प्रस, वीरगंज, १६ कात्तिक/

हेल्प फर डेस्पेरेट एन्ड निडी पिपल (एचडिएनपी) इन्टरनेशनल, अमेरिकाको सहयोग र पिस फर दलित्स फाउन्डेशन नेपालको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–३ कौवावनको  मुसहरबस्तीका दलित बालबालिका तथा अभिभावकहरूलाई सहयोग गरिएको छ ।

सो बस्तीका १२० जना दलित बालबालिकालाई कापी, कलम, सीसाकलम र बालबालिकासहित ८० जना अभिभावकलाई खाद्य सामग्री वितरण गरिएको थियो ।

दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच, विद्यालय टिकाउन, शिक्षामा निरन्तरता, गुणस्तरीय शिक्षा, सिकाइमा सुधार र अभिभावकको चासो बढाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

पढ्ने र खानेकुरा पाएपछि बालबालिकाहरू खुशी भएका थिए भने पढेपछि खान पाइन्छ भन्ने सन्देश बालबालिकाका साथै अभिभावकहरूमा प्रवाह भएको थियो । उनीहरूले अमेरिकाका सहयोगकर्ता समाजसेवी देवी डेभिड आचार्यलाई धन्यवाद पनि दिए ।

एचडिएनपी इन्टरनेशनल सन् २०१२ मा अमेरिकी सरकारको गैरनाफामूलक सामाजिक संस्थामा दर्ता भएको थियो । संस्थाले स्थापनाकालदेखि अमेरिकाको टेक्सास राज्यको आर्लिङ्टन डलास क्षेत्र वरपरका घरवारविहीन र मागेर जीविका चलाउने दुःखीहरूलाई त्रैमासिकरूपमा खाना खुवाउँदै आइरहेको छ भने नेपालका विभिन्न जिल्लाका दलित समुदायको लागि आर्थिक, अतिविपन्नको लागि खाद्यान्न, दलित बालबालिकाको लागि शैक्षिक सामग्रीहरू तथा सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा सहयोग गर्दै आएको एचडिएनपी इन्टरनेशनलका अध्यक्ष देवी डेभिड आचार्यले बताए ।

उनले मुसहर समुदायका बालबालिकाको लागि वार्षिकरूपमा निरन्तर शैक्षिक सामग्री र दलित अभिभावकहरूको लागि जीविकोपार्जन तथा आर्थिक समृद्धिको लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । पिस फर दलित्स फाउन्डेशन नेपाल, पर्साले एचडिएनपी इन्टरनेशनलका अध्यक्ष आचार्यलाई पर्साका दलित समुदायलाई लक्षित गरेर सहयोग गर्दै आएकामा सम्मान गरेको थियो ।

पिस फर दलित्स फाउन्डेशन नेपाल मधेस प्रदेशका जिल्लामा सक्रिय दलित समुदायको संस्था हो । फाउन्डेशनले दलित समुदायको सशक्तीकरण, सामाजिक न्याय, समानता, छुवाछूत अन्त्य, शिक्षा, सामाजिक रूपान्तरण, दलित समुदायको लागि वकालत, दलित समुदायको सेवा सहयोगमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

अध्यक्ष आचार्यले पिस फर दलित्स फाउन्डेशन नेपालको कामको मूल्याङ्कनको लागि निरीक्षण गर्दै अभिभावक, बालबालिकासँग स्थलगत छलफल तथा अन्तक्र्रिया गरेका थिए । अध्यक्ष आचार्यले फाउन्डेशनको टीमसँग पनि छलफल गर्नुका साथै स्थानीय कौवावन गाउँको मुसहरबस्तीको स्थलगत अनुगमन गरी उनीहरूको समस्याबारे जानकारी लिएका थिए ।

कार्यक्रम दलित अभिभावक सङ्घकी उर्मिलादेवी मुसहरको अध्यक्षतामा भएको थियो भने फाउन्डेशनका सदस्य परमानन्द राम, सुरेन्द्र पासवान, संजोग राम, सङ्गीतादेवी मुसहर, अशोक रामलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पिस फर दलित्स फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here