नितेश कर्ण, वीरगंज, १४ कात्तिक/
चाडपर्वको मौका छोपेर यातायात व्यवसायीहरूले भाडा वृद्धि गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ, तामागढी, चन्द्रनिगाहपुर, बाग्मती, कर्मैया, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दी, फूलझोर, ढल्केबर, गौशाला चोकलगायत ठाउँमा रहेका टिकट बुकिङ काउन्टरहरूले अहिले गाडीको अभाव देखाउँदै बढी भाडा असुलिरहेका छन् । वीरगंजदेखि काठमाडौंको भाडा रु ८५० रहेकोमा अहिले गाडीको अभाव देखाउँदै १२ सयदेखि १५ सय लिइरहेका छन् । त्यस्तै, वीरगंजदेखि जनकपुरको रु ४५० भाडा रहेकोमा अहिले ५०० देखि ५३० सम्म लिइरहेका छन् ।
अहिले राजमार्ग तथा बसपार्कहरूमा ट्राफिक प्रहरीले स्थापना गरेको दशैंलक्षित यात्री सहायता कक्ष पनि निष्क्रिय देखिएका छन् । दशैंअगावैदेखि ट्राफिक प्रहरीले ठाउँठाउँमा चेकजाँच गर्दै आएको थियो, अहिले त्यो पनि छोडेको छ ।