बैंकक, १४ कात्तिक/एएफपी
इजरायलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकबारे कुराकानी गर्न मङ्गलवार थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धानुकाराले कतार र इजिप्टको आकस्मिक भ्रमण गरेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढी मानिस मारिएका छन् ।
जवाफमा इजरायली सेनाले गाजामा हमला गरेको छ । हमलामा ३००० भन्दा बढी बालबालिकासहित ८,३०० मानिस मारिएका हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार गाजामा हमासले २३० जनालाई बन्धक बनाएको छ । थाई विदेश मन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक छन् ।

प्रधानमन्त्री श्रेथा थाभिसिनले सोमवार थाई नागरिकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताएका थिए । उनले बुधवार इजिप्टका विदेशमन्त्रीसँग कुरा गर्नुअघि मङ्गलवार कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्नका लागि विदेशमन्त्री पर्णप्रीलाई कतार पठाएका थिए ।

पर्णप्रीले इजरायल र गाजामा जारी हिंसाका कारण बन्धक बनाइएका थाई नागरिकको स्थितिबारे कुराकानी गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

द्वन्द्व शुरू हुँदा इजरायलमा करीब ३० हजार थाई नागरिक काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका थिए ।

“हामी युद्धका पीडितहरूजस्तै छौं”– छिमेकी मुलुक लाओसको भ्रमण गर्नुअघि सोमवार प्रधानमन्त्री श्रेथाले पत्रकारहरूसँग भने–“इजरायलमा अन्य देशको तुलनामा थाई नागरिक धेरै भएकाले हामी सबैभन्दा बढी प्रभावित भएका छौं ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here