डर–आइसिडीको अनुसार यसमा तनाव र उत्पन्न हुने प्रतिक्रियाको सीधा र इहलौकिक सम्बन्ध हुन्छ, जस्तै–कुनै प्रियजनको मृत्यु, प्राकृतिक विपत्ति, अनिकाल, भूकम्प, बाढी–पहिरो, दुर्घटना वा बलात्कार आदि । यसको लक्षण मिश्रित हुन्छ । प्रायः यो थकानको बेलामा र उमेरको चरममा पाइन्छ । यो बढीजसो महिला वा कम सहनशील पुरुषमा पाइन्छ । यसमा मानिसको अवस्था अचम्म पार्ने खालको र चिन्तादेखि अवसाद, चरम निराशा, छटपटी वा बिल्कुल शान्त र पस्त मुद्रा र चेतनासमेत गायब हुने र बेहोशीसमेत हुन सक्छ । तनावपूर्ण स्थिति हटेपछि यो केही घण्टामैं ठीक हुने सम्भावना बढी हुन्छ । तनाव हटाउन सकिएन भने यसको लक्षण एक दुई दिनभित्र कम हुन शुरू हुन्छ तथा तेस्रो दिन धेरै कम मात्र रहन्छ । यसको उपचार तनावपूर्ण माहौलबाट हटिदिनु नै हो, तर यदि प्रियजनको मृत्यु भएको छ भने कसरी हटाउन सकिन्छ ? अतः उसलाई सान्त्वना दिने काम त छरछिमेकले नै गर्नुपर्छ । रोगीलाई नसाबाट डाइजेपाम दिनु पनि जरूरी हुन्छ ।

पोस्टट्रौमेटिक डिजार्डर–आइसिडीको अनुसार यो रोग कुनै असाधारण घटना, दुर्घटना, प्राकृतिक विपत्ति, युद्ध वा बलात्कारपछि देखिन्छ जसको असर मान्छेमा व्यापक र दुःखदायी हुन्छ । यसको कारणले हुने लक्षण घटनाको केहीपछि वा ६ महीना भित्र देखिन्छ वा कहिलेकाहीं त्यसभन्दा बढी समय पनि लाग्न सक्छ । यसका निम्न लक्षण हुन्छन् ः फ्लैसबैकको रूपमा घटनाको तस्वीर, विचार वा अनुभूति निरन्तर भइरहन्छ । रोगी त्यस्तै अन्य घटनाबाट जोगिन चाहन्छ, किनभने त्यस्तो घटनाले रोगीको लक्षण फेरि उकासिदिन्छ । एउटी केटीले आफ्नी  आफ्नी आमालाई बाढीमा डुबेर मरेको देखेकी छ भने पोखरीमा कसैलाई देखेर पनि आत्तिन थाल्छे । अर्को लक्षणमा रोगीमा घटनाको आंशिक विस्मृति हुन्छ जुन राम्रो र रक्षात्मक प्रक्रिया हो । यसबाहेक रोगीमा चिसोपन महसूस हुनु र कुनै पनि प्रकारको खुशी महसूस नहुनु हुन्छ, जसलाई एनहोडेनिया भनिन्छ । यसको उपचारमा एक त विपत्तिको पूर्वअनुमान गर्नुपर्छ र विपत्तिको ठाउँमा तालीम प्राप्त जनशक्ति परिचालन गरेर विपत्ति रोक्ने र पीडितको सहयोग गर्नुपर्छ । कसैलाई भने सपोर्टिभ साइकोथिरैपी पनि आवश्यक हुन्छ । बेन्जोडाइजिपीनले यस्तोमा चिन्ता र अवसाद दुवैमा राम्रो काम गर्छ ।

ऐडजस्टमेंट डिजार्डर–यो प्रायः किशोरीहरूमा देखिन्छ तर किशोरमा पनि नदेखिने होइन । कुनै पनि नयाँ माहौल व्यक्तिमा तनावको कारण बन्न सक्छ । यदि मान्छेमा त्यसबाट पार पाउने सीप छ भने उसले ६ महीनामा त्यस माहौलसँग ऐडजस्ट गर्न सक्छ । तर व्यक्ति यदि चिन्ता र अवसादको शिकार बनेको छ भने लामो अवधि पनि लाग्न सक्छ । यसका धेरै उपप्रकार पनि छन्, यथा– जसमा चिन्ता छ, जसमा केवल अवसाद छ र जसमा चिन्ता र अवसाद दुवै छ, जसमा मुख्यरूपले अर्को भावनात्मक गडबडी छ, जसको व्यवहारमा गडबडी छ र जसमा दुवै मिश्रित छन् । अक्सर यो तीन महीनाभित्र ठीक हुन्छ । यसको उपचारमा पहिलो स्थान सपोर्टिभ साइकोथिरैपीको आउँछ । यसको मतलब चिकित्सक र परिवार तथा साथीसङ्गीको सपोर्ट पनि आउँछ । यस अतिरिक्त क्राइसिस इन्टरभेन्सन पनि जरूरी हुन सक्छ । मेरो छोरालाई अमेरिकामा त्यस्तो भयो । यदि उसलाई तुरून्त अमेरिकाबाट बोलाएको भए उसको हालत ठीक हुन्थ्यो । तर अमेरिकामा जे तनावको कारण बनेको थियो, त्यो हटेपछि त ठीक हुनु स्वाभाविक नै हो । यसैलाई क्राइसिस इन्टरभेन्सन भनिन्छ । अस्थायीरूपले यसो गरेपछि दोस्रोपटक जाँदा भने हुँदैन । बीच परीक्षामा एक्कासि मेरो पेट दुख्न थाल्यो । संयोगले दाइ घरबाट आउनुभएको थियो । उनले भने जान है तो जहान है । डाक्टरलाई देखाएर मलाई घर ल्याउनुभयो । यही हो क्राइसिस इन्टरभेन्सन । बिहेपछि दुलही पहिलोचोटि ससुराली आउँछिन् । चिन्तित र डराएडराएजस्तो हुन्छिन् । मधेसमा माइतीबाट कलेवा ल्याउनेहरूसँगै दुलहीलाई माइती पठाइदिने चलन छ । दोस्रोपटक आउँदा पहिलेदेखि परिचित भइसकेकी हुनाले उसको चिन्ता र डर समाप्त भइसकेको हुन्छ । यही हो क्राइसिस इन्टरभेन्सन, जसलाई हाम्रा पुर्खाले राम्ररी बुझेका थिए । यसबाहेक मनोचिकित्सा केन्द्रमा तनाव व्यवस्थापन, सहनशीलता बढाउने तालीम पनि दिइन्छ । यस अतिरिक्त केही चिन्ता र अवसादको ओषधि पनि आवश्यक पर्न सक्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here