प्रस, वीरगंज, १५ कात्तिक/
जनता समाजवादी पार्टी, पर्साको अगुवा कार्यकर्ता तथा चियापान समारोह वीरगंजमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सांसद प्रदीप यादवले विगतका नेतृत्व कमजोर भएकाले पर्सामा जसपाको सङ्गठन दिन प्रतिदिन कमजोर हुँदै गएको बताए । नेतृत्वले अहिलेसम्म पार्टीको पक्षमा कुनै काम नगरेको, सङ्गठन निर्माणमा असहयोग गरेको, नेता, कार्यकर्ताको दुःखमा सहयोग नगरेका कारण अधिकांश नेता, कार्यकर्ताले पार्टी परित्याग गरेको बताए ।
उनले पार्टी बचाउनको लागि अहिले सिंहासन साह तेलीको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको र यो नै आधिकारिक जिल्ला कमिटी भएको दाबी गरे । सांसद यादवले सङ्गठन बलियो नभए नेता कमजोर हुने भएकोले अबदेखि यो नेतृत्वले पर्साका चारवटै क्षेत्रमा सङ्गठन सुदृढ गर्ने, पार्टी प्रवेश कार्यक्रम गर्ने बताए । उनले विगतमा आफैं धामी, आफैं झाँक्री भएका जसपाका ठूला नेता भनाउँदाहरूका कारण पार्टीका ठूलठूला नेताले पार्टी परित्याग गरेकामा दुःख व्यक्त गरे । उनीहरूले विभिन्न ठाउँमा योजना दिई सम्पन्न नभएका कारण सिङ्गो पार्टीमाथि आरोप लागेको र त्यसको चाँडै छिनोफानो हुने बताए ।
नगरप्रमुख राजेशमान सिंहले नेतृत्वले नस्वीकारे पनि जनताले हामीलाई स्वीकारेको बताए । उनले यो कार्यसमितिसँगै हिंड्ने प्रतिबद्धता व्यक्त गरे । केन्द्रीय नेताहरूको कमीकमजोरीका कारण पर्सामा पार्टी सुदृढीकरण नभएको र सुदृढीकरण शुरू गर्दा केही नेताहरूले सोको विरोध गर्नु गलत भएको बताए । उनले पार्टीतर्फबाट आफू वीरगंजको आन, बान, सानको लागि लडिरहेको बताए । विकासको गति हेरेर विपक्षीहरू अत्तालिएर मेरो चरित्र हत्या गर्न लागेको बताए । विगत लामो समयदेखि विरोधीको रूपमा रहेका केही व्यक्तिले आफ्नो बदनाम गराउन खोजेको नगरप्रमुख सिंहले आरोप लगाए ।
जिल्ला अध्यक्ष सिंहासन साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति निरञ्जन सर्राफ, केन्द्रीय सदस्य जनार्दन यादव, मोहन चौधरी, शिवजी सोनी, पूर्व प्रदेशसभा सदस्य भीमा यादव, पूर्वसभापति नेक महम्मद अन्सारी, प्रेमबाबू पटेल, विपिन कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सचिव उमेश सहनीले गरेका थिए ।