प्रस, वीरगंज, १४ कात्तिक/
रूपेश सर्राफ हत्याकाण्डमा गोली प्रहार गर्ने भारतीय शुटरलाई बारा प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बारा प्रहरीले रूपेश सर्राफको योजनाकार पक्राउ गरेर भ्रम मात्र छरेको स्थानीयले आरोप लगाएका छन् ।

२४ घण्टा बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय, बाराले हत्याराबारे आधिकारिक जानकारी गराएको छैन । मुख्य योजनाकारसहित छजना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
भोलि बुधवार बारा प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे आधिकारिक जानकारी गराउने तयारी गरेको बुझिएको छ ।

घटनाको कारण

बारा, कलैया उपमहानगरस्थित मदर्सा टोलमा घर भएका रूपेश सर्राफ (गुड्डु)को हत्याको कारण प्रेमप्रसङ्ग रहेको स्रोतले बताएको छ । बाल एकता बोर्डिङ स्कूलमा लामो समयदेखि लेखापाल पदमा कार्यरत राधा गुप्तासँग रूपेशको लामो समयदेखि प्रेमसम्बन्ध रहेको बताइन्छ । विवाहित रूपेशको लेखापाल राधासँग प्रेमसम्बन्ध रहेको परिवारले थाहा पाएपछि पारिवारिक सल्लाहमा रूपेशले लेखापाल राधालाई विद्यालयबाट निष्कासित गरेका थिए ।

जागीरबाट निकालिए पनि राधा र रूपेशबीच भेटघाट रोकिएको थिएन । रूपेशका दुर्ई सन्तान र पत्नी रहेकाले राधासँग बिहे हुने कुरै भएन त्यसमाथि राधाको अर्को प्रेमी रहेको बताइन्छ । राधाका अर्को एकजना पनि प्रेमी रहेको रूपेशले थाहा पाएपछि दुवैजनाबीच झगडा पनि हुने गरेको थियो ।
विद्यालयबाट निकालिएपछि तीव्र असन्तुष्ट रहेकी राधाले रूपेशलाई मार्ने योजना बनाएको बताइन्छ । सोही योजना अनुरूप उनलाई हिजो गोली हानी हत्या गरिएको बताइन्छ । साउन १३ र २८ गते राधाले रूपेशलाई मार्न अर्को प्रेमीको सहयोग लिएको बताइन्छ तर उनको प्रयास असफल भएको प्रहरी स्रोतले बताएको छ ।

घटनाको प्रकृति हेर्दा रूपेशलाई सार्पशुटरहरूले गोली हानेको जस्तो देखिन्छ । उनको छाती, खुट्टा र पिठ्यूँमा गोली लागेको छ । गोली प्रहारपछि हत्याराले रूपेशको मोबाइलसमेत लगेका छन् ।
विद्यालयबाट निकालिएपछि राधासँग विवाद हुँदा रूपेशले राधाको अन्तरङ्ग भिडियो देखाएर साम्य पार्ने गरेका थिए । भनेको कुरा नमानेपछि राधालाई धम्क्याउँदै रूपेशले अन्तरङ्ग भिडियो फेसबूकमा अपलोड गर्छु भन्दै धम्की दिने गरेको बताइन्छ । सोही कारणले सुटरले गोली हानेर रूपेशको मोबाइल लिएर गएको हुन सक्छ ।

हत्यामा को को संलग्न

मदर्साटोलमा हिजो दिउँसो १२ः४५ बजे भएको गोलीकाण्ड घटनामा दुईवटा मोटरसाइकलमा चारजना आएका थिए । चालकले हेलमेट लगाएका थिएनन् भने गोली हान्नेले हेलमेट लगाएको प्रहरी स्रोतले जनाएको छ । गोली हान्ने सुजित भन्ने भारतीय नागरिक रहेको स्रFेतको दाबी छ । सुटर अहिलेसम्म फेला परेका छैनन् ।

नयाँ घरमा बस्न पाएनन्

बाल एकता बोर्डिङ स्कूलका सञ्चालकसमेत रहेका रूपेश विद्यालयनजीकै करोडौंको लागतमा सुविधासम्पन्न घर बनाइरहेका थिए । उनको नयाँ घरमा हिजोसम्म काम भएको थियो । कामदारहरू काम गरिरहेका बेला रूपेशकी पत्नीले घरको काममा सघाइरहेकी थिइन् ।
छिमेकीका अनुसार एकजना महिला रुँदै घटनास्थलमा जाँदै गर्दा रूपेशकी पत्नीले सो महिलालाई के भएको भनी सोधेपछि उनले रूपेशलाई कसैले गोली हानेको बताएकी थिइन् । त्यसपछि रूपेशकी पत्नीले घटनाबारे थाहा पाएकी थिइन् ।

तिहारमा रङरोगन गरी नयाँ घरमा सर्ने तयारीमा रहेका रूपेशको सपना अधूरो नै रह्यो । रूपेशका दाइको कलैया बजारमा सुनचाँदीको पसल छ ।

घटनाबारे प्रजिअ के भन्छन्

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले हिजो भएको गोलीकाण्डबाट बारावासीलाई नआत्तिन आग्रह गरेका छन् । उनले योे घटना सङ्गठित नभई व्यक्तिगत इबी तथा आचरणसँग जोडिएकाले बारावासी असुरक्षित नरहेको बताए । उनले बाराको शान्ति सुरक्षा सबल रहेको र व्यापारी, उद्योगी, सर्वसाधारणहरूलाई निर्बाधरूपमा आआफ्नो काम गर्न आग्रह गरे ।

उनले भने, “यो व्यक्तिगत कारणले सिर्जित घटना हो, यस्तो हुन नपर्ने हो । घटनाबारे ९० प्रतिशत अनुसन्धान पूरा भइसकेको छ ।”

यसैबीच, अभिभावक सङ्घ, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी बाल एकता बोर्डिङ स्कूलका सञ्चालक/प्रधानाध्यापक रूपेश सर्राफको हत्याको आरोपमा पक्राउ परेका व्यक्ति तथा मुख्य अपराधीलाई कडा कारबाई गर्न माग गरेको छ । अपराधीलाई कानूनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिलाउन तथा बारावासीलाई शान्ति सुरक्ष्Fाको व्यवस्था मिलाउन सङ्घका अध्यक्ष्F सन्दीपकुमार साहले विज्ञप्तिमा जनाएका छन् ।

यसैगरी, प्याब्सन, एन प्याब्सन, कलैया उद्योग वाणिज्य सङ्घले पनि विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारबाई गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here