• सञ्जय साह मित्र

मूलतः मधेसी समाजको सन्दर्भलाई यहाँ दृष्टान्तार्थ प्रस्तुत गरिन्छ ।

हिजोआज महिलाको सक्रियता बढेको छ । महिलाको सक्रियता घरायसी वा पारिवारिक काममा निकै बढेको छ । सक्रियतासँगै आंशिक जिम्मेवारीमा पनि वृद्धि भएको देखिएको छ ।

कोरोनाको दुई वर्षे आक्रमणपछि गाउँमा अझै आर्थिक दृष्टिकोणले उत्साह आउन नसक्दा गाउँबाट कामको खोजीमा पलायन हुने क्रम निकै बढेको छ । गाउँबाट धेरै मानिस बाहिर गइसकेका छन् । जो छन् उनीहरू बाहिर जान नचाहेका होइनन्, जान नसकेर घरमा बसेका छन् ।

अहिले जब धानको अर्लि भेराइटी काट्ने काम भइरहेको छ तब यसलाई मुख्यरूपमा महिलाहरूले नै सम्हालिरहेका छन् । पुरुषहरू खासै छैनन् । धान काट्ने र मशीनमा दाइँ गर्न लगाउने काममा महिलाहरू नै लागेका छन् । महिलाहरू लागेका मात्र होइनन्, धानखेतीको यो अन्तिम काम महिलाहरूले नै गरिरहेका छन् । यसरी धानखेतीको परम्परागत तरीकाले पुरुषको काममा महिलाको करीब एकाधिकार बन्न पुग्नुको मुख्य कारण गरस्बी रहेको बताइएको छ ।

गाउँको श्रम बजार धान्ने करीब सबै पुरुष बाहिर गइसकेका छन्, अस्थायी रूपमा । दशैं लाग्नु अघि वा दशैं लागेसँगै नेपालकै विभिन्न क्षेत्र र भारतको पनि विभिन्न क्षेत्रमा कामको खोजीमा गएका ग्रामीण पुरुष श्रमिकहरूले भने अहिले पाउने काम धान खेतीकै हुन्छ, मुख्यतः । धान काट्ने, दाइँ गर्ने तथा धान भिœयाउने । यससँगै नयाँ बाली लगाउन पनि सहयोग गर्ने । अहिलेको समय किसानको लागि यस्तो महत्वपूर्ण छ कि धान काटेसँगै खेत रबि बाली अर्थात् दलहन वा तेलहन बालीको लागि तयार भइसक्छ । यदि ढिलो गर्ने हो भने खेतको चिस्यान सुक्ने डर हुन्छ । खेतको चिस्यान सुक्दा रबि बाली लगाउन नै ढिलो हुन जान्छ । सिंचाइ गरेर पुनः खेत सुकाइ रवि बाली लगाउने हो भने निकै महँगो हुन जान जान्छ । फेरि रबि बालीलाई किसानहरूले अनिश्चित बालीको रूपमा लिने गरेका छन् । कुनै वर्ष गहुँ राम्रो हुन्छ त कुनै वर्ष तोरी, कुनै वर्ष मसुरो राम्रो हुन्छ त कुनै वर्ष केराउ । रबि बालीको उत्पादन नै अहिलेसम्म साधारण किसानको दृष्टिले अनिश्चित हुने हुनाले धान बालीजस्तो मज्जाले लगानी गर्न रुचाउँदैनन् । अनि रबि बाली लगाउनु अघि सिंचाइ गरेर आवश्यक चिस्यान भएको बेला खेत जोताइ गर्नु र त्यसपछि बाली लगाउनु चाहिं अनावश्यक खर्च हो भन्ने लाग्दछ । समय पनि बढी जाने हुन्छ । यस कारण सम्भव भएसम्म किसानहरू धानबाली निकालेर खेतको माटोको अवस्था हेरी तुरुन्त रबि बाली लगाउन चाहन्छन् । यसै कारण गाउँबाट काम गर्न गएका साधारण कृषि श्रमिकहरू धान काटेर र ती किसानको खेतमा रबि बाली लगाएर मात्र घर फर्कन्छन् । रबि बाली लगाइसकेपछि खासै काम हुँदैन । अनि छठजस्तो पर्व घर आँगनमा आइपुग्छ । यसकारण दशैंको आरम्भताका गाउँबाट कामको खोजीमा गएका कृषि श्रमिकहरू थोरै भए पनि आम्दानी गरेर छठभन्दा पहिले मात्र घर फिर्ता आउँछन् । यसबीच हुने धानखेतीको मुख्य काम ती श्रमिक पुरुषको ठाउँमा महिलाहरूले नै सम्हालिरहेका छन् ।

सबै ठाउँमा यो प्रवृत्ति नहोला, तर अर्लि भेराइटी धान कम हुने र लेट भेराइटी धान बढी हुने क्षेत्रस अझ जहाँ कृषिमा व्यवसायीकरण नभई अन्न र रबि बाली मात्र लगाइन्छ, त्यहाँको अवस्था यही रहेको छ कि महिलाहरूले नै धान कटाइसम्बन्धी सम्पूर्ण काममा मुख्य भूमिका निर्वाह गर्नुपरिरहेको छ । ग्रामीण समाजको साधारण सत्य हो – हरेकको घरमा कुनै न कुनै पशुधन हुन्छ । दुई चार जोर बाख्रा, नभए भैंसी वा गाई वा गोरु । आजभोलि ग्रामीण क्षेत्रमा गाई केही घरमा पालिएको पाइए पनि गोरु भने ज्यादै कम हुन्छ । यस्ता पशुधनबाट पशुपालक किसानको आर्थिक जीवनमा ठूलो योगदान हुन्छ र फुर्सदको समयको ठूलो उपयोग पनि । एकाबिहानै उठ्ने ग्रामीण महिलाहरूले भान्साको सबै काम गर्नुका साथै यस्ता पशुधनलाई पनि बिहान गर्नुपर्ने सेवा गरिरहेका छन् । वर्तमान अवस्थामा, उत्पादन हुने दूध त डेरीमा मानिसले घरबाटै सङ्कलन गरिरहेको वा गाउँमैं डेरी सञ्चालन भएकोले निकै सजिलो भएको छ । डेरीले किसानको हातमा नगद दिइरहेको हुन्छ । यसरी घरमा पुरुष नहुँदा दूधको हिसाब किताब राख्ने पनि महिला वा बालबालिका हुन्छन् । अब यहाँ थोरै विचारणीय यो पनि देखिन्छ कि यसरी महिलाको आर्य आर्जनबाट घराइसी कामको लागि खर्च गर्न वा सञ्जय गर्न महत्वपूर्ण भूमिका भइरहेको छ । थोरै भए पनि महिलाको आर्थिक पहुँचमा विस्तार भएको छ ।

घरको सबै काम सम्हाल्ने, आफ्नो वा अर्काको खेतमा काम गर्ने (धानको कटनी), पशुधनलाई स्याहार्ने आदि काम गरेर अहिले ग्रामीण महिलाहरूले एक किसिमले ती सम्पूर्ण काम गरिरहेका छन्, जुन आवश्यक छ । यदि विचार गर्ने हो भने अहिले छठ आउन लागेको छ । छठ पर्वको लागि महिलाले घरमा गर्नुपर्ने तयारी असीमित हुन्छ । यसैले कोजाग्रत पूर्णिमासँगसँगै महिलाहरूले छठ पर्वको तयारी शुरू गरिसकेका छन् । कोठाचोटा सफा गर्नेदेखि लिएर पक्की घर नभएको घरमा लिपपोतको पूर्व तयारी गर्ने, घरको भुइँ कहीं होचो–अग्लो भएमा मिलाउने, माटो पुर्ने वा हटाउनेजस्ता अनेक काममा लागिसकेका छन् महिलाहरू । यसपटकको छठसम्म लेट भेराइटी धानको कटनी पनि शुरू हुने सम्भावना छ ।

बालबालिकाको भरणपोषण, रेखदेख, स्वास्थ्योपचार, पशुधनको स्याहार, भान्साको काम, आफ्नो वा अर्काको खेतबारीमा काम आदि सम्हालेको देख्दा महिलामा निहित क्षमतामा विस्तार भएको मान्न सकिन्छ । ऋणग्रस्ततामा चेपिएको विपन्न वर्गका महिलाहरूको सङ्घर्ष र भूमिका विगतभन्दा फरक देखिएको छ । अब हलो जोत्नुपर्दैन र कोदालो पनि खासै चलाउनुपर्दैन । गाउँसम्म पनि यस्ता काम ट्याक्टरबाटै भइरहेका छन् । यीबाहेक खेती–गृहस्थीको प्रायः सबै काममा महिलाको भूमिका अग्रणी हुन थालेको छ । परिस्थितिले दिएको सबै जिम्मेवारी महिलाहरूले सम्हालिरहेका छन् । सबै काममा सफलता प्राप्त गरिरहेका छन् । शहर–बजारतिर विचार गर्दा पनि महिलाले गर्न नसक्ने खासै कुनै काम रहेको देखिन्न र ग्रामीण क्षेत्रतिर पनि आफ्नै प्रकृतिमा यो विशेषता देख्न सकिन्छ । अब ग्रामीण महिलाहरूले आवश्यकता परेमा सबै काम गर्न हच्किनुपर्ने अवस्था छैन ।

साँच्चीकै महिलाहरूको सक्रियता बहुमुखी छ । तर अझै पनि महिलाहरू निर्णायक क्षेत्रमा छैनन् । नीति निर्माण तहमा महिलाहरूलाई पुर्याउन बाँकी छ । जहाँ पालिकाहरूमा दोस्रो प्रमुखको रूपमा महिलाको भूमिका रहेको छ, त्यहाँ पनि खासै उपलब्धि देखिएको छैन । अरूले नै निर्णय गरेर महिलालाई केवल रबर स्टाम्पको भूमिका दिएको अनुभूति रहेको छ । वडा वा पालिकाको कार्यपािलकामा रहेका महिलाहरूको अवस्था पनि खासै पृथक देखिंदैन । नीति निर्माण र निर्णायक तहमा अझै अभ्यास वा सिकाइको रूपमा महिलाको भूमिका रहेको छ । जसरी घराइसी काममा महिलाले आफ्नो सम्पूर्ण भूमिका निर्वाह गरेको देखिन्छ, यसको आधारमा यो त जरूर स्पष्ट हुन आउँछ कि ग्रामीण महिलाहरूमा पहिलेको तुलनामा देखिनेगरी सक्रियता बढेको हो र यसको आधारमा आगामी दिनमा ग्रामीण विकासको निर्णायक तहमा नै स्वाभाविकरूपमा सोही किसिमको सक्रियता आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here