प्रस, वीरगंज,१४ कात्तिक/
नेपाल खानेपानी संस्थानले वीरगंज महानगरका अधिकांश कालोपत्र सडक बिगारेको आरोप छ ।
महानगरभित्र रहेका कालोपत्र तथा ढलान सडक फोडेर खानेपानीको पाइप बिछ्याएपछि संस्थानले सडक मरम्मत नगरी त्यसै छाड्ने गर्दा सडकहरू कुरूप देखिएका छन् ।
केही दिनअगाडि मात्र महानगरले घण्टाघरदेखि पावरहाउस चोकसम्मको बिगे्रको सडक मर्मत गरेको थियो । तर खानेपानी संस्थानले सडक खनेर खानेपानीको पाइप बिछ्याएपछि बनेको खाल्डो पुरपार गरेर त्यसै छाड्ने गरेको छ । संस्थानले खानेपानीको लागि दूरसञ्चारअगाडिको सडकको बीच भागमा खाल्डो खनेर त्यत्तिकै छाडेको छ ।
खानेपानी संस्थानका कर्मचारीले टेन्डरबाट सडक खन्ने र बनाउने गरेको बताए । वर्षभरि सडक खन्ने र आर्थिक वर्षको मसान्ततिर सडक मरम्मत गर्ने गरेको संस्थानले बताएको छ । तर वर्ष दिनसम्म सडक मरम्मत नगर्दा खाल्डोका कारण दुर्घटना बढ्ने गरेको छ ।
सडक खन्दा शहर कुरूप देखिन्छ नै, दुर्घटनामा पनि वृद्धि भएको छ, एकजना ट्राफिक प्रहरीले भने । यस विषयमा वीरगंज महानगरपालिका भने मौन छ ।