हाम्रो देशमा विकृत राजनीति तथा राजनीतिक अन्योलताका कारण मुलुकवासीले लोकतन्त्रको सही अनुभूति गर्न सकेका छैनन् । यहाँका राजनीतिक दल र तीनका नेताहरू लोकतान्त्रिक बन्न सकेका छैनन् । कुर्सीका निम्ति हानाहान, तानातान छ । कुर्सी पाएपछि आफूलाई मालिक सम्झने मानसिकता छ । सरकारमा पुग्ने बित्तिकै आजीवन सत्ताको जिम्मेवारी पाए सरह अहमता चढ्छ । नातागोता, भाइभारदार, आफन्त, गुट, कार्यकर्ता तथा आसेपासेको परिधिभन्दा बाहिर जानै सक्दैनन् । मुलुक र नागरिकको हितमा सोच्ने समयसमेत हुँदैन । सत्ताबाट खसेपछि भने अधैर्यता, छटपटी र बिलौना शुरू हुन्छ । लोकतन्त्रको मर्म बुझ्न र आफू लोकतान्त्रिक बन्न नसक्दाको यो परिणति हो । सुशासन र समृद्धिका लागि हाम्रो मुलुकमा सबै थोक छ । तब पनि मुलुक सधैं उधोगतिमा छ । सरकारमा जो पुगे पनि मुलुकप्रति लापरवाह, अल्छी र निकम्मा छन् । केही गरौं भन्ने इच्छाशक्ति नै छैन ।

सरकारमा बस्नेहरू मात्र होइन, देशलाई बर्बादीतर्फ धकेल्न यो मुलुकमा प्रतिपक्षी पनि कम छैन । जब देशमा सत्तापक्षको चुरीफुरी हुन्छ, तब प्रतिपक्षको टाउको दुख्न थाल्छ । डाह, झगडा गर्ने, खुट्टा तान्ने र सरकारलाई कमजोर बनाएर ढाल्ने प्रयास हुन्छ । राजनीतिका जिम्मेवारीमा बसेकाहरूमा शिक्षाको कमी, सचेतना र धैर्यताको अभाव छ । अब यस्तो कुसंस्कारको अन्त्य हुनुपर्छ । नत्र लोकतन्त्रको सुगारटाइले मात्रै मुलुक समृद्ध बन्न र मुलुकवासीले सुख पाउन सक्दैनन् । सङ्घीय सरकार, सातवटै प्रदेश सरकार र सम्पूर्ण पालिका सरकारका पदाधिकारीहरूमा लोकतान्त्रिक सोचको विकास हुनु जरुरी छ । यो देशको भूमि हाम्रोलागि वरदान हो, तर यहाँका राजनीतिक अगुवाहरूको सोच, विचार र शैली अभिशाप बनेर उभिएको छ । हाम्रा हिमाल, पहाडमा जलविद्युत्, पर्यटन, फलफूल तथा जडीबुटी व्यवसाय गरे अर्बौं रकम आर्जन गर्न सकिन्छ । यसका लागि सरकारले राजमार्ग र विद्युत्को विकास गर्न सक्नुपर्छ । त्यसैगरी, हाम्रा तराई–मधेस क्षेत्र सुनको थाल हो । यहाँ उब्जाइएका अन्नले मुलुकवासीलाई पाल्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । तर ‘जाँगर चल्दैन हो, मजेरीमा फल्दैन’को अवस्थामा हामी छौं । यहाँका लागि दक्ष जनशक्तिका साथै उन्नत बीउ, सहुलियत कृषि ऋण, कृषि उपकरण र मलखादको व्यवस्था हुनुपर्छ ।

हुनत हाम्रो मुलुकमा पढेलेखेका बुद्धिजीवीहरू पनि थुप्रै छन्, तर केही खराब संस्कारले गर्दा मुलुक गलत दिशातर्पm गइराखेको छ । मुलुक जसरी द्रुत विकासमा जानुपर्ने हो, त्यसो भएको छैन । मुलुकमाथि ऋणभार थपिंदो छ । सरकार पूरा अवधि टिक्नै सक्दैन, सरकारकै भविष्य अनिश्चित छ । बेरोजगारी समस्या झन् उकालो चढ्दैछ । देशमा जुनसुकै सरकार आए पनि नागरिकसँग प्रत्यक्ष चासो र चिन्ता जोडिएका विषयहरूमा ध्यान दिने हो भने थोरै काम पनि प्रभावकारी हुन्छ । यसो भएमा त्यो काम गर्ने सरकार अवश्य पनि प्रिय हुनेछ । महँगी नियन्त्रण, सडक निर्माण, फोहोर व्यवस्थापन, उद्यान, शौचालयलगायतका समस्या साना देखिए पनि सर्वसाधारणसँग प्रत्यक्षरूपले जोडिएका विषयहरू हुन् । अन्य देश पनि हामीजस्तै अवस्थाबाट गुज्रिएका हुन् । अन्योल, द्वन्द्व, रोग, भोकमरीजस्ता समस्या अहिले विकसित भनिएका देशले पनि भोगेका हुन् । तर उनीहरूले समस्यालाई सम्बोधन गर्न र थिति बसाल्न निकै शक्ति लगाए । हामीले त्यसो गर्न सकेका छैनौं । अब हामी पनि प्रतिबद्धता साथ अगाडि बढ्नुपर्ने बेला आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here